त्याग र सेवाभाव भएका उम्मेदवार छनौट होस् : खिलराज रेग्मी

सोमबार, असोज ३, २०७९

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वाध्यक्ष खिलराज रेग्मीले राजनीतिकलाई आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा इमान्दारिता, कर्मशीलता, त्याग र सेवाभाव भएका सक्षम व्यक्तिको मापदण्ड बनाई उम्मेदवार छनौट सुझाव दिएका छन् । 
आठौँ संविधान दिवसका अवसरमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दै उनले मतदातालाई पनि उपयुक्त पात्रको छनौट गर्ने नागरिक कर्तव्यबाट नचुक्न सल्लाह दिएका छन् । 
सन्देशमा पूर्वप्रधानन्यायाधीश रेग्मीले भनेका छन्, “आज संविधान आठौँ वर्षमा प्रवेश गर्दै गर्दा तीनै तहको पाँचवर्षे कार्यकालको एक चरण पूरा भई अर्को चरणको निर्वाचनको मुखैमा आइपुगेका छौँ ।  अहिले हाम्रो कमजोर धरातल किन भयो दलहरूले नै समीक्षा गर्नु जरूरी छ ।”
उनले अब निर्वाचनपश्चात् पनि उस्तै स्थिति रह्यो र देशले अग्रगमन, सुशासन र समृद्धिको सही मार्ग पहिल्याउँदै अघि बढ्न सकेन भने जनताको निराशा र आक्रोशलाई कसरी चित्त बुझाउन सकिएला भनी प्रश्न गर्दै  त्यसतर्फ अहिलेदेखि नै सोच्न जरूरी रहेको उल्लेख गरेका छन् । 
अध्यक्ष रेग्मीले सन्देशभा भनेका छन्, “संविधान दिवस मनाउनुको सार्थकता संविधान अनकूलको आचरण, कार्यान्वयन र स्थायित्वमै रहन्छ । यस दिवसले हामी सबैलाई संविधानले निर्दिष्ट गरेको गन्तव्यमा समर्पित हुन अभिप्रेरित गरोस् भन्ने कामना गर्दछु ।”   
 

प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  ०६:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार