शाखा सडकबाट आएको पहिराले मुख्य सडक अवरुद्ध

आइतबार, साउन २९, २०७९

काठमाडौँ,  । नारायणगढ–मुग्लिन सडकमा शाखा सडकबाट आएको पहिराका कारण ठाउँठाउँमा मुख्य सडक अवरुद्ध भइरहेको छ । मुख्य सडकसँग जोडिने गरी वा त्योभन्दा माथिल्लो भागमा स्थानीय तह तथा प्रदेश सरकारले शाखा सडक खन्ने गरेका छन् । स्थानीयस्तरमा प्रयोगका लागि बनाइएका ती सडक  खन्दा आएको पहिराले मुख्य सडक अवरुद्ध हुने गरेको हो । राष्ट्रिय राजमार्ग जोडेर शाखा सडक बनाउँदा कुनै समन्वय नहुने सडक विभागले जनाएको छ । 

    मुख्य सडकभन्दा झण्डै दुई सय ५० मिटर माथिबाट पहिरो खस्दा मौरी खोला पुलमा पुरिएर पटकपटक सडक अवरुद्ध भइरहेको छ । यो वर्षाका कारणले नारायणगढ–मुग्लिन सडकमा ठाउँठाउँमा सडक अवरुद्ध भइरहेको छ । अहिले मौरी खोला पुल र अरु दुई–तीन स्थानका सडकमा बाढी र पहिराका कारण पटकपटक सडक अवरुद्ध भइरहेको सडक विभागले जनाएको छ ।  नारायणगढ–मुग्लिन सडकमा मौरी खोला पुल र अरु दुई–तीन ठाउँमा मात्रै यस वर्ष सडक अवरुद्ध हुने समस्या भइरहेको छ ।  मौरी खोलामा झण्डै तीन–चार सय मिटर माथिबाट पहिरोले ढुङ्गा, गेग्रान ल्याउँदा पुल पुरिएको विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले बताए । पहिराले पुल पुरिँदा सडक पटकपटक अवरुद्ध भइरहेको र विभागले खुलाइरहेको उनले बताए । 

    मौरी खोला पुलभन्दा माथिल्लो भागमा एउटा कच्ची सडक निर्माण हुँदा त्यसका कारण यस वर्ष पुलमा बढी असर पुगेको उनले बताए। सो शाखा सडक आठ÷दश वर्ष पहिले निर्माण सुरु भएको थियो । त्यो सडकका कारण अझै बढी गेग्रान आइरहेको उनले बताए । पहिले स्थानीय सडक भए पनि यस वर्ष सडकलाई निर्वाचन क्षेत्र सडकमा पारेपछि अब विभागको कार्यक्षेत्रमा परेको उनको भनाइ छ । उनले भने  “सडकका कारण यस वर्ष पहिरो बढ्न गएको हो ।”

    विसं २०६० मा पनि सो स्थानमा पहिरो आएकाले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका को सहयोगमा ड्याम निर्माण गरिएको थियो । त्यसमा गत वर्ष क्षति भएपछि विभागले मर्मत गरे पनि यस वर्ष पहिराले पूर्णरुपमा पुरेको छ । माटो हटाएर पुल सफा गरिरहेको महानिर्देशक थापाले बताए । पहिरो खुलाउन सो स्थानमा पहिले तीन उपकरण राखिएकामा अहिले एक थप गरिएकोे उनले बताए । उनले भने , “पहिराको जानकारी प्रहरी, स्थानीयवासी कसैले देखेमा लोडर वा स्काभेटर अपरेटरलाई दिँदा तत्काल पहिरो हटाउन सुरु गरिँदै आएको छ ।”

    गत वर्ष वर्षाको समयमा धेरै ठाउँमा सडक अवरुद्ध हुने गरेको थियो । अहिले बाढी र पहिराका कारण हुने क्षतिको न्यूनीकरणका लागि विभिन्न संरचना बनाइएको सडक विभागले जनाएको छ । गत वर्षमा भित्ता काटेर पहिरो नियन्त्रणका लागि बनाइएको संरचना, नदीले कटान नगरोस् भनी निर्माण भएका पाइल र ठाउँठाउँमा वृक्षरोपण गर्दा पहिराको जोखिम केही कम भएको विभागका महानिर्देशक थापाले बताए । 

    सडकको भित्ता काटेपछि ठाउँठाउँमा विभिन्न प्रविधि प्रयोग गरेर बलियो बनाइएको उनले बताए  । भित्ताभरि प्वाल पारेर छ–आठ मिटर लम्बाइको रड छिराएर त्यसमाथि जाली लगाइ त्यसलाई स्थिर बनाइएको हो । ती संरचना निर्माण गरिएको स्थानमा अहिले पहिरो नगएको उनले बताए । उनले भने “ठाउँठाउँमा त्यो अहिले पनि देख्न सकिन्छ, कतै भने घाँस उम्रिसकेको छ ।” सो सडकमा गत वर्षमा नारायणी नदीले तलबाट तानेर सडक भत्कने गरेको महानिर्देशक थापाले बताए । अहिले ठाउँठाउँमा कङ्क्रिट ब्लक राखिएको छ । नारायणी किनारमा १७ किमीमा पाइल राखिएको उनले बताए । 

    सडकमा खाल्डा हुँदा माटो, ग्राभेलले पुर्ने र पकाएर राखेको अलकत्राले टाल्ने गरिएको छ । तीन÷चार महिना पहिलेदेखि अलकत्रा पकाएर बोरामा राखिने गरिएको महानिर्देशक थापाले बताए । विशेष केमिकलमा नयाँ प्रविधि प्रयोग गरेर पकाइएको अलकत्रा बोरामा राख्न मिल्ने र जहाँ खाल्डा भयो त्यहाँ टालिने उनले बताए । उनले भने, “धेरै बिग्रिएमा गर्न गाह्रो भए पनि ससाना खाल्डामा सकिन्छ ।”    स्थानीयस्तरमा जतासुकै शाखा सडक खोल्दा पहिरो आउँदा राजमार्ग अवरुद्ध हुने अवस्था आइरहेको महानिर्देशक थापाले बताए । पहिरो पन्छाउन पनि नजिकै विद्युत् र टेलिफोनको लाइन हुँदा समस्या रहेको उनले बताए । तार र खम्बा सडकभन्दा केही टाढा नभएर मुख्य सडकमै हुँदा डोजर, लोडर र स्काभेटर चलाउन नसकिने अवस्था रहेको छ । उनले भने, “नाङ्गो तारमा मेसिनले छुँदा पनि जोखिम छ ।” 

    अहिले पहिरो पन्छाउनभन्दा पनि जाम खुल्न बढी समय लाग्ने गरेको छ । सडकको अवरोध पन्छाएर खुलेपछि गाडी आठ÷नौ घण्टा रोकिनुपर्ने अवस्था रहेको महानिर्देशक थापाले बताए । तीन÷चार घण्टामा सडक खुले पनि अगाडि जाने गाडीको तछाडमछाडले गर्दा त्यो क्षेत्रमा जाम हट्न आठ÷नौ घण्टा लाग्ने गरेको उनले बताए । उनले भने “हामीले भनेपछि गृह मन्त्रालयबाट लेन अनुशासन कायम गराउन निर्देशन भए पनि पूर्णरुपमा पालना भइसकेको छैन ।”   विगतका वर्षमा विस्तार गरिएको नारायणगढ–मुग्लिन सडकमा हाल पुल निर्माणको काम भइरहेको छ । विगतमा कम चौडाइका पुल रहेकामा तिनलाई सडक जतिकै चौडाइ कायम गर्न पुरानो पुल भएको ठाउँसँगै नयाँ पुल निर्माण भइरहेको छ । सरकारले मुग्लिन–नारायणगढ, मुग्लिन–पोखरा र नारायणगढ–बुटवल सडक विस्तारसमेत अघि बढाइरहेको छ ।  रासस 


 

प्रकाशित मिति: आइतबार, साउन २९, २०७९  १३:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार