दसैँँमा बज्ने गीतहरू

शनिबार, असोज १५, २०७९

काठमाडौँ । घटस्थापनाको दिनदेखि नै हिन्दूको महान चाड दसैँँ प्रारम्भ भइसकेको छ । रेडियो नेपालबाट गुञ्जिने मालश्री धुनदेखि हरेक बिहान आउने रेडियो नाटकले चाडलाई महसुस गराउँछ  । 
दसैँँलाई लक्षित गर्दै धेरै गीत तयार भएका छन् । हरेक वर्ष नयाँ गीतहरू सार्वजनिक हुने भए पनि केही ‘सदाबहार’ छन् । परदेशमा रहेका र मुग्लान भासिएकाको भावनाको प्रतिनिधित्व गर्ने गीतसँगै पुराना गीतको दबदबा कायमै छ । कालजयी र मर्मस्पर्शी लाग्ने ती गीत वर्षौँदेखि बजिरहेका छन् । रेडियो तथा टिभीमा घन्किने मालश्री धुनले नै दसैँँको रौनक भित्र्याउँछ ।
सर्वाधिक बज्ने गीत हो ‘दसैँँ आयो’ । फिल्म ‘मुग्लान’मा समावेश गीतले घर आँगनमै दसैँँ भित्रिएको अनुभूत गराउँछ । लोकनाथ सापकोटाको तयार पारेको शब्दमा स्वर उदितनारायण झा तथा दीपा झाले दिएका छन् । गीतमा सुरेश अधिकारीले सङ्गीत दिएका छन् । रातो टीका, जमरा, पिङ खेल्दाको अनुभूतिसँगै घरपरिवारको खुसियाली समेटिएको गीतको भिडियो दर्शकमाझ प्रिय नै छ । 
स्वरसम्राट नारायणगोपालको स्वर दिनुभएको ‘बिछोडको पीडा’ पनि दसैँँमा बज्ने गीतमध्येको एक हो । नारायण गोपालसँगै दिलमाया खातीले स्वर दिनुभएको गीतले दसैँँमा गाउँ फर्किरहनुभएको युवाको प्रतिनिधित्व गरेको छ । ‘बिछोडको पीडा नसकी खप्न दसैँँका बेलामा, तिमीलाई भेट्न आउँदैछु फर्की रमाइलो गाउँमा’ बोलको यो गीतले परदेशमा रहँदाको पीडा एवं घर फर्कने चाहनालाई उजागर गरेको छ । गीतलाई रत्नशमशेर थापाले लेखेका हुन् ।
दसैँँ, तिहारको उत्साह, उमङ्ग र दुःखलाई प्रतिनिधित्व गर्ने गीतमध्येको एक हो सुगम पोखरेलले तयार गरेको ‘दसैँँ तिहार’ । रवि श्रेष्ठले शब्द लेख्नुभएको गीतमा सङ्गीत स्वयं सुगमले नै दिएका छन् । 
परदेशीले घरपरिवारप्रति पोखेको बेदनासहितको गीतमा दसैँँमा छोराको बाटो कुरिरहेका आमाबाबु मात्र होइन, तिहारमा माइतीको पर्खाइमा रहेका चेलीको भावनासमेत समेटिएको छ । महान चाडको अर्को पाटोलाई कमेडी शैलीमा चित्रण गरिएको गीत हो यो ‘दसैँँ नै हो कि’ । योगेश्वर अमात्यले स्वर दिनुभएको गीतमा उत्साह उमङ्गसँगै आर्थिक व्ययभार थपिने यथार्थलाई समेटिएको छ । 
दसैँँमा बज्ने गीतमध्ये ‘रातो टीका निधारमा’ उत्तिकै लोकप्रिय छ । दसैँँको उत्साहलाई चित्रण गरिएको गीतलाई सहदेव ढुङ्गानाले रचना गरेका हुन् । 
यसमा शम्भूजित बाँस्कोटाले संगीत र उमेश पाण्डे र रमना श्रेष्ठले स्वर दिएकी छन् । वरिष्ठ सङ्गीतकार शम्भूजित बाँस्कोटा पहिले दसैँँ, तिहार, होली पर्वसँग फिल्ममा आउँदा त्यहीअनुसारको गीत तयार गरिने प्रचलन रहेको बताउँछन् । उनको गीत ‘रातो टीका निधारमा’ अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रिय छ । “मैले सिर्जना गरेको गीतले तात्कालीन समयमा राम्रो प्रभाव छाडेको रहेछ । दसैँँलाई महशुस गराउने भएकाले नै पुस्तान्तरण भइरहेको छ । हिजोदेखि आजसम्म गीतलाई दसैँँमा उत्तिकै सेलिब्रेट गरिन्छ”, सङ्गीतकार बाँस्कोटाले भने ।
सङ्गीतकारसँगै गायकसमेत रहनुभएका अर्जुन पोखरेलले आफूलाई स्रोताको हिसाबले पुरानै दसैँँ गीत प्रिय लाग्ने बताए । उनी भन्छन, “नयाँ गीतहरू तयार गर्न निर्माता तथा निर्देशक तयार हुनुभएन । दसैँँ, तिहारमा रहेर बनेका गीत त्यससमयमा मात्र बज्छ भन्ने सोचले गर्दा नै नयाँ गीत आएको छैन ।” फिल्म झैँ चर्चा र लगानी एक्लरुपमा आउने गीतले नपाउने हुँदा नोटिस नभएको उनको भनाइ छ । 

दसैँँसँग जोडिएको पिङको संस्कृति जोगाउँदै युवापुस्ता
मङ्गला गाउँपालिका–५ अर्मनको टीकाबाङस्थित साहारा युथ क्लबका युवाले दिन लगाएर लिङ्गे पिङ तयार गरेका छन् । हिन्दूको महान चार्ड विजया दशमीको अवसरमा परम्परागतरुपमा मनोरञ्जनका लागि पिङ खेलेर रमाइलो गर्ने प्रचलन रहेको छ । 
परम्परागतरुपमा दसैँँ तिहारका अवसरमा गाउँमा ‘लिङ्गे पिङ’ बनाउने कार्यलाई निरन्तरता दिइएको क्लबका अध्यक्ष दीर्गबहादुर बुढाथोकीले बताए । 
पिङ बनाउनका लागि पहिलो दिन गाउँका युवा गाउँमाथिको धुरीमा पुगेर मालको रुखको अग्ला लिङ्गा लिने गर्छन् । दोस्रो दिन जङ्गलबाट ल्याइएका अग्ला लिङ्गालाई गाडेर बाबियो घाँसबाट बनाइएको डोरीलाई बाँधेर पिङ तयार गरिन्छ ।
पिङ बनाउन युवाले लिङ्गा काट्ने, बोक्ने, बाबियोको लठो बनाउने काम गर्छन् भने युवतीले खाजा बनाएर खुवाउने गर्छन् । लिङ्गा बोकेर ल्याउँदै गर्दा बीच बाटोमा युवतीले पु¥याएको खाजा खाएर नाचगानसहित लिङ्गालाई गाउँमा ल्याउने चलन रहेको छ । पिङ तयार भएपछि फूलपातीको दिनमा विशेष पूजा गरेपछि रातभर नाचगान गरेर पिङलाई कुर्ने चलन रहेको क्लबका अध्यक्ष बुढाथोकीले बताए । “हरेक वर्ष दसैँँमा हामीले लिङ्गे पिङ बनाउँदै आएका छौँ, युवायुवती पर्याप्तमात्रामा गाउँमा नबस्ने भएकाले परम्परागत संस्कृति जोगाउन मुस्किल हुँदै गएको छ”, उनले भने । 
परम्परागतरुपमा लिङ्गे पिङसँगै काठको रोटेपिङसमेत बनाउने गरिन्थ्यो । लिङ्गे पिङको प्रचलन अझै रहे पनि रोटेपिङ भने लोप हुने अवस्थामा पुगेको छ । काठका सामान प्रयोग गरी एकैपटकमा धेरै जना खेल्न मिल्ने रोटेपिङ सीप हस्तान्तरण नहुँदा लोप हुने अवस्थामा पुगको हो । 
रघुगङ्गा गाउँपालिका–४ दग्नाममा पनि एकता युवा क्लबको अगुवाइमा लिङ्गे पिङ हालिएको छ भने रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेका स्थानीयवासीलेसमेत दसैँँमा लिङ्गे पिङलाई जोगाउँदै आएका छन् । यहाँको चौरखानी, मङ्गलेखानी, कुइनेखानी, घ्यासीखर्क, खरिबोट, पात्लेखर्क, दुवाडीलगायतका हरेक बस्तीमा दसैँँमा ‘लिङ्गे पिङ’ हाल्ने गरेका छन् । स्थानीय रितुङ माध्यमिक विद्यालयका प्रधानध्यापक खिम छन्त्यालले पुर्खाले दसैँँका अवसरमा जमिन छाड्ने प्रचलन स्वरुप पिङ खेल्ने संस्कृतिको सुरुआत गरेको बताउँदै अहिले पनि स्थानीय युवा क्लब र आमा समूहले निरन्तरता दिएको बताए । 
“लिङ्गा काट्न युवा जगल जान्छन्, युवतीले खाजा बनाएर बाटोमा लैजान्छन्, पिङ हाल्ने दिनमा आमा समूह र युवा क्लबको सहभागितामा ठाडो भाकामा गित गाएर रमाइलो गर्ने चलन छ”–उनले भने । पिङ बनाइसकेपछि धोजापतकाले सिंगारेर चिटिक्क बनाउन गरिन्छ भने केटी मान्छेलाई पहिलो पटक खेल्न दिने गरिन्छ । जिल्लाको माथिल्लो भेगमा जंगलका अग्ला काठका रुखहरुको लिङ्गाहरु गाडेर जंगलमा पाईने निगालाको चोयाँको लठो प्रयोग गरि पिङ बनाइन्छ भने बेशीका बस्तीमा भने बाँसका लिङ्गो र बाबियोको लठडो प्रयोग गरेर पिङ बनाउने गरिन्छ । असत्यमाथि सत्यको विजयी भएको उत्सवका रुपमा मनाईने दसैँँमा खासगरी जमिन छाडेरै खुसियाली मनाउने प्रचलन स्वरुप पिङ हाल्ने गरेको बुढापाका बताउँछन् ।
पहिले हरेक जसो गाउँ र बस्तीमा दसैँँ तिहारमा लिङ्गे पिङ र चमच्चा हाल्ने गरिएपनि आजभोलि न्यून मात्रामा मात्रै देख्न पाइन्छ । “पिङ हाल्ने कामलाई हामीले उत्सवकै रुपमा लिने गथ्यौ, तर पछिल्लो समय यो हराउन थालेको छ”– धवलागिरि गाउँपालिका–२ लमसुङका भक्त सिंकिजा मगरले भने । स्थानीय लमसुङ माविको व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका मगरले युवायुवती पुराना संस्कार, संस्कृति र परम्पराको संरक्षणमा जागरुक नबन्दा दसैँँको महत्व र महिमासँग जोडिएको लिङ्गे पिङ हाल्ने प्रचलन हराएर जाने जोखिम बढेको बताए । 
वर्षमा एकचोटी धर्ती छोड्नैपर्ने मान्यताका साथ हरेक वर्षको दसैँँ तिहारका अवसरमा कम्तीमा एकपटक बालबालिकादेखि युवा, वृद्ध सबैले पिङ खेल्नैपर्ने चलन रहेको रघुगङ्गा गाउँपालिका–३ का बयोबृद्ध ९३ वर्षीय उदयचन्द्र रिजाल बताउँछन् । 
“दसैँँ तिहारजस्ता चाडमा प्रत्येक टोलमा पिङ हालिन्थ्यो, पिङ खेल्नकै लागि घण्टौँसम्म पालो कुर्नुपथ्र्यो, को माथिसम्म मच्चिन सक्छ भनेर प्रतिस्पर्धा नै हुन्थ्यो,पछिल्लो समय पिङको चलन कम हुँदै गएको छ”, उनले भने । मनोरञ्जनका लागि इन्टरनेट प्रविधिमा आधारित मोबाइल, टेलिभिजन, युटुब, सामाजिक सञ्जाललगायतमा नयाँ पुस्ता भुल्ने भएकाले पुराना र मौलिक मनोरञ्जनका पिङ, रोटेपिङ, चमच्चाहरु हराउने जोखिम बढ्न थालेको छ ।–रासस 
 

प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  १७:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार