सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल भूमि सूचना पद्धति (नेपाल ल्याण्ड इनफरमेशन सिस्टम–नेलिज) तथा ‘मेरो कित्ता’ कार्यक्रमको बिहीबार शुभारम्भ गरिएको छ । घरमै बसेर जग्गाको नक्शा प्रकाशन, राजश्व भुक्तानीलगायत व्यवस्थासहितको ‘मेरो कित्ता’ अनलाइन सेवा सरकारले आजदेखि शुरु गरेको हो । मेरो कित्ताको वेबसाइट धधध।mभचयपष्ततब।मयक।नयख।लउ ‘लग इन’ गरेर उक्त सेवा लिन सकिने छ । नेलिज तथा ‘मेरो कित्ता’ कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रविधिको विकासमा जोड दिएको बताए । ‘सकभर आफैँले प्रविधिको विकास गर्ने हो, नसके अरु देशबाट लिन्छौँ’, प्रधानमन्त्री ओलीले भने, ‘हामीले लगानी र प्रविधि आयातमा जोड दिएका छौँ ।’ सो अवसरमा प्रधानमन्त्री ओलीले कलङ्की कार्यालयकी सेवाग्राही दमन्ता ढुङ्गानालाई नक्शाको प्रकाशन पनि हस्तान्तरण गरे । सरकारले सवै क्षेत्रमा आधुनिकीकरणको विकास गर्न खोजेको स्पष्ट पार्दै उनले जमीनको उपभोग र कृषि क्षेत्रमा आत्मनिर्भर हुन जरुरी रहेको बताए । उत्पादकत्वमा जोड दिनुपर्ने जनाउँदै उनले ठूलो मात्रामा उत्पादन गरी आन्तरिक र अन्तरराष्ट्रिय बजार खोज्न सुझाव दिए । नेपाल माछा, मासु र अण्डामा आत्मनिर्भर बनेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सागसब्जी र खाद्यान्न उत्पादनमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका छन् । ‘यसमा आत्मनिर्भर बन्नका लागि हाम्रा आनीबानीमा सुधार गर्नुपर्छ’, उनले भने, ‘देशलाई खाद्य वस्तु निर्यात गर्ने अवस्थामा पु¥याउनुपर्छ ।’ सरकारले व्यापार घाटा घटाउँदै लगेको जनाउँदै प्रधानमन्त्री ओलीले कोभिड–१९ का कारण बाधा उत्पन्न भएको बताए । छिमेकी भारतमा कोरोना सङ्क्रमण ह्वात्तै बढेकाले त्यसको प्रत्यक्ष असर नेपालमा पनि पर्ने हुँदा सबैलाई त्यसप्रति सजग रहन उनले आग्रह गरे । ‘सीमामा सतर्कता बढाउनुपर्छ, क्षति कम गर्न सबैको प्रयास आवश्यक छ’, उनले भने । नेपाल अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रका लागि सिफारिस भएको प्रसङ्ग उल्लेख गर्दै उनले सन् २०३० सम्ममा दिगो विकासको लक्ष्य पूरा गर्ने अभियानमा सरकार लागिपरेको बताए । ‘क्लिन इनर्जी’ अभियान सञ्चालन गर्दै सरकारले विद्युतीय सवारी साधनको प्रयोगमा जोड दिएको उनले स्पष्ट पारे । कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले सेवाग्राहीले सास्ती खेप्नुपरेका कारण अनलाइन सेवामा जोड दिइएको बताइन् । ‘नापी र मालपोत कार्यालयमा सेवा लिन आउनेले दुःख पाउने गरेका छन्, सहज सेवा दिन हामीले यो सेवा शुरु गरेका हौँ’, उनले भनिन् । नापी विभागका महानिर्देशक प्रकाश जोशीले सेवा चुस्तदुरुस्त र प्रभावकारी बनाउन अनलाइन सेवाको शुरुआत गरिएको जनाउँदै चालु आर्थिक वर्षभित्र काठमाडौँ उपत्यका तथा आगामी आवदेखि देशभरका सबै मालपोत र नापी कार्यालयबाट सो सेवा उपलब्ध गराइने बताए । भूमि व्यवस्था मन्त्रालयका सचिव टेकनारायण पाण्डेले सो सेवा आजदेखि काठमाडौँका कलङ्की र डिल्लीबजार तथा भक्तपुर कार्यालयबाट आरम्भ गरिएको जानकारी दिए ।