बनेन विद्यालय र स्वास्थ्यचौकी

निजी आवासमा उल्लेख्य प्रगति
सोमबार, वैशाख १३, २०७८

धादिङ । गोरखाको बारपाक केन्द्रविन्दु बनाएर ६ वर्षअघि गएको भूकम्पपछिको पुनः निर्माण अझै सम्पन्न हुन सकेको छैन । निजी आवास पुनः निर्माणमा उल्लेख्य प्रगति भए पनि विद्यालय र स्वास्थ्य चौकी पुनः निर्माणको काम भने खासै प्रगति भएको छैन । नागरिकले आधारभूत स्वास्थ्य सेवा लिने स्वस्थ्य चौकीको पुनः निर्माणको काम भने भर्खर शुरु भएको छ । धादिङ ४९ स्वास्थ्यचौकी भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त बनाएकामा अझैसम्म पनि प्रिफ्याब बाहेकको पक्की संरचना एक मात्र निर्माण सम्पन्न भएको छ । बाईस स्वास्थ्य चौकी भवनको निर्माण हालै शुरु भएको छ । दश स्वास्थ्य चौकी भवनको निर्माण शुरु हुन सकेको छैन र यो निर्माणका लागि तयारी हुँदै गरेको जिल्ला आयोजना कार्यान्वयन एकाइ भवनका प्रमुख रबिन श्रेष्ठले जानकारी दिए ।
विद्यालयको पुनः निर्माणको काम हेर्दा अझै पनि केही विद्यालय टहरामा र भडामा लिएर सञ्चालन गरिरहनुपरेको छ । सिद्धलेक गाउँपालिकाको मिन्दुका मावि भवन भारत सरकारले निर्माण गर्ने जिम्मा लिएपछि घर खार्दाखार्दै ठेकेदारले समेत छाडेर हिँडेको छ । भवन भत्किएको ६ वर्ष भइसक्दासमेत टहरामा पढाइ चल्दै गरेको थियो । दुई वर्षदेखि भाडाको घरबाट कक्षा सञ्चालन भइरहेको छ । भारत सरकारले निर्माणको जिम्मा लिएका जिल्लाका १० ठूला विद्यालय सबै अलपत्र परेका छन् । भूकम्पका कारण ५८३ विद्यालय भत्किएकामा हालसम्म ३१८ विद्यालय निर्माण भएको छ । बाँकी विद्यालय निर्माणको चरण भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाका सूचना अधिकारी ईश्वर श्रेष्ठले जानकारी दिए ।
चौरासी ८४ हजार ८३४ लाभग्राही कायम भएको धादिङमा अनुदान सम्झौता गरी ८१ हजार ५७६ ले पहिलो किस्ता रकम लगेका छन् । अनुदान सम्झौता गरेका मध्ये ६९ हजार २७५ घरले मात्र निर्माण सम्पन्न गरी तेस्रो किस्ता लिएको पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका व्यवस्थापन सूचना प्रणाली विज्ञ दीपेन्द्र पौडेलले बताए   निजी आवास पुनःनिर्माणको काम ९१ दशमलब ४२ प्रतिशत सम्पन्न भएको देखिन्छ । जनताको आधारभूत अधिकारका रुपमा रहेको स्वास्थ्य र शिक्षातर्फ पुनः निर्माण नसकिँदा नागरिकको मौलिक हकसमेत हनन भएको अधिकारकर्मीको भनाइ छ । जिल्ला सदरमुकाममा सरकारी भवन भने यसअघि नै निर्माण भइसकेका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८  ०४:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार