धर्मपुत्रीमाथि बलात्कार गरेको आरोप लागेका हुम्लाका प्रेमजंग महत पुर्पक्षका लागि कारागार चलान

बिहीबार, भदौ ३०, २०७९
मयुर प्लाई

जुम्ला । जुम्लामा धर्मपुत्रीको रूपमा राखिएकी बालिकामाथि बलात्कारको आरोप लागेका प्रेमराजा भनिने प्रेमजंग महत पुर्पक्षका लागि कारागार चलान भएका छन् । मिलापत्र गराउने कार्यमा संलग्न रहेको अभियोग लागेका पाँच जना भने धरौटीमा छुटेका छन् । जिल्ला अदालत जुम्लाले सोमबार उनलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । घटनाको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले महतलाई २० वर्षको कैद सजाय मागदाबी गर्दै अदालतमा मुद्दा दायर गरेको थियो । दायर मुद्दामाथि सुनुवाइ गर्दै जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले महतलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । आदेशमा घटनाको मिलापत्र गराउने कार्यमा संलग्न रहेकालाई भने धरौटी माग गरिएको छ ।  
त्यस्तै मुलुकी अपराधसंहितामा १० देखि १४ वर्षकी नवबालिकामाथि जबरजस्ती करणी गरे १८ देखि २० वर्षसम्म कैद सजायको व्यवस्था गरेको छ । सोही माग दाबीसहित परेको मुद्दामा महतलाई कारागार चलाउने आदेश भएको जिल्ला अदालत जुम्लाका श्रेस्तेदार सरोजराज रेग्मीले जानकारी दिए ।
उनका अनुसार जबरजस्ती करणीको घटना मिलाएको अभियोगमा पक्राउ परेका पाँचलाई अदालतले धरौटीमा छोड्न आदेश दिएको छ । उक्त कार्यमा संलग्न चन्दननाथ नगरपालिका–५ कालीबहादुर भण्डारी र चन्दननाथ–४ की उर्मिला महत जनही दुई लाख पचास हजार धरौटीमा छुटेका छन् ।
चन्दननाथ–४ का नवराज भारती र तातोपानी गाउँपालिका–८ शर्मिला महत जनही २ लाख धरौटी तिरेर छुटेका छन् भने तातोपानी गाउँपालिका–८ की ईश्वरी आरसी एक लाख धरौटीमा छुटेकी छन् ।
धरौटीमा छुटेका कालीबहादुर भण्डारी चन्दनाथ नगरपालिका–५ का वडा सदस्य हुन् । उर्मिलाकुमारी महत शिक्षिका हुन् । उनी स्थानीय एक विद्यालयको आधारभूत तहका विद्यार्थीलाई पढाउने गर्छिन् ।
मिलापत्र गराउने कार्यमा संलग्न तीन जना अझै फरार रहेको र उनीहरूको नाममा पक्राउ पुर्जी जारी गरिएको रेग्मीले बताए । मिलापत्र गराउने कार्यमा संलग्न अधिवक्ता दिलबहादुर महत, महेन्द्र महत र जीवन महत फरार रहेको छन् । नवबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा जुम्ला प्रहरीले २९ साउनमा महतलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि उनको बयानका आधारमा थप पाँच जनालाई पक्राउ गरेको थियो ।
त्यस्तै जाजरकोट स्थायी घर भएर आमासँग जुम्ला सदरमुकाम खलंगा आएकी १० साढे वर्षकी  नवबालिकामाथि चन्दननाथ नगरपालिका–७ निवासी महतले एक महिनासम्म पटक पटक जबरजस्ती करणी गरेको पीडित पक्षको आरोप छ । नाबालिगकालाई महतले छोरीका रूपमा घरमा राखेर पढाइदिने आश्वासन दिएर आफ्नो घरमा राखेका थिए ।
जबरजस्ती करणी गरेको घटना बाहिर आएपछि ७ लाख रुपैयाँको लेनदेनमा घटना मिलापत्रको प्रयास भएको थियो । अधिवक्ता दिलबहादुरसहित आठ जनाको रोहवरमा ७ लाखमा रुपैयाँमा घटना मिलापत्र गराइएको थियो ।
मिलापत्रमा बालिकालाई पठनपाठन सहयोगका लागि भनेर रकम दिइएको कागज बनाइएको छ । बालिकालाई महतले पढाइदिने र घरायसी कामका लागि छोरी (धर्मपुत्री) बनाएर राख्ने बालिकाकी आमासँग सहमति गरी घरमा लगिएको बुझिएको छ । आमाले दोस्रो बिहे गरेकाले उनी पनि जुम्ला आएकी थिइन् । उनकी आमाले पसल चलाउँदै आएकी छन् ।
मुलुकी अपराधसंहिता, मुलुकी अपराध कार्यविधिअनुसार बलात्कारको घटना मिलाउनु कानुन विपरीत हो । बलात्कारका घटनामा मिलापत्र गराउनेलाई समेत ६ महिनादेखि ३ वर्ष कैद वा ३० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । मिलापत्र गराउने व्यक्ति सार्वजनिक पद धारण गरेको भए थप ६ महिना कैद हुने उल्लेख छ ।

दुई बालिकालाई बलात्कारको कसुरमा १९ वर्ष कैद

तनहुँको भानु नगरपालिका–३ माझीवनका १३ र १७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक युवालाई १९ वर्ष कैद फैसला भएको छ । तनहुँ जिल्ला अदालतले भानु नपा–३ माझीवनका ३३ वर्षीय रमेश तामाङलाई १९ वर्ष कैद र दुवै पीडित बालिकालाई एक÷एक लाख क्षतिपूर्ति दिने फैसला सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश दलबहादुर केसीको आजको इजलासले उक्त दुई वटा छुट्टाछुट्टै बलात्कारको मुद्दामा तामाङलाई दोषी ठहर गर्दै क्रमशः १९ वर्ष र १६ वर्ष छ महिना कैद र क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी हरिशचन्द्र गौतमले जानकारी दिए ।
दुई मुद्दामा एकैजना अभियुक्त भएको र घटना एकैदिन भएको तथा दुवै मुद्दामा दोषी ठहर भएको हुँदा अधिकतम १९ वर्ष सजायको थप पाँच वर्ष कैद बस्नुपर्ने गौतमले बताए ।
उक्त फैसलाअनुसार तामाङ २५ वर्ष कैद बस्नुपर्ने हुन्छ । तामाङले विसं २०७७ असार ३० गते सुस्तमनस्थिति भएका दुई बालिकालाई बलात्कार गरेको भन्दै पीडितका परिवारले सोही दिन इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेमा उजुरी दिएका थिए । उजुरीपश्चात् प्रहरीले सोही दिन तामाङलाई पक्राउ गरेको थियो । तामाङ जिल्ला अदालतको आदेशमा विसं २०७७ साउन २४ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका थिए ।

 

 

प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  ०४:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार