पाल्पाली कांग्रेस नेता घिमिरेको निधन

शुक्रबार, भदौ ३१, २०७९

रामपुर (पाल्पा) ।  जिउँदो सहिदका नामले परिचित नेपाली कांग्रेस पाल्पाका नेता विजयराज घिमिरेको निधन भएको छ । लामो समयदेखि आन्द्राको क्यान्सर रोगबाट पीडित ५४ वर्षीय घिमिरेको उपचारका क्रममा बिहीबार साँझ ८ः३० बजे काठमाडौँस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । 
दुई हप्ताअघि स्वास्थ्यमा थप समस्या आएपछि उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । विसं २०५६ मा पहिलो पटक प्रतिनिधिसभामा उम्मेदवार बनेका घिमिरे २०७४ को निर्वाचनमा उम्मेदवार थिए । 
विसं २०२५ मा पाल्पाको रामपुर नगरपालिकामा जन्मनुभएका भएका घिमिरे विद्यार्थी जीवनदेखि नै आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन् । विसं २०३६ बाट राजनीतिमा सक्रिय भएर निरन्तर लागेका घिमिरे २०३७ मा नेविसङ्घ रामतुल्सी माध्यमिक विद्यालय रामपुर कमिटीमा सचिव, काठमाडौँस्थित अमृत साइन्स क्याम्पसको स्ववियु सदस्य पदमा निर्वाचित भएका थिए । 
यस्तै २०४४ मा कांग्रेस पाल्पाको जिल्ला सदस्य, २०४६ मा नेविसङ्घको जिल्ला सचिवको जिम्मेवारी लिएर काम गरेका थिए । उनी २०४६ मा भएको जनआन्दोलनको पाल्पाको पूर्वी क्षेत्रको नेतृत्व गर्ने साहसी र इमान्दार नेताका रुपमा चिनिन्छन् । पहिलो जनआन्दोलन २०४६ को पहिलो दिन फागुन ७ गते पाल्पाको रामपुरमा जनप्रदर्शनको नेतृत्व गर्ने क्रममा उनलाई हानेको गोली लागेर दाजु सहिद सूर्यप्रसाद घिमिरेको निधन भएको थियो । त्यसकारण पनि उहाँलाई विसं २०४६ देखि यता जिउँदो सहिद भनेर चिनिन्छ । त्यतिबेला २१ वर्षको उमेरमा आन्दोलनको नेतृत्व गर्नुभएका घिमिरेले त्यसपछि पनि लगातार राजनीतिमै सक्रिय रहेका थिए । 
घिमिरेले २०४८–२०४९ मा कांग्रेसको जिल्ला सचिव, नेविसङ्घको जिल्ला सचिव र त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको स्ववियु सचिव भएर काम गरेका थिए । वरिष्ट चार्टर्ड एकाउन्टेनसमेत रहेका घिमिरेले बीमा समितिमा समेत रहेर काम गरेका थिए । 
२०७४ को निर्वाचनपछि आन्द्रामा क्यान्सर देखिएपछि उनी नियमित उपचारमा थिए । पछिल्लो समय फोक्सोमा समेत समस्या देखिएपछि काठमाडौँ तथा भारतका विभिन्न अस्पतालमा उपचार गराउँदै आएका थिए ।  
राजनीतिमा स्वच्छ छवि बनाएका घिमिरेको निधनले पार्टीमा ठूलो क्षति पुगेको नेपाली कांग्रेस पाल्पा सभापति हिमालदत्त श्रेष्ठले बताए। उनको निधनले कांग्रेस पाल्पालाई मात्र नभई सिङ्गो पाल्पालीलाई स्तब्ध बनाएको छ । पार्थिक शरीरलाई शुक्रबार दिउँसो १ बजे पशुपति स्थित आर्यघाटमा अन्त्येष्टि गरिने नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्य समितिका सदस्य कल्प पौडेलले बताए । घिमिरेका आमा, श्रीमतीसहित दुई छोरा र एक छोरी छन् । 
अन्त्येष्टिअघि आर्यघाटमै शोकसभाको आयोजना गरिने र पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालगायतका शीर्ष नेताहरुलेसमेत श्रद्धाञ्जली दिने कार्यक्रम रहेको बुझिएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  १४:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार