बन्धक बनाएर राखिएका विज्ञानलाई फर्काइयो घर

शुक्रबार, वैशाख ३, २०७८


खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । 
नेपालगञ्जमा भेटिएका विज्ञानलाई भाइ सुवास कोइरालाले आफ्नो घर (हाल उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुर) पु¥याएका हुन् ।  साविकको चिसापानी–१ का कोइराला परिवार गत पुस अन्तिम साता सुन्दरपुर बसाई सरेका थिए । लामो समयसम्म बेपत्ता भएपछि परिवारले माया मारिसकेका विज्ञानको आमा देवकुमारी, भाइ सुवास र कान्छी बहिनी तुलसासँग भेट भएको छ । 
विसं २०५८ मा १७ वर्षको उमेरमा काठमाडौंको सानेपाबाट बेपत्ता भएका विज्ञान १९ वर्षपछि घर फर्किएर आउँदा कोइराला परिवारमा खुशी छाएको छ । लामो समयपछि घर फर्किएका कारण विज्ञानले आमा, भाइ र बहिनीलाई समेत ठम्याउन नसकेको बताइएको छ । 
बाल्यकालमा भाइबहिनीलाई छाडेका विज्ञानले अहिले पनि आफ्नो भाइबहिनी सानै रहेको बताउने गरेका छन् । परिवारका सदस्यलाई ठम्याउन नसकेका विज्ञानले यसअघि नै बितिसकेकी मावली हजुरमुमालाई मात्र फोटो हेरेर चिन्न सकेका छन् ।
शारीरिकरुपमा मात्र नभई मानसिकरुपमा समेत रोगी देखिएका विज्ञान सशस्त्र द्वन्द्वको समयमा भारत जाने भन्दै घर छाडेर हिँडेका थिए तर, उनी भारत नगइ काठमाडौं पुगेको खुलेको भाइ सुवासले बताए । ‘दाजुको भनाइमा उहाँ सानेपाबाट अपहरणमा पर्नुभएको रहेछ । गाडीमा आएका दुई महिला र एक पुरुषले उहाँलाई कम्बलले अनुहार छोपेर बेहोस बनाएपछि बन्द कोठामा पु¥याएका रहेछन्’, दाजुको भनाइ उद्धृत गर्दै उनले भने, ‘जुन कोठाबाट बाहिरिन उहाँलाई दुई दशक लाग्यो । कोठामा बन्धक बनाइएको अवस्थामा चरम श्रम तथा यौन शोषण गरेको, यातना दिएको दाजुले बताउने गर्नुभएको छ । उहाँको पेट र खुट्टामा लागेको चोटको खाटा अहिले पनि देखिन्छ ।’
शारीरिकरुपमा कमजोर देखिने विज्ञानको फियो भेरी अञ्चल अस्पतालमा उपचार गर्दा निकालिएको पुष्टि भएको भाइ सुवासले बताए । उनको वीर अस्पताल लगेर उपचार गर्नुपर्ने र त्यसका लागि रु सात लाख खर्च लाग्ने बताइएको छ । 
गत चैत २४ गते नेपालगञ्जबाट प्रकाशित हुने कालपृष्ठ दैनिकको सम्पर्कमा पुगेका विज्ञानलाई जिल्ला प्रहरी कार्यालय बाँकेले उद्धार गरेर सोही स्थानको निलसागर सेवाश्रमको जिम्मा लगाएको थियो । निलसागरले विज्ञानको निःशुल्क स्वास्थ्य जाच गराएपछि प्रहरी र पत्रकारको रोहबरमा आफन्तको जिम्मा लगाएको हो । विज्ञानलाई घरसम्म पुग्ने व्यवस्था जिल्ला प्रहरी कार्यालय बाँकेले गरेको थियो । बेपत्ता विज्ञान र भाइ सुवासको चैत २६ गते नेपालगञ्जमा भेट भएको थियो । उन्नाइस वर्षसम्म घर बाहिर निस्कन नदिई बन्धक बनाइएका विज्ञानलाई चैत १८ गते राति सुतेको बेला बेहोस पारेर काठमाडौँको बल्खु आसपासको जंगलमा छाडिएको बताइएको छ ।
विज्ञानलाई अपहरण गरेको र बन्धक बनाएको विषयमा प्रहरी अनुसन्धान हुन भने बाँकी नै रहेको भाइ सुवासले बताए । 
विज्ञानलाई घर ल्याइएसँगै आवश्यक उपचारका लागि सहयोग अभियान शुरु गरिएको नेपाली कांग्रेस जन्तेढङ्गा गाउँपालिकाका उपाध्यक्ष बाजिन्द्र विष्टले बताए ।–रासस

प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  १६:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार