कर्णाली प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य

कर्णाली प्रदेशसभाबाट पाँच वर्षमा ५३ कानुन निर्माण
शनिबार, असोज १, २०७९

कर्णाली । कर्णाली प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य गरिएको छ । प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै शुक्रबार राति १२ बजेदेखि दशौँ अधिवेशन अन्त्य भएको जनाएको हो । 

नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम कर्णाली प्रदेश प्रमुख तिलक परियारबाट शुक्रबार राति १२ बजेदेखि दशौँ अधिवेशन अन्त्यको पत्र प्राप्त भएसँगै प्रदेश सचिवालयले जानकारीका लागि सूचना प्रकाशन गरेको उपसचिव तेजप्रकाश जोशीले जानकारी दिए । 
संवैधानिक व्यवस्थाअनुसार शुक्रबारेदेखि प्रदेशसभाका सभामुख, उपसभामुख तथा सदस्यको पाँच वर्षे कार्यकाल सकिएकाले सूचना निकालिएको प्रदेशसभा सचिवालयले जनाएको छ । 

कर्णाली प्रदेशसभाबाट पाँच वर्षमा ५३ कानुन निर्माण

कर्णाली प्रदेशसभाले पाँच वर्षमा ५३ कानुन निर्माण गरेको छ ।स्थापनाकाल यता प्रदेशसभाले निर्माण गरेका ती विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण गरिएको थियो  ।
विसं २०७४ माघ २१ गते प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरमा बसेको कर्णाली प्रदेशसभाको पहिलो बैठकदेखि दशौँ अधिवेशनको उनान्तीसौँ बैठकसम्म पारित भएका ५३ विधेयक कानुनका रुपमा प्रमाणीकरण गरिएका हुन् । स्थापनाकाल यता प्रदेशसभामा दर्ता ८३ विधेयक दर्ता भएका थिए । 
“प्रदेशसभामा ८३ विधेयक दर्ता भए पनि अध्यादेश, फिर्ता विधेयक र निष्क्रिय विधेयकको लगत कट्टी गर्दा  विधेयक ६४ पुगेका थिए”, सचिवालयका सचिव जीवराज बुढाथोकीले भने, “यसमा ११ विधेयकबाहेक अरु सबै प्रदेश प्रमुखबाट प्रमाणीकरण भएर कानून बनिसकेका छन् ।” उहाँका अनुसार दर्ता भएका विधेयकमध्ये तीन निस्क्रिय र आठ अध्यादेश फिर्ता भएका थिए । 
त्यसैगरी सभाबाट निर्णय भई छलफलका लागि विषयगत समितिमा पठाइएका विधेयकको सङ्ख्या छ, प्रदेशसभामा दर्ता भई टेबुल हुन बाँकी रहेका विधेयकको सङ्ख्या चार, टेबुल भई कारबाहीको प्रक्रियामा रहेको विधेयकको सङ्ख्या एक र सभाबाट स्वीकृत भएका अध्यादेशको सङ्ख्या आठ रहेको उनले बताए । 

प्रकाशित मिति: शनिबार, असोज १, २०७९  ११:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार