माओवादी राजनीतिक रुपमा स्खलित हुँदै गएकोले छाडेँ र एमाले बनेँ :  यमबहादुर परियार 

शुक्रबार, भदौ ३१, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अति नजिक सहयोगी भएर जिल्लामा काम गरेका नेता यमबहादुर परियारले बिहीबार पार्टी परित्याग गरी एमाले प्रवेश गरे । पार्टी अध्यक्ष प्रचण्डको गृहजिल्ला मात्रै नभई उनकै निर्वाचन क्षेत्रका प्रभावशाली केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज परियार र भरतपुर महानगरपालिकाका सहइन्चार्ज अन्जान तिमिल्सिनाले माओवादी परित्याग गरेका हुन् । 

भरतपुर महानगरपालिकाको माओवादी केन्द्रको सबैभन्दा बलियो वडा मानिएको वडा नं. १३ का वासिन्दा हुन परियार, तिमिल्सिना वडा नं. १६ का बासिन्दा हुन् । प्रचण्डका नजिकको विश्वास पात्र मानिने परियारको एमाले प्रवेशले चुनावको मुखैमा माओवादी केन्द्रलाई ठूलो धक्का लागेको छ । परियार प्रचण्डको निर्वाचन क्षेत्र चितवन ३ को (ख) बाट प्रत्यक्षमा प्रदेश सांसदका लागि सिफारिस भएका छन् । माओवादीको भागमा यो क्षेत्र परे परियार नै सबैभन्दा बलिया दाबेदार थिए । निर्वाचनको मुखमा नै प्रचण्डकै निर्वाचन क्षेत्रबाट पार्टी त्याग गरेका परियारसँग हामीले कुराकानी गरेका छौँ । 

माओवादीमा त्यति लामो त्याग र बलिदान गरेको मान्छेले एकाएक माओवादी पार्टी किन छाड्नु भएको हो ? 

माओवादी पार्टीमा हामी जुन सपना र दृष्टिकोण राखेर लागेका थियौं, त्यो अनुसार पार्टी रहेन । माओवादी राष्ट्रिय राजनीतिमा विघटनको प्रक्रियामा छ । देशमा दुईवटा ठूला कम्युनिष्ट पार्टी हुन जरुरी छैन । माओवादी भन्दा ठूलो कम्युनिष्ट पार्टी एमाले नै छ भनेपछि माओवादीको औचित्य के छ ? जबकी सांगठनिक संरचना, नीति सबै एमालेकै कपी गरेको छ ।  माओवादीको आफ्नो एजेण्डा छैन ।

कम्युनिष्ट चरित्र पनि माओावादीसँग छैन । राष्ट्रिय राजनीतिका सन्दर्भमा देश विकास र समृद्धिको स्पष्ट भिजन देखेँ । माओवादी नेतृत्वको भनाइ र गराईमा असंगति छ । एउटा कुरा भनिन्छ गरिन्छ अर्को । कांग्रेसको पछि लागेर समाजवादमा पुगिन्छ त ? यस्तो पाराले समाजवादमा जान सकिँदैन । माओवादी भित्र संर्घष पनि गरेको हो, तर सकिएन । अब माओवादी सुध्रिदैन,  योबाट पार लाग्दैन भनेर एमाले प्रवेश गरेका हौं  यो कुनै एक दुई दिनको कुरा हैन । यसको लामो श्रृखला छ । 

तपाईं प्रदेशको टिकट नपाउने भएपछि एमाले प्रवेश गरेको भन्ने आरोप छ नि ?

यो सरासर गलत कुरा हो । जसले मलाई चिनेको छैन, बुझेको छैन त्यसले भन्ने कुरा हुन् यि । अझै पनि प्रचण्डको निर्वाचन क्षेत्रको प्रदेश क्षेत्र माओवादीले नपाउने भन्ने त निर्णय त भएको छैन । टिकट पाउँदा त त्यसको पहिलो दाबेदार मै थिएँ । तर, मलाई यस्ता कुराले प्रभाव पार्दैन । म पदका लागि एमाले बनेको हैन । 

तपाईंको एमाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धक्का लागेको भनिन्छ, के भन्नुहुन्छ ? 

त्यो उहाँले जान्ने कुरा हो । म हिजो माओवादी थिएँ, आज एमाले छु । अरु थुप्रै साथीहर" अझै एमालेमा आउँदै हुनुहुन्छ, हेर्दै जानुहोला । 

तपाईंलाई एमोलेले प्रदेशको सांसदको टिकट दिन्छ त ? 

म तपाईंलाई फेरी भन्छु, म केही पाउनका लागि एमालेमा आएको हैन । मेरा लागि माओवादीमा पनि पद थिएँ । म पाँचपटक जिल्ला अध्यक्ष भएको मान्छे हो । नेकपा कालमा झण्डै ३ वर्ष अध्यक्ष नै बनेँ ।  तर, राजनीतिक र वैचारिक कुरा ठूलो हो । 

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  १९:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार