कर्णालीबाट प्रतिनिधिसभामा महिला उम्मेदवार दुई, प्रदेशसभामा शून्य

बुधबार, असोज २६, २०७९
Global Ime Bank

कर्णाली । कर्णालीमा प्रतिनिधिसभाका १२ क्षेत्रमध्ये दुई महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा जुम्लाबाट नेकपा (माओवादी केन्द्र) का गोमा गौतम कुँवर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट दैलेख १ बाट कुन्ती शाही उम्मेदवार बनेकी छन् । दुवै जना तत्कालीन संविधानसभामा समानुपातिक सभासद थिए । 
कुँवरको प्रतिस्पर्धा नेकपा (एमाले) का रतननाथ योगी र राप्रपाका ज्ञानेन्द्र शाहीसँग हुँदैछ । जुम्लाको तातोपानी गाउँपालिका–४ मा जन्मेकी कुँवर तत्कालीन माओवादी सशस्त्र द्वन्द्वमा सहभागी हुँदै राजनीतिमा प्रवेश गरेकी हुन् । पशुपक्षी विकास राज्यमन्त्री भइसक्नुभएकी उहाँले गठबन्धनको सहयोगमा आफूले चुनाव जित्ने बताइन् । “प्रत्यक्ष चुनाव लड्न पाउनु खुसीसँगै चुनौती पनि हो”, उनले भनिन्, “महिलाले जित्न सक्दैनन् भन्ने भ्रम छ, त्यसलाई तोड्न सफल हुनेछु ।”
शाही हाल राप्रपाको केन्द्रीय महामन्त्री हुनुहुन्छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्घको अध्यक्ष हुँदा उनी उपाध्यक्ष थिइन् । विसं २०७४ मा छ महिना स्थानीय विकास र तीन महिना सहरी विकास राज्यमन्त्री बनिन् । दैलेखी जनताले नयाँ अनुहार खोजेकाले आफ्नो उम्मेदवारी परेको बताउँदै उनले भनिन्,  “लामो समयदेखि उही अनुहार दोहोरिने गरेको अवस्था छ, त्यसलाई यसपटक दैलेखी जनताले तोड्ने विश्वास लिएकी छु ।” 
उनीसँग सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का अम्मरबहादुर थापा र एमालेका रवीन्द्रराज शर्मासँग प्रतिस्पर्धा हुँदैछ ।

प्रदेशसभा क्षेत्रमा शून्य
सत्ता गठबन्धन दल र एमालेले कर्णाली प्रदेशसभाका २४ क्षेत्रमा प्रत्यक्षतर्फ महिला उम्मेदवारलाई टिकट दिएनन् । विसं २०७४ को निर्वाचनबाट कर्णाली प्रदेशसभामा १३ महिला सदस्य थिए । उनीहरु सबै समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका हुन् । प्रत्यक्षतर्फ शून्य उम्मेदवारी हुँदा यसपटक पनि समानुपातिकबाट प्रदेशसभामा महिला प्रतिनिधित्व हुनेछ । प्रतिनिधिसभा र प्रदेशसभामा ३३ प्रतिशत महिला प्रतिनिधित्व हुनुपर्ने संवैधानिक बाध्यता रहेको छ ।

दलका भन्दा स्वतन्त्र उम्मेदवार बढी
आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि सिरहा जिल्लामा राजनीतिक पार्टीभन्दा स्वतन्त्र उम्मेदवारको बर्चस्व रहेको छ ।
जिल्लामा चार सङ्घीय तथा आठ प्रदेशसभा निर्वाचन क्षेत्रबाट दुई सय २४ को उम्मेदवारी परेकामध्ये एक सय १९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उठेका उम्मेदवारले जितेको र उनीहरुले जनतामाझ गरेको काममा प्रभावित भएर यो निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारको सङ्ख्या बढेको आकलन गर्न सकिन्छ । तर स्वतन्त्र उम्मेदवार राजनीतिक पार्टीले जनताको भावनामाथि खेलवाड गरेकाले आफूहरूले स्वतन्त्र उम्मेदवारी दिएको उनीहरू दाबी गर्छन् ।
सिरहा क्षेत्र नं २ का स्वतन्त्र उम्मेदवार पत्रकार महासङ्घ सिरहाका पूर्वअध्यक्ष देवकुमार यादवले राजनीतिक दलबाट निर्वाचित भएका नेताले जनताको भावनाविपरीत दलीय दबाबमा परी जनताको हितमा काम नगरेकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताए । उनले भने, “दलीय जनप्रतिधिले जनताको आधारभूत आवश्यकता पूरा गर्न नसकेकाले आफूले त्यो आवश्यकता पूरा गर्नका लागि उम्मेदवारी दिएको हु ।” आफ्नो चुनावी एजेण्डा नै जनताको आधारभूत आवश्यकता कृषि, स्वास्थ्य, शिक्षा र सरसफाइ रहेकाले दलीय प्रतिनिधिलाई नभएर स्वतन्त्रलाई नै रोज्न मतदातालाई आग्रह गरे । 
सिरहा क्षेत्र नं २ बाट नै प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिनुभएका लेखक, समालोचक तथा पत्रकार रामरिझन यादवले दलहरू भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै त्यही दलमा बसेर उनीहरुको विरोध गर्न नसकिने  बताए । उनले भने, “एउटा कालखण्ड राजनीति पार्टीमा बिताएँ, दलभित्रै बसेर भ्रष्टाचारीको विरोध गर्न असम्भव भएकाले म स्वतन्त्र भए ।” 
प्रतिनिधिसभाका चार निर्वाचन क्षेत्रका लागि जम्मा ८५ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये ४८ ले स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रदेशसभाको आठ निर्वाचन क्षेत्रका लागि एक सय १९ जनाले उम्मेदवारी दिएका छन् भने ७१ जनाको स्वतन्त्र उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सिरहाले जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभाका लागि सिरहाका १२ क्षेत्रमा राजनीतिक पार्टीको भन्दा  करिब ५४ प्रतिशतले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
प्रतिनिधिसभाका लागि सिरहा क्षेत्र नं १ बाट २३ जनाको उम्मेदवारी परेकामध्ये १० स्वतन्त्र र १३ पार्टीका उम्मेदवार छन् । त्यसैगरी क्षेत्र नं २ मा २३ जनाको उम्मेदवारी परेकामा १५ स्वतन्त्र आठ मात्रै पार्टीबाट उम्मेदवारी परेको छ । त्यस्तै सिरहा क्षेत्र नं ३ बाट जम्मा २२ जनाको उम्मेदवारी परेकामा १४ स्वतन्त्र र आठ पार्टीका उम्मेदवार छन् । क्षेत्र नं ४ बाट १९ उम्मेदवारमध्ये नौ स्वतन्त्र र राजनीतिक दलका १० जनाले उम्मेदवारी दिएका छन् ।
प्रदेशसभा सदस्यका लागि क्षेत्र नं १ को ९क० बाट १६ को उम्मेदवारी पर्दा छ स्वतन्त्र र १० पार्टीका उम्मेदवार छन् । (ख) बाट १४ उम्मेदवारमध्ये छ स्वतन्त्र र आठ पार्टीका उम्मेदवार छन् । सिरहा क्षेत्र नं २ को (क) बाट जम्मा १५ जनाले उम्मेदवारी दिएकामध्ये आठ स्वतन्त्र र सात पार्टीका उम्मेदवार छन् । (ख) बाट १६ जनाको उम्मेदवारी पर्दा नौ स्वतन्त्र र सात पार्टीका उम्मेदवार छन् ।
त्यसैगरी क्षेत्र नं ३ बाट प्रदेशसभा (क) का लागि १८ जनाले उम्मेदवारी दिँदा १३ स्वतन्त्र र पाँच पार्टीका उम्मेदवारी परेको छ । (ख) मा १४ जनामध्ये नौ स्वतन्त्र र पाँच पार्टीका छन् । क्षेत्र नं ४ (क) बाट जम्मा १८ जनाले उम्मेदवारी दिएकामध्ये १० स्वतन्त्र र आठ पार्टीका छन् भने ९ख० मा १८ जनामध्ये ११ स्वतन्त्र र सात राजनीतिक पार्टीका उम्मेदवार छन् ।

प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  १४:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार