उदयपुर गढीमा खानेपानीको हाहाकार

आइतबार, वैशाख ५, २०७८

उदयपुर । पर्यटकीयस्थलका रुपमा परिचित गढी गाउँपालिकाको उदयपुर गढी क्षेत्रमा खानेपानीको चरम समस्या भएको छ । डेढ महिनादेखि सो क्षेत्रमा पानी लिफ्टिङ्ग गर्ने जेनेरेटर  बिग्रिएकोले खानेपानीको हाहाकार भएको हो ।  स्थानीय होटेल व्यवसायी तथा घरबास (होमस्टे) सञ्चालक कृष्ण धमलाले गढी क्षेत्रमा खानेपानीको समस्या भएको जानकारी दिए ।   तीन किलोमिटर दूरीमा रहेको जोगिधाराबाट लिफ्टिङ्ग गरेर पानी तान्ने गरिएको थियो । यसबाट गढी गाउँपालिकाको कार्यालयसहित झण्डै ५० घरले पानीको उपयोग गर्दै आएका थिए ।  केही स्थानीयवासी दुई घण्टा लाग्ने जोगिधारा र  कोही नौ किलोमिटर वैद्यनाथ खोलाबाट ट्र्याक्टरमा पानी बोकाएर खान बाध्य छन्  । गढी घुम्न आउने पर्यटकसमेत पानीको समस्या देखेर गढीमा बास बस्न छाडेका छन् भने घुम्न आउने पर्यटकको संख्या पनि ह्वात्तै घट्न पुगेको होमस्टे सञ्चालक देवराज राईले जानकारी दिए । गाउँपालिकाका उपाध्यक्ष सानुकुमारी राउत भन्छन् ‘केही वर्षदेखि गढी क्षेत्रमा खानेपानी समस्या समाधान गर्न जोगिधाराबाट लिफ्टिङ्ग गरेर गढीका ५० घर जनतालाई धाराबाट पानी वितरण गर्दै आएका हौँ ।  केही महिनादेखि प्राविधिक समस्याका कारण खानेपानीको समस्या आयो ।’ उनले गढी क्षेत्रमा बिजुली आइसकेको र मेशिन सञ्चालन गर्न तेल नचाहिने हुँदा खानेपानीको समस्या छिट्टै समाधान हुने दाबी गरे । गाउँपालिकाका अध्यक्ष मोहन केपीछाके मगरले खानेपानी समस्या समाधान वैद्यनाथ खोलादेखि नै पानी लिफ्टिङ्ग गरेर गढी क्षेत्रसम्म पु¥याउन लागिएको जानकारी दिए । गढी समुद्री सतह देखि दुईहजार मिटरको उचाइरमा रहेको एतिहासिक पर्यटकिय स्थल हो । तत्कालीन राजा पृथ्बीनारायण शाहका फौजले आक्रमण गर्नु अघि गढीमा उदयसेन राजाले राज्य गरेको बताइएको छ ।  गढीमा एक हजार वर्ष पुरानो वरको रूख रहेको छ भने पञ्चावती देवीको मन्दिर जस्ता महत्वपूर्ण मन्दिर पनि  छ । गढीबाट उत्तरतिर एकैपटक ६ वटा हिमशृंखलाहरु अवलोकन गर्न सकिन्छ । गढीबाट दक्षिणतिर तराईको धनुषाको जनकपुर, सिरहा, सप्तरीसहित पश्चिमतिर सिन्धुली रामेछाप, ओखलढुङ्गा उत्तर खोटाङ र भोजपुर क्षेत्र एकैचोटि अवलोकन गर्न सकिन्छ  । 
एक सय गन्तव्यको सूचीमध्येमा गढी पनि रहेको छ ।  खानेपानीको समस्याका कारण गढीका धेरै जनता गाउँ छाडेर अन्यत्र बसाइँ सर्ने क्रम बढ्दै गएको छ । विसं २०६४ सम्ममा गढीक्षेत्रमा २२० घर रहेको भए पनि बसाइँ सर्ने क्रम बढ्दै गएपछि अहिले ५० घर मात्र रहेका छन् ।–रासस
 

प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  १५:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार