सोसल मिडिया
Contact Us
युनिकोड
सुदूरपश्चिम । धनगढी उपमहानगरपालिका–१३ झलारी खोलामा आएको बाढीमा डुबेर २० वर्षीया नवीना चौधरी बेपत्ता भएकी छन् । वर्षासँगै खोलामा आएको बाढीको मौका छोपेर माछा मार्ने क्रममा नवीना डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । निजको खोजी जारी रहेको प्रहरीले जनाएको छ । वर्षासँगै भएको डुबानले घर भत्किँदा कैलाली जिल्लाको टीकापुर नगरपालिकाकामा एक र चुरे गाउँपालिकामा पहिराले घर भत्किँदा एक जना गरी दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार टीकापुर नगरपालिका–२ मा कच्ची घर भत्किँदा २२ वर्षीय शिशिर चौधरी घाइते भएका छन् । टीकापुर अस्पतालमा उपचाररत उहाँको अवस्था सामान्य रहेको छ । यस्तै जिल्लाको पहाडी क्षेत्रको चुरेगाउँपालिका–३ का स्थानीय रामप्रसाद सापकोटाको घर पसल माथिबाट खसेको पहिरामा परी उनका आठ वर्षीय छोरा आयुस घाइते भएका छन् । पहिराले टिनको छाना भएको घर पसलमा क्षति पुगेको छ । घाइते बालकको अवस्था सामान्य छ । बाढी र डुबानका कारण जिल्लाको भजनी र लम्कीचुहा नगरपालिका, चुरे, जोशीपुर र जानकी गाउँपालिकामा गरी झण्डै एक हजारभन्दा बढी घरपरिवार प्रभावित भएको प्रारम्भिक आकलन छ । वर्षासँगै कैलालीको लम्कीचुहा नगरपालिकाका विभिन्न वडाका एक सय १७ घरमा पानी पसेपछि घरभित्र राखिएको धनमालमा क्षति पुगेको छ । कैलारी गाउँपालिकाका विभिन्न वडामा गरी एक सय १५ घरमा पानी पसेर क्षति पुगेको छ । डुबानबाट विस्थापितलाई प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा राखेको छ । सोही गाउँपालिकाको वडा नं ३ मा रहेको खोनपुरस्थित मोहना नदीमा निर्माणाधीन झोलुङ्गे पुलका पिलर बाढीले भत्किएर क्षति पुगेको छ । स्थानीय मानबहादुर चौधरीले कैलारी गाउँपालिकाको विभिन्न वडामा गरी झण्डै छ सय घर डुबानमा परेको बताए । उनले भने, “मोहनाको बाढीले नदी आसपासको अधिकांश बस्ती डुबेको छ, धेरै परिवार विस्थापित भएको छ ।” धनगढी उपमहानगरपालिका–१३ को श्रीलङ्का गाउँमा मोहना नदीको डुबानमा परी विस्थापित भएका १४ घरपरिवारका सदस्यलाई सुरक्षित स्थानमा राखिएको छ । गोदावरी नगरपालिकामा डुबानमा परेका घरका सदस्यको उद्धार गरिएको छ । जोशीपुर गाउँपालिकास्थित काँडा नदीमा आएको बाढीका कारण डुबानमा परेका भित्रिया, फाडिया, मनिकापुर, हस्नापुर, बन्जरियालगायत गाउँका तीन सय घरपरिवार विस्थापित भएका छन् । पपथरैया नदीको बाढीले जोशीपुर गाउँपालिकाको खैरेनी गाउँका ९० भन्दा बढी घर डुबानमा परी विस्थापित भएका छन् । डुबानमा परी जिल्लामा दुई सय ५१ पशुचौपाया मरेका छन् ।
हुलाकी राजमार्ग सुरक्षित स्थानको ‘सेल्टर’ बन्यो
वर्षासँगै भएको डुबानका कारण विस्थापित भएका कैलाली जिल्लाको भजनी नगरपालिका र जोशीपुर गाउँपालिका व्यक्ति परिवारका सदस्यसहित हुलाकी राजमार्गमा पाल टाँगेर बसेका छन् । मोहना, काँडा र कान्द्रा नदीमा आएको बाढी बस्तीमा पसेपछि भएको डुबानले विस्थापित भएकाहरू अग्लो भू–भाग रहेको हुलाकी राजमार्गमा बसेका हुन् । विस्थापित कतिपय परिवार नजिकको आफन्तको घरमा आश्रय लिएका छन् । स्थानीय जयप्रसाद ढुङ्गानाले भन्नुभयो, “डुबानको समस्या बढ्दै जाँदा जोखिममा परेकाहरू आफ्ना पशुचौपाया र अन्य धनमालसहित हुलाकी राजमार्गमा पुगेका छन् ।” प्रमुख जिल्ला अधिकारी किरण थापाले डुबानमा परेकाको उद्धारका लागि गए रातिदेखि नै प्रहरी टोली परिचालन गरिएको बताउनुभयो । प्रहरी टोलीले मोटरबोट र ट्युबको सहायतमा डुबानमा परेका भजनी क्षेत्रका बासिन्दाको उद्धार गरिरहेको छ । स्थानीय समाजसेवी खेमराज विनाडीले डुबानका कारण प्रभावित परिवारलाई सुरक्षित स्थानतर्फ सारिएको बताए । डुबानको जोखिम थप बढ्नसक्ने देखिएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन पूर्वसूचना गरिँदा मानवीय क्षति हुन नपाएको बताए ।
बाढी र डुबनका कारण सयौँ परिवार विस्थापित
कैलालीको भजनी नगरपालिका–८ का प्रताप विश्वकर्मा बाढीका कारण विस्थापित भएर हुलाकी सडकमा पुगेका छन् । प्रतापसँगै सोनाहाफाटा टोलका अधिकांश स्थानीय हुलाकी सडकमा त्रिपाल हालेर आश्रय लिन थालेका छन् । अविरल लगातारको वर्षाका कारण पथरैया नदीको बाढीले बस्ती नै डुबानमा परेपछि पशुचौपायासहित स्थानीयले घर नै छोडेर हुलाकी सडकमा पुगेका हुन् । “रातिदेखि बस्तीमा बाढी पसेर जताततै जलमग्न भएको छ । घर सबै डुबानमा परेका छन्” उनले भने, “रातभर निदाउन पनि पाएका छैनौँ । सामान सार्न, चौपाया व्यवस्थापन गर्न र परिवारलाई सुरक्षित स्थानमा पु¥याउँदै रात कटेको थाहै भएन ।” वडा नं ८ कै खेमराज पाण्डेले सयौँ परिवार बाढीका कारण विस्थापित भएको बताउँदै पीडितको व्यवस्थापनमा निकै समस्या भएको बताए । “उच्च सेल्टर घर, केही परिवार आफन्त छिमेकीको घरमा आश्रय लिएर बसेका छन् भने सयौँ परिवार हुलाकी रोडमा छन् ।”, पाण्डेले भने, “अवस्था निकै अस्तव्यस्त भएको छ । जताततै पानी मात्रै देखिन्छ । हुलाकी सडकबाट हेर्दा जताततै समुद्रको आभास हुने गरेको छ ।” चारैतिरबाट नदीले घेरिएको भजनीका सबै वडा जलमग्न भएका छन् । सयौँ बिघा धान नदीको कटानबाट नष्ट भएको स्थानीय रामबहादुर साउद बताए । “कान्द्राले सबैभन्दा बढी क्षति गरेको छ । कटानले खेतीयोग्य जमिन नष्ट भने डुबानले स्थानीयको जनजीवन निकै प्रभावित बनाइएको छ”, साउदले भने, “स्थानीयलाई ज्यान जोगाउन मुस्किल छ । उद्धारका लागि पनि निकै कठिनाइ भइरहेको छ ।” उनले अहिलेसम्म मानवीय क्षति नभए पनि धनजनको ठूलो क्षति भएको बताए । नगरपालिकाका नगरप्रमुख केवल बाढीका कारण भजनी क्षेत्रको अवस्था निकै अस्तव्यस्त भएको बताए । उनले नदीमा पानीको बहाव निकै उच्च भएका कारण उद्धारमा समस्या भएको बताउँदै कयौँ क्षेत्रमा बाढी र कटानका कारण सम्पर्क विच्छेदसमेत भएको बताए । “हामी हिजोदेखि स्थानीयको सम्पर्कमा छौँ । सयौँ परिवार विस्थापित भइसकेको अवस्था छ । अधिकांशको आश्रयस्थल यतिबेला हुलाकी सडक बनेको छ”, नगरप्रमुख चौधरीले भने, “उद्धार सामग्रीको अभावका कारण समस्या भएको छ । नदीमा पानीको बहाव बढ्दै छ । कहाँ जाने कसको उद्धार गर्ने भन्ने अप्ठ्यारोमा हामी छौँ । अवस्था सबै ठाउँको उस्तै छ ।” बाढीका कारण हुलाकी सडक अवरुद्ध भएको छ । भजनी नगरपालिका–८ सोनाहाफाटामा पथरैया नदीको बाढी सडकमाथि ओभर भएर कटान हुँदा आवागमन अवरुद्ध भएको स्थानीय जयप्रसाद ढुङ्गानाले जानकारी दिए । उनका अनुसार तीन सय मिटर सडक कटानमा परेको छ । “सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भजनीसँगको सम्बन्ध विच्छेद भएको छ”, ढुङ्गानाले भने, “डुङ्गाको सहायताको लागि नगरपालिकालाई आग्रह गरेका छौँ । स्थानीय निकै त्रसित छन् ।”
पश्चिम सुर्खेतका बस्तीमा बाढी शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले सुर्खेतको पश्चिम क्षेत्रका धेरै ठाउँमा क्षति पु¥याएको छ । जिल्लाको पञ्चपुरी नगरपालिका, बराहताल र चौकुने गाउँपालिकाका धेरै स्थानका बस्तीमा बाढी पसेको हो । चौकुने गाउँपलिका–८ भाम्लेमा आएको बाढीले १२ वटा घरमा क्षति पु¥याएको छ भने एउटा भैँसी पुरिएको छ । चौकुनेकै वडा नं ९ रागमाविद्यापुर खोलाबाट आएको बाढी बस्तीमा पस्दा घर डुबानमा परेको गाउँपालिकाका अध्यक्ष खड्क विकले जानकारी दिए । उनका अनुसार उक्त स्थानमा करिब १० घरमा क्षति पुगेको छ । वडा नं २, ३, ४ र १० का केही बस्तीमा बाढी र पहिरोले क्षति पु¥याएको छ । चौकुने–२ मा एक, वडा नं ४ मा दुई घरमा क्षति भएको छ । वडा नं ३ गोभ्रामा आएको पहिरोले सात घर उच्च जोखिममा रहेका छन् भने बेतानखोलबाट आएको बाढीले तीन सय रोपनी खेत बगरमा परिणत भएको छ । यस्तै चौकुने–१० घाटगाउँमा आएको बाढीले पनि दर्जनौँ घरमा क्षति पु¥याएको छ । गाउँपालिका अध्यक्ष विकले बाढीमा परेर हालसम्म कुनै मानवीय क्षति नभएको जानकारी दिए । उनले बाढीबाट प्रभावित स्थानीयलाई उद्धार गरेर सुरक्षित स्थानमा सार्ने र पाल तथा खाद्यान्नको व्यवस्थापन गरिरहेको र पीडितलाई थप आवश्यकतानुसारको राहत वितरण गर्ने तयारी रहेको बताए ।