फैसला गर्दा जबरा पैसामा बिक्ने गरेको शम्भु थापाको आरोप

बिहीबार, भदौ ३०, २०७९

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा फैसला गर्दा पैसामा बिक्ने गरेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिले कानुन व्यवसायीहरूसँग गरेको छलफलमा बोल्दै थापाले रञ्जन कोइरालाको मुद्दाको विषयमा जबराले गरेको फैसला पैसाको चलखेल भएको उदाहरण रहेको बताए ।
आफ्नी श्रीमतीलाई मारेर, काटेर, बोरामा हालेर प्रमाण नभेटिनेगरी जलाउने अपराधीको विवेकबाट कैद घट्छ ? पैसा बाहेक केले हुनसक्छ त्यस्तो फैसला ? भन्दै थापाले प्रश्न गरे ।
थापाले जबरा महाअभियोगबाट बच्नका लागि नेकपा (एमाले) को चाकडीमा लागेको आरोपसमेत लगाए । उनले जबराले विवादीत बयान दिएर कुनै एक दलको मन जित्न चाहेको आरोप लगाएका हुन् । 'कुनै एक राजनीतिक दलको विश्वास जितियो भने महाभियोग लाग्दैन कि भन्ने दाउँमा छन् । तर त्यसो हुन दिनु हुँदैन । उहाँले धेरै विवादीत फैसला गर्नुभएको छ',  थापा भन्छन् ।
सुरेन्द्रप्रताप सिंहको दुईवटा जन्ममिति छ भनेर मुद्दा हालेर फिर्ता लिएपछि चोलेन्द्र न्यायाधीश नियुक्त भएका हुन् । 'उनीविरूद्ध भ्रष्टाचार लागेको व्यक्तिले दाबी गरेको बाहेक पनि सम्पत्ति छ भनेर छोडेपछि न्यायिक टिप्पणीसहित न्याय परिषद्मा सिफारिस भएको हो । त्यहाँ पनि उनी भ्रष्टाचार र चलखेलबाटै न्यायाधीश भएका हुन्', थापाले भने ।
 
जबरालाई कुनै पार्टीले बोक्नु गलत : रमन श्रेष्ठ

पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कुनै पार्टीले बोक्न नहुने तर्क गरेका छन् । प्रतिनिधिसभाको महाभियोग सिफारिस सिमितिले बिहीबार अधिवक्ताहरूलाई बोलाएर गरेको छलफलको क्रममा पूर्वन्यायाधीवक्ता श्रेष्ठले गलत प्रवृत्तिको प्रोत्साहन गर्दा आफैंलाई नोक्सान हुने बताएका हुन् ।
‘कुनै अमुक पार्टीले बोक्नु हुँदैन । यो त एउटा इतिहास हो । गलत काम गर्नेलाई इतिहासले माफ गर्दैन । संविधान फाल्ने हो भने महाभियोग पास नगरे हुन्छ तर संविधान जोगाउने हो भने महाभियोगको यो कदमबाट पछि हट्नु हुँदैन । यो संविधान जोगाउने कसरत हो । अहिलेसम्म जबराले गरेका फैसला हेर्ने हो भने संविधानलाई कसरी तोडमरोड गरिएको छ भन्नेबारे थाहा हुन्छ', उनले भने ।

३५ बुँदे अभियोगमा दुईरचार मुद्दा उल्लेख गरेको भन्दै उनले ती मुद्दामा निलम्बित प्रधानन्यायाधीश जबराले ठूलो मात्रामा लेनदेन गरेको आरोपसमेत लगाएका छन् ।

कतिपय मुद्दामा कागज भएको र कतिमा चेक लिएको उनको आरोप छ । उनको कारण वकिलले न्यायाधीशलाई कारबाही गर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।

'अदालत रहे न बार रहन्छ । बारले चासो राख्ने नै अदालत हो । अदालतमा जग्गा दलाल जस्तै दलालहरू हाबी भए । एउटा न्यायाधीशले अर्को न्यायाधीशलाई घुस खान पनि बिचौलिया सिर्जना गरियो', उनले भने ।

 

प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  २१:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार