पहिरोबाट विस्थापितलाई स्थायी बसोबास

मंगलबार, वैशाख १४, २०७८

चौतारा । सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको लिदी पहिराबाट विस्थापित परिवारका लागि वर्षात अगावै जस्तापाताको व्यवस्था गरी सुरक्षित बसोबासको व्यवस्था गरिने बताएका छन् । सभामुख सापकोटाले सोमबार सेलाङको बाँसखर्कमा पुगेर कष्टकर जीवन बिताइरहेका परिवारका लागि चाँडै नै स्थायी बसोबासको व्यवस्था गर्न सक्रियताका साथ लागिपरेको बताएका हुन् ।
जुगल गाउँपालिका–२ लिदीमा गत साउन ३० गते बिहान गएको पहिरामा ३७ जनाको दुःखद निधन भएको थियो भने दुईजना बेपत्ता भएका थिए । 
हाल बाँसखर्कमा १७३ घरका विस्थापित परिवार बसोबास गर्दै आइरहेका छन् । त्यहाँ त्रिपाल र टेन्टलाई बेलाबेलामा आएको हावाहुरीले उडाएर बिचल्ली बनाएपछि उनीहरूले स्थायी बासस्थानको आग्रह गरेका छन् । सभामुखका साथ वाग्मती प्रदेशको पूर्व सामाजिक विकासमन्त्री युवराज दुलाल र माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटाको पनि सहभागिता थियो । 
यसैबीच, सभामुख सापकोटाले आजै चौतारा सागाचोकगढी नगरपालिका–६ स्थित पानीट्याङ्की नजिक बुद्ध उद्यानको समेत शिलान्यास गरे । ठेकेदार कम्पनी उमा÷काली÷प्रसिन जेभीले १३ महिनाभित्र सम्पन्न गर्ने गरी रु ६ करोड २१ लाख ५३ हजार ७८८ मा गत शुक्रबार नगरपालिकासँग ठेक्का सम्झौता भएको छ । कूल दुई रोपनी ११ आनामा घेराबार तथा बगैँचा सहितको उद्यानमा ६७ फिट उचाइको बुद्धमूर्ति प्रतिस्थापना गरिने नगरपालिका इन्जिनीयर बद्रि भुजेलले जानकारी दिए ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  ०४:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार