पूरा भयो गुणस्तरीय विद्युत्को सपना

सोमबार, भदौ २०, २०७९

भैरहवा । बाह्र वर्षअघि थालनी गरिएको गोरुसिङ्गे–बुटवल–लुम्बिनी १३२ केभीए प्रसारण लाइनले पूर्णता पाएको छ । आयोजनाअन्तर्गतको मैनिहिया सबस्टेशनको सुरुआतसँगै रुपन्देहीको दक्षिणी क्षेत्रमा भइरहेको विद्युत्सम्बन्धी धेरै समस्या समाधान भएका छन् ।
भैरहवा, लुम्बिनी र अमवामा मैनहिया सबस्टेशनबाट विद्युत् आपूर्ति जोडिएसँगै भैरहवा, लुम्बिनी, मर्चवारलगायतका क्षेत्रमा कम भोल्टेज तथा बारम्बार विद्युत् काटिएर हैरानी खेपेका स्थानीयवासीहरुले राहत महसुस गरेका छन् ।
बुटवल–गोरुसिङ्गे–लुम्बिनी १३२ केभीए आयोजना २०६७ सालमा सुरु भई ०७२ सालमै सक्नुपर्ने आयोजना थियो तर समयमै काम सुरु हुन सकेको थिएन । विसं २०७२ चैतमा विधिवत्रूपमा सुरु गरिएको काम पनि कोभिडलगायतका विभिन्न अवरोधका कारण रोकिँदै आएको थियो ।

1.jpg-1081662364457.jpg


नेपाल विद्युत् प्राधिकरणले बुटवल सबस्टेसनबाट मैनहिया सबस्टेशनसम्मको १८ किमी बुटवल–लुम्बिनी प्रसारण लाइनमा विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको हो । प्रसारण लाइनको निर्माणसँगै करिब दुई सय मेगावाट विद्युत् प्रवाह हुनसक्ने पूर्वाधार तयार भएको छ ।
मैनहियामा १३२ ३३ ११ केभीको सबस्टेसन निर्माण गरिएको छ । सबस्टेसनमा ४५ एमभीए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर र ३३र११ केभी, १६ एमभीए पावर ट्रान्सफर्मर रहनेछन् । जसमध्ये एउटा ४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर आइसकेको छ । अर्को एउटा आउने प्रक्रियामा रहेको गोरुसिङ्गे–बुटवल–लुम्बिनी १३२ केभीए प्रसारण लाइन आयोजनाका प्रमुख इन्जिनियर हरिप्रसाद पाण्डेले बताए ।
 स्थानीयरूपमा विद्युत् आपूर्तिका लागि मैनहिया सबस्टेसनबाट ३३ केभीका १० वटा फिडर निकालिएको छ । तत्काल चार वटा फिडरमध्ये लुम्बिनी, अमवा, भैरहवा न्यू र भैरहवा ओल्डमा विद्युत् पु¥याइएको छ । ३३ केभी कै बाँकी छ वटा फिडर र ११ केभीका फिडर पनि शीघ्र सञ्चालनमा आउँदैछन् ।
प्रसारण लाइन सञ्चालनमा आएसँगै बुटवल, भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार भएको र उद्योगलाई मागेजति विद्युत् दिन सकिने आयोजनाका प्रमुख पाण्डेले बताए ।
अठार किमी प्रसारण लाइनमा ५७ वटा टावर निर्माण गरिएको छ । बुटवल बजार जोगीकुटीदेखि मगरघाट क्षेत्रमा १३२ केभी प्रसारण लाइनलाई दुई किलोमिटर भूमिगत गरिएको छ । मैनहिया सबस्टेशनबाट भारतको उत्तरप्रदेशसँग विद्युत् प्रवाहका लागि १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ ।

मैनहिया सबस्टेशनबाट भारतको उत्तरप्रदेशस्थित सम्पत्तिया सबस्टेशन जोड्ने प्रसारण लाइनको निर्माण अन्तिम चरणमा छ । अहिले उत्तरप्रदेशसँग ३३ केभीको मात्र प्रसारण संरचना रहेकामा मैनहिया–सम्पत्तिया बनेपछि नेपाल–भारतबीचको आन्तरदेशीय विद्युत् व्यापार अझ सहज हुनेछ ।
आयोजनाको कूल लागत भने रु एक अर्ब १९ करोड रहेको छ । आयोजनाको सुरुआती चरणमा योगीकुटीबाट सिद्धार्थ राजमार्ग हुँदै मोनोपोलमार्फत सिधै ठुटिपीपलसम्म र त्यहाँबाट मैनिहिया लैजाने योजना थियो तर स्थानीयवासीले विरोध गरेपछि मार्ग बदलिएको थियो । मार्ग परिवर्तन हुँदा मगरघाटबाट शुद्धोधन गाउँपालिकाको विभिन्न क्षेत्र हुँदै सियारीको मैनिहियास्थित सबस्टेशनमा पु¥याइएको छ ।
सोमबार एक कार्यक्रमका बीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सबस्टेशनको उद्घाटन गरे । सो अवसरमा उनले आन्तरिकरूपमा खपत गरेर बढी भएको विद्युत् अन्तर्राष्ट्रिय बजारमा बिक्री गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए ।
उनले यो क्षेत्र माछा जोनका लागि उपयुक्त भएको र माछापालनलाई उद्योगमा राखिएको हुँदा आगामी बैठकबाट यसलाई संसोधन गरी माछापालनलाई पनि कृषिकै दरमा विद्युत् उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
“विद्युत नपुगेको ठाउँमा दुई वर्षभित्रमा विद्युत् पुर्याउने र पुगेको ठाउँमा पूर्वाधार निर्माण गरी गुणस्तरीय र भरपर्दो विद्युत् आपूर्तिका लागि काम गरिरहेका छौँ । यसका साथै बूढीगण्डकीलगायतका ठूला जलशाययुक्त आयोजना निर्माण गरिने छ”, उनले  “खाना पकाउन प्रयोग हुने एलपीजी ग्यासलाई विस्थापित गर्ने, उद्योगलाई मागेजति विद्युत् दिने, यातायातमा विद्युतीय सवारी साधन प्रयोग गर्ने, कृषिको उत्पादकत्व बढाउन सिँचाइमा विद्युत् प्रयोग गरी अर्थतन्त्रलाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अगाडि बढ्नुपर्छ ।”
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्त्य मात्र विद्युत् प्राधिकरणको लक्ष्य नरहेको बताए । उनले प्राधिकरणको अबको लक्ष्य गुणस्तरीय र दिगो विद्युत् रहेको बताए ।
यतिबेला भरतपुर–बर्दघाट १३२ केभी सिङ्गल सर्किट र कालीगण्डकीको उत्पादन पश्चिम क्षेत्रमा प्रवाह भइरहेको छ । लुम्बिनी करिडोरमा रहेका सिमेन्ट तथा छड उद्योग, विश्वपर्यटनको केन्द्र बुद्ध जन्मस्थल लुम्बिनी, अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल, व्यावसायिक तथा आधुनिक सहर भैरहवा र घनाबस्तीका कारण यो क्षेत्रमा विद्युतीय खपत बढिरहेको छ ।–रासस

 

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  २२:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार