रुकुमपूर्व र मकवानपुरकाे भीमफेदीमा दुर्घटनामा परी १२ जनाको मृत्यु 

बिहीबार, असोज ६, २०७९

काठमाडौं । मुलुकका दुई स्थानमा बिहीबार भएका सवारी दुर्घटनामा परी १२ जनाको ज्यान गएको छ । रुकुमपूर्वको भूमे गाउँपालिका–३ क्याङ्सी बगरमा भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको हो । 
काठमाडौँबाट रुकुमकोट आउँदै गरेको ग१ख ९१०९ नम्बरको बस आज दुर्घटना हुँदा घटनास्थलमा पाँचको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।  मृतकको सनाखत हुन बाँकी रहेको बताउँदै उहाँले उक्त बसमा सवार १७ मध्ये १३ जना घाइते भएका र तीनको अवस्था गम्भीर रहेको बताए । घाइते सबैको रुकुमपूर्व अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक डाँगीले जनाए । 
उनका अनुसार घटनास्थलमा उद्धार कार्य भइरहेको छ । घाइतेलाई हेलिकप्टरबाट उपचारका लागि लैजाने पहल भएको छ । 
नेपाली सेनाको नरसिङ दल गुल्म रुकुमपूर्वका सेनानी बाबुलाल जिसीले घाइतेको उपचारका लागि सुर्खेतबाट हेलिकप्टर ल्याउने तयारी भइरहेको जानकारी दिए । 

भीमफेदीमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु
मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा आज दिउँसो सवारी दुर्घटना हुँदा त्यसमा परेर सात जनाको मृत्यु भएको छ ।
काठमाडौँबाट हेटौँडा आउँदै गरेको बा३ख ७८५८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेहरुमा तीन महिला, दुई पुरुष र दुई बालबालिका रहेका छन् । दुर्घटनामा परेर छ जनाको घटनास्थलमा र एकको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।
दुर्घटनामा परेर मृत्यु भएकाको हाल पहिचान खुल्न सकेको छैन । उक्त बसमा ३५ जना सवार थिए । अन्य घाइतेलाई उपचारका लागि हेटौँडा अस्पतालतर्फ ल्याइएको छ ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमसहितको टोली पुगेको छ । उक्त घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ । 

बस दुर्घटनाका घाइतेको उद्धारमा कुनै कसर बाँकी नराख्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले रूकुमपूर्व बस दुर्घटनामा परेका घाइतेको उद्धारका लागि हेलिकप्टर प्रयोग गर्न निर्देशन दिएका छन् ।

भूमे गाउँपालिका ३ क्याङ्सी बगरमा आज भएको बस दुर्घटनामा ५ जनाको मृत्यु र १२ जना घाइते भएका छन् ।

गृहमन्त्री खाणले रूकुमपूर्वका प्रहरी र प्रशासन प्रमुखलाई फोन गरेर घाइतेको उद्धार गर्न हेलिकप्टर प्रयोग गर्न निर्देशन दिएका हुन् ।

काठमाडौंबाट रुकुमकोटतर्फ गइरहेको ग१ख ९१०९ नम्बरको बस भूमे गाउँपालिका क्याङसी बगरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने १२ घाइते छन् । घाइतेमध्य ५ जनाको अवस्था गम्भीर रहेको रुकुमपूर्वका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यले बताए ।

गृहमन्त्री खाणले दुर्घटनामा घाइते भएकाहरूको अवस्था र उद्धारका लागि भइरहेका कार्यबारे टेलिफोनबाट जानकारी लिएका थिए ।

प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  १९:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार