सोसल मिडिया
Contact Us
युनिकोड
झापा । झापा, मोरङ र सुनसरीमा बसोबास गर्दै आएका आदिवासी समुदायको मुख्य पर्व सिरुवा यस वर्ष कोभिड–१९ का कारण प्रभावित भएको छ । नयाँ वर्षको शुरुआतसँगै पानी, हिलो र रंग खेलेर परम्परागतरुपमा उल्लासपूर्वक सिरुवा मनाउने प्रचलन छ । मौलिक संस्कृतिको जगेर्ना गर्दै मनाइने सिरुवा यस वर्ष कोभिड महामारीको दोस्रो लहरका कारण प्रभावित बनेको हो । राजवंशी र ताजपुरिया जातिले वैशाख १ गते पानी, २ गते कादो (हिलो) र ३ गते रंग खेलेर सामूहिकरुपमा सिरुवा पर्व मनाउँछन् । कोभिड सङ्क्रमण बढेका कारण यस वर्ष आआफ्नो घरमा बसेर पर्व मनाउन बाध्य भएको राजवंशी समाज विकास समितिकी केन्द्रीय सदस्य फूलमति राजवंशीले बताइन् । ‘कोभिडको जोखिम बढेका कारण यसपटक उल्लासपूर्वक मनाउन पाइएन । आफन्त, नातागोताकोसमेत जमघट भएन’, उनले भनिन्, ‘हिन्दूको महान चाड दशैँ जस्तै हो यो हाम्रो सिरुवा पर्व, तर पहिलो प्राथमिकता स्वास्थ्य सुरक्षा भएकाले जमघट गरिएन ।’ उनले पछिल्ला दुई वर्षमा कोभिड सङ्क्रमणको त्रासदीका कारण सिरुवाको रौनकले नछोएको बताए । वर्षभरि शीतलता प्राप्त होस्, क्रोध नष्ट भएर जाओस् भन्ने कामना गर्दै वैशाख १ गते पानी सिरुवा मनाइने गरिन्छ । त्यसैगरी वैशाख २ गते हिलो छ्यापाछ्याप गरी माटोसँगको आत्मीयता कायम राख्न कादो सिरुवा मनाउने गरिन्छ भने वैशाख ३ गते जीवन थप रङ्गीन बनोस् भन्ने कामना गर्दै रंग सिरुवा मनाउने परम्परागत चलन छ ।