एचआइभी एड्स संक्रमित क्रिस्टोफरको बयान : ‘मलाई लाग्यो मेरो रगत र वीर्य विषाक्त छ’

बुधबार, मंसिर १७, २०७७

लन्डन । ‘विपरीत लिङ्गीसँग मात्रै सम्बन्ध राख्ने, पश्चिम युरोपेली पुरुष भएर म एचआईभी पोजिटिभ हुनसक्छु भन्ने कुराको मैले कहिले कल्पना पनि गरेको थिइनँ’ अस्ट्रियाली नागरिक क्रिस्टोफर क्लेटरमायरले विगत सम्झँदै भने । फिलिप स्पिगेलको उपनामले पनि चिनिने ३८ वर्षीय अस्ट्रियाली नागरिक क्रिस्टोफर क्लेटरमायरले सन् २०१४ मा आफूलाई एचआईभी पोजिटिभ भएको थाहा पाए । त्यो दिन उनलाई हिजो जस्तै लाग्छ । उनी अस्ट्रियामा थिएनन् । भारतमा फोटो पत्रकारितासम्बन्धी काम गरिरहेका थिए । त्यहाँको एउटा आश्रममा जाने योजना बनाएका थिए । आश्रममा प्रवेश पाउनका निम्ति एचआईभी परीक्षण गराउन उनलाई भनियो ।
‘गराउँछु भनेर मैले सहमति जनाएँ । श्वेत र विपरीत लिङ्गीसँग मात्र सम्बन्ध राख्ने भएर मलाई लाग्यो मेरो नतिजा निगेटिभ आउला तर त्यस्तो भएन’ उनले भने । त्यसको केही महिनाअघि अस्ट्रियामा उनलाई बिरामी जस्तो महसुस भएको थियो । तर उनलाई एचआईभी भएको कसैले सोचेको थिएन ।
‘कुनै जोखिम समूहमा नपर्ने भएकोले कुनै चिकित्सकले मेरो परीक्षण गर्ने कुरा भएन । मैले भारतमा संयोगवश परीक्षण गराएँ र स्तब्ध भएँ’ उनले भने, ‘म खासमा भाग्यमानी थिएँ किनभने परीक्षण नगराई वर्षाैं बित्न सक्थ्यो ।’

‘बढाइचढाइ पूर्ण चुनौती’
यति बेला विश्वले कोरोनाभाइरस महामारीको सामना गरिरहेको छ । संयुक्त राष्ट्रसंघले एचआईभी एड्सविरुद्ध प्राप्त उपलब्धिलाई कोरोनाभाइरस महामारीले जोखिममा पारिरहेको चेतावनी दिएको छ । उपचारको पहुँचमा रहेको असमानतालाई झन् बढाउने भएकोले त्यस्तो जोखिम देखिएको उसको भनाइ छ । सन् २०१९ मा एड्ससँग सम्बन्धित कारणले छ लाख ९० हजार जनाको मृत्यु भएको तथ्यांक छ । कोभिड–१९ का कारण उपचारमा देखिएको समस्याले गर्दा अब त्यसमा थप तीन लाख जनासम्मको मृत्यु हुनसक्ने युएनएड्सले जनाएको छ ।
सन् २०२० को जून महिनासम्म विश्वभरि तीन करोड ८० लाख मानिस एचआईभी लिएर बाँचिरहेको र एक करोड २० लाख मानिस अझै उपचारको पहुँचमा नरहेको तथ्यांक छ । ‘विगत ४० वर्षमा हामीले असाधारण प्रगति हासिल गरे पनि लगानी गरिरहन जरुरी छ । यदि गरेनौँ भने हामीले प्राप्त गरेको उपलब्धि गुम्न सक्छ’, इन्टरनेशनल एड्स सोसाइटी (आईएएस) की कार्यकारी निर्देशक डा. बिर्गिट पोनियाटोव्स्कीले भनिन् ।

‘मलाई नै किन’
‘शुरूमा म निकै डराएको थिएँ र खासमा एचआईभी के हो भन्नेबारे मसँग थुप्रै जिज्ञासा थिए’ क्रिस्टोफरले भने, ‘मलाई लाग्यो आखिर मलाई नै किन ? सन् ८० तथा ९० को दशकताका भाइरसबारे बनाएको सोचहरूबाट बाहिर निस्कनुपर्ने र तिनलाई २१औँ शताब्दी अनुरूप ढाल्नुपर्ने मलाई महसुस भयो ।’
विपरीत लिङ्गीले एचआईभी पोजिटिभ भएको स्वीकार्नु झन् समस्याकारी भएको क्रिस्टोफर स्वीकार्छन् । ‘विपरीत लिङ्गीसँग मात्रै शारीरिक सम्बन्ध राख्ने धेरै पुरुषले एचआईभीबारे बताउँदैनन् किनभने पोजिटिभ भएकालाई समलिङ्गी वा दुव्र्यवसनीको रूपमा हेरिने डर हुन्छ’, उनले भने । आफूलाई फरक ढङ्गले व्यवहार गरिन सक्छ भनेर एचआईभीबारे कुरा गर्दा र अन्तर्वार्ता दिँदा उनले परिवर्तित नाम दिन थाले । तर पछि अवस्था बदलियो । ‘एउटा बिन्दुमा पुगेँ र आफैँलाई भनेँ कि ठिकै छ नि त । यो मेरो संसारको अन्त्य नै होइन नि’ उनले भने ।

‘विषाक्त जस्तो महसुस भयो’
अहिलेसम्म एचआईभी एड्स निको नहुने भए पनि अहिलेको उपचार विधिले भाइरसलाई मत्थर गरेको छ । संक्रमितमध्ये अधिकांश धेरै वर्ष र स्वस्थ जीवन बाँच्न सकेका छन् । उपचार शुरू भएपछि बिस्तारै क्रिस्टोफरले त्यसको सकारात्मक असरहरू देख्न थाले । तर मानसिक रूपमा आफ्नो धारणमा परिवर्तन ल्याउन वर्षौँ लागेको उनी बताउँछन् ।
‘एकछिनलाई लाग्थ्यो मभित्र यो अनौठो कुरा छ । मलाई लाग्थ्यो मेरो रगत र वीर्य विषाक्त छ । मलाई लाग्थ्यो म अरू मानिसका लागि खतरनाक रहेछु’ उनी सम्झन्छन् ।
एचआईभीबारे मानिसहरूलाई शिक्षित बनाउन उनलाई बिस्तारै महसुस भयो । ‘मलाई लाग्यो मलाई एचआईभी भएको मैले भनिनँ भने अरू कसले भनिदेला’ उनले भने । एचआईभी सङक्रमित भएको बताउन थालेपछि मानिसहरूबाट फरकफरक प्रतिक्रिया पाएको क्रिस्टोफर बताउँछन् ।
‘पहिलाभन्दा खुशी छु’
अनुभवले आफूलाई धेरै कुरा सिकाएको उनी बताउँछन् । ‘म वर्तमानमा अझ बढी बाँचिरहेको छु । एचआईभी संक्रमित हुनुअघि जति खुशी थिएँ त्यो भन्दा बढी खुशीका साथ म अहिले बाँचिरहेको छु’ उनले भने । उनलाई एउटा रचनात्मक उद्देश्य र लक्ष्य दिएको छ । त्यो भनेको एचआईभी भएर बाँचिरहेको अनुभवबारे किताब लेख्ने ।
एचआईभी संक्रमित भएको खुलासा गर्ने कुरा आफू बस्ने देश क्षेत्र र परिवार अनुसार आफ्नो सुझाव फरक हुन सक्ने क्रिस्टोफर बताउँछन् । ‘पोजिटिभ भएकै कारण परिवारमा प्रतिबन्धित भएका मान्छेहरू पनि मैले देखेको छु’ उनले भने । यद्यपि एचआईभी पोजिटिभ भएकोमा दोषी वा लज्जित महसुस गर्नु निरर्थक भएको उनको बुझाइ छ ।–बीबीसी 
 

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७  १७:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार