सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सरकारी अधिकारीहरू र जनस्वास्थ्यविद्हरूले नेपालमा अहिले देखिएको कोरोनाभाइरस सङ्क्रमणको अवस्था ‘गत वर्षको तुलनामा निकै खतरनाक तहमा रहेको’ भन्दै थप सावधान हुन नागरिकहरूलाई आह्वान गरेका छन् । उनीहरूका भनाइमा यसपालि कोरोनाभाइरस सङ्क्रमण र त्यसबाट हुन सक्ने जोखिम पोहोरको तुलनामा निकै उच्च देखिन्छ । कोरोनाभाइरसको नयाँ प्रकार फैलिन थालेको तथा सङ्क्रमणको जोखिमलाई गम्भीर रूपमा नलिने प्रवृत्ति पनि त्यसका लागि जिम्मेवार देखिएको उनीहरूको भनाइ छ । जोखिम कम गर्न अधिकारीहरूले जनस्वास्थ्यका लागि तोकिएका मापदण्डहरू पालन गर्न आग्रह गरिरहेका छन् । तर कतिपय जनस्वास्थ्यविद्हरू मापदण्ड पालन गराउन र जोखिम न्यूनीकरणका लागि सरकारी निकायहरूको भूमिका कमजोर भएको भन्दै प्रश्न उठाउँछन् । अधिकारीहरू र जनस्वास्थ्यविद्ले यसपालिको कोरोनाभाइरस महामारीको अवस्थालाई पोहोरको तुलनामा निकै खतरनाक देख्नुका कारण यहाँ प्रस्तुत गरिएको छ ।
प्रतिबन्धहरू नलगाइनु गत वर्ष नेपालमा केही व्यक्तिमा सङ्क्रमण देखा पर्नेबित्तिकै कडा प्रतिबन्धहरूसहित लकडाउन लगाइएको थियो । तर यसपालि दैनिक १,००० जनाभन्दा बढीमा सङ्क्रमण पुष्टि हुँदा र दैनिक ८–१० जनाको निधन हुँदा पनि सरकारले कडा प्रतिबन्धहरू नलगाएकाले भाइरस फैलिने दर बढिरहेको जनस्वास्थ्यविद्को भनाइ छ । यसपालि ढिलो गरी सरकारले यसै साताबाट केही प्रतिबन्धात्मक व्यवस्था लागु गरेको छ । तर विज्ञहरू ‘त्यसले भाइरस फैलिने दरलाई रोक्न खासै सहयोग नपुग्ने’ बताउँछन् । जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे भन्छन्, ‘गत वर्ष दुई जनामा मात्र सङ्क्रमण देखिएको बेलामा लकडाउन भएको थियो । त्यस बेला मानिसहरू घरमै बसेका थिए त्यसले जोखिम कम गराएको थियो । बालबालिकाहरू विद्यालय गएका थिएनन् ।’ ‘यसपालि धेरैपछि आएर मात्र निश्चित स्थानमा विद्यालय बन्द गरियो। अन्य धेरै क्षेत्रमा पोहोरका जस्ता प्रतिबन्ध छैनन् । यसले जोखिम निकै बढाएको छ’ उनले भने । तर सरकारी अधिकारीहरूले नेपालमा पुनः लकडाउन लगाउनुपर्ने अवस्था आउन नदिनका लागि अन्य उपायहरू मात्र अपनाइएको बताउने गरेका छन् ।
मापदण्डको उपेक्षा यस पटकको कोरोनाभाइरस सङ्क्रमण पोहोरको तुलनामा थप खतरनाक अवस्थामा देखिनुको अर्काे कारण तोकिएका स्वास्थ्य मापदण्डहरू पालन नहुनु र नगराइनु रहेको जनस्वास्थ्यविद्हरू बताउँछन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका एक जना सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप बास्तोला गएको पुस–माघमा न्यून तहमा पुगेको सङ्क्रमण चैतदेखि ह्वात्तै बढेको देखिएको बताउँछन् । उनी भन्छन, ‘हामीले पछिल्लो समय सम्पूर्ण मापदण्डलाई बेवास्ता ग¥यौँ । पुस–माघमा त हामी यति बाहिर निस्कियौँ, यति हेलचेक्र्याइँ र लापरबाही ग¥यौँ कि त्यसको फलस्वरूप बाहिरबाट आएको भाइरस पनि फैलिन पुग्यो ।’ जनस्वास्थ्यविद् पाण्डे मापदण्ड पालन नगर्नेमा सरकार र नागरिक दुवै उस्तै देखिएको बताउँछन् । उनका अनुसार सरकारमा रहेकाहरूले नै पनि मापदण्ड पालन गरेको देखिएन भने मापदण्ड पालन नगर्ने नागरिकलाई दण्डित गर्न पनि सरकारले वास्ता गरेन । पाण्डे भन्छन, ‘नेपाल संसारमा एउटा यस्तो देश हो जहाँ जनस्वास्थ्य मापदण्डको अनुगमन सरकारले गर्दैन । अहिले हामीले मास्क नलगाइकन गृह मन्त्रालय वा प्रहरी प्रधान कार्यालयमा गए पनि कसैले केही गर्दैन ।’ ‘जनस्वास्थ्यका मापदण्डको पालनाबारे विश्वका हरेक देशले अनुगमन गरेका छन् । नेपालले मात्रै गरेको छैन । त्यसले गर्दा जोखिम धेरै बढेको छ’ उनले भने । नेपालमा अहिले विश्वका विभिन्न स्थानमा देखा परेका बढी सङ्क्रामक मानिएका भाइरसका प्रकार भित्रिएकाले पनि जोखिम धेरै भएको अधिकारीहरूको भनाइ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरूका अनुसार हालसम्म नेपालमा बढी सङ्क्रामक मानिएकामध्ये ब्रजिल र दक्षिण अफ्रिकामा देखा परेका नयाँ भाइरस भित्रिएको पुष्टि भएको छैन । तर यूकेमा फैलिएको तथा भारतको ‘डबल म्यूटन्ट’ भेरिअन्टहरू भित्रिसकेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलका अनुसार नेपालमा बढी सङ्क्रामक ठानिएका भाइरस फैलिँदै गएमा हाल स्वास्थ्य मन्त्रालयले प्रक्षेपण गरेकोभन्दा बढी मात्रामा सङ्क्रमण हुनेछ । मन्त्रालयले आगामी असार मसान्तसम्म नेपालमा सङ्क्रमितको संख्या ६ लाख पुग्न सक्छ भन्ने प्रक्षेपण गरेको छ । तर नयाँ खालको भाइरस फैलिँदै गएमा त्यो संख्या डेढगुना हुन सक्ने पौडेलले बताए । ‘पुरानो भाइरसबाट सर्ने दर २.४ छ भने नयाँ प्रकारको चार हुन सक्छ’ उनले भने । नयाँ भाइरसको फैलिँदो दर अहिलेको सङ्क्रमणका लागि निकै चुनौतीको विषय भएको जनस्वास्थ्यविद्हरूको भनाइ छ ।-बीबीसी