सोसल मिडिया
Contact Us
युनिकोड
दमौली । हिउँद शुरु भएपछि तनहुँको करीब पाँच सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । जिल्लाका विभिन्न ठाउँमा रहेका सामुदायिक वनमा छिटफुटरूपमा डढेलोका घटना बढेको डिभिजन वन कार्यालयले जनाएको छ । डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले यकिन तथ्याङ्क नआइसके पनि करीब पाँच÷छ सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको जानकारी दिए । ‘अन्य जिल्लाको तुलनामा तनहुँमा विकराल समस्या त छैन, यद्यपि छिटफुटरूपमा डढेलोका घटना भएका छन्’, उनले भने । उनका अनुसार डढेलो लाग्ने १८ जिल्लामध्ये तनहुँ पनि उच्च जोखिममा पर्दछ तर यसपटक भने डढेलोको ठूलो समस्या देखिएको छैन । सर्वसाधारण सचेत भएका कारण पनि डढेलो लाग्न कमी आएको हुनसक्ने उनको बुझाइ छ । ‘डढेलो नियन्त्रणका लागि उपभोक्ता समूह, सामुदायिक वन उपभोक्ता महासङ्घलगायतलाई आग्रह गरेका छौँ’, उनले भने, ‘सर्वसाधारणले घर नजिकैको पातपतिङ्गर सफा गर्न डढेलो लगाइदिने र सोही डढेलो वन क्षेत्रमा सल्किने गरेको छ ।’ जिल्लामा रहेका आठ सव–डिभिजन वन कार्यालयले आआफ्नो क्षेत्रमा वन डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम गरिरहेका छन् । जिल्लाको ८२ हजार ५४९ हेक्टर क्षेत्रफल वनले ओगटेको छ । जिल्लाका १० स्थानीय तहमा ६१६ सामुदायिक वन, ४८५ कबुलियती वन र छ धार्मिक वन छन् ।