अमेरिकाद्वारा नेपाली व्यवसायको विश्वव्यापी प्रतिस्पर्धात्मकतामा २ अर्ब ४१ करोड लगानी

मंगलबार, असोज ४, २०७९

काठमाडौं ।  अमेरिकाले आज युएसएआईडी व्यापार तथा प्रतिस्पर्धात्मकता क्रियाकलापको सुरुवात गर्दै नेपालको निजी क्षेत्रमा यसको थालनी गरेको छ । 

एक करोड ९० लाख अमेरिकी डलर (करिव २ अर्ब ४१ करोड १४ लाख रुपैयाँ) को यस पाँच वर्षीय लगानीले उच्च वृद्धि र रोजगारीको सम्भाव्यता भएका लक्षित क्षेत्रका नेपाली व्यवसायहरूको प्रतिस्पर्धात्मकता अभिवृद्धि गर्ने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । 

युएसएआईडीले नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सहकार्य गरी व्यवसायहरूलाई नयाँ व्यापार र लगानी अवसरहरूको सहजीकरण गर्न, बजारमा आधारित वित्तीय र गैर वित्तीय सेवाहरूमा उनीहरूको पहुँच बढाउन र उत्पादकता वृद्धि गर्न मद्दत गर्ने जनाइएको छ । 

‘नेपालको निजी क्षेत्रमाथिको यस लगानीले रोजगारीका अवसरहरू सृजना गरी महिला, युवा र सीमान्तकृत समूहहरूको आय अभिवृद्धि गर्नेछ,’ युएसएआईडी नेपालकी नियोग प्रमुख सेपिडे केभान्शाडले भनिन्, ‘यो क्रियाकलाप नेपालको अर्थतन्त्र सुदृढ गर्न र नेपाली जनताको जीविकोपार्जनमा सुधार ल्याउन नेपाल र अमेरिकाबिच रहेको बृहत् सहकार्यको एउटा उदाहरण मात्र हो ।’ 

युएसएआईडी व्यापार तथा प्रतिस्पर्धात्मकता क्रियाकलापले स्थानीय उत्पादन, पर्यटकीय अनुभव र विश्वको जुनसुकै ठाउँमा उपलब्ध गराउन सकिने डिजिटल सेवाजस्ता उच्च मूल्यका निर्यात बढाउने र विविधीकरण गर्ने नेपालको महत्वाकांक्षालाई अगाडि लैजाने दूतावासले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  १७:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार