सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले शक्तिपीठसहित घरघरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट जारी गरिएको स्वास्थ्य मापदण्डबमोजिम भौतिक दूरी कायम गरी शक्तिपीठमा पूजा आराधना एवं दर्शन गरिएको थियो । मन्दिरसम्म नजाने भक्तजनले भने घरघरमै देवीको आराधना गरी मीठामीठा परिकार बनाएर भोजन गरी परिवारका सदस्यबीच रमाइलो गरेर चैते दशैँ पर्व मनाइएका छन् । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले वेदमा ‘सर्वतः आत्मानम गोपायेत’ अर्थात सबैभन्दा पहिले आफ्नो शरीरको रक्षा गर भन्ने वचन रहेकाले महामारीको सङ्क्रमणबाट बच्न घरमै बसेर पूजा आराधना गर्न आह्वान गरेका थिए । बडादशैँजस्तै चैते दशैँको पूजा उपासनाको मुख्य उद्देश्य पनि यो लोकमा सुख, शान्ति र परलोकमा सद्गतिका लागि आशीर्वाद लिनका लागि हो । बडादशैँमा जस्तै चैते दशैँमा पनि परिवारका सदस्यबीच जमघट हुने गर्छ । यस अवसरमा उपत्यकाका गुह्येश्वरी, जयबागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत शक्तिपीठमा चैते दशैँका अवसरमा विशेष पूजा गरिएको छ । यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, बागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गरिएको जनाइएको छ । चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुने, मनोकामना पूरा हुने धार्मिक विश्वास छ । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन् । आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दशैँलाई बडादशैँ भनिन्छ । बडादशैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमासम्म चल्छ । चैते दशैँमा भने त्यो परम्परा धेरै परिवारमा छैन । हनुमानढोको दशैँघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ । चैते दशैँमा अष्टमी र नवमीलाई विशेषरुपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दशैँ र नवमीलाई रामनवमी पर्वका रुपमा मनाइन्छ ।
हनुमानढोकामा दिइयो बलि प्राचीनकालदेखि नै हनुमानढोका दरबारको दशैँ घरमा चैते दशैँका दिन पनि बलिसहित पूजा गरिन्छ । हनुमानढोकाको मूल चोकमा ५४ बोका र ५४ राँगाको बलिसहित पूजा गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । यसैगरी दशैँ घरमा नौवटा बोका बलिसहित पूजा गरिएको उनले बताए । चैत्र शुक्ल प्रतिपदादेखि नै हनुमानढोकास्थित दशैँ घरमा विशेष पूजा र दुर्गा सप्तशती (चण्डी) पाठ गरिएको छ । विसं २०६३ सम्म नारायणहिटी राजदरबारअन्तर्गत रहेको दशैँघर त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत छ । गत वर्ष भने चैत्र नवरात्रको अष्टमीका दिन हनुमानढोका दरबारको दशैँ घरमा बन्दाबन्दीका कारण बलिसहितको पूजा रोकिएको थियो । बन्दाबन्दीले पशु, चौपाया ल्याउन समस्या भएकाले रोकिएको हो ।
चैते दशैँको अवसरमा मौलो पूजा सम्पन्न चैते दशैँ पर्वको अवसरमा प्रहरी प्रधान कार्यालयमा मौलो पूजा सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीले चैते दशैँ पर्वको अवसरमा परम्परागत रुपमा मनाउँदै आएको मौलोमा आज पूजाअर्चना तथा संकल्प गरेका हुन् । पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले बलि पूजा तथा निशानमा पञ्जा छापसमेत लगाएका थिए । सोही अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायब निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार जीतेन्द्र खाँ थारुलाई नगद पुरस्कार प्रदान गरेका थिए । पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाका लागि निशान प्रस्थान गराइएको थियो । नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्नेजस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपीठ र इष्ट देवताको प्रतीकका रूपमा निशान झण्डालाई लिइन्छ । सङ्गठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस र सम्पूर्ण कार्यमा सफलता प्राप्त होस भनी निशान झण्डालाई पूजा गर्ने परम्परा रहिआएको छ । नेपाल प्रहरीले विसं २०११ मा निशान झण्डा प्राप्त गरेपश्चात हरेक वर्ष वडा दशैँ र चैते दशैँमा निरन्तररूपमा मौलो पूजा गर्दै आएको छ ।–रासस