पूर्वराजा ज्ञानेन्द्र शाह पनि सहभागी हरिद्वारको कुम्भमेलामा सयौँ भक्तजन सङ्क्रमित

बिहीबार, वैशाख २, २०७८

नयाँदिल्ली । कुम्भमेलाका लागि ठूलो संख्यामा मानिसहरू भेला भएको भारतको हरिद्वारमा केही वरिष्ठ सन्तसहित एक हजारभन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । दुई महिनासम्म चल्ने उक्त मेलाको एउटा मुहूर्तमा मंगलबार ३० लाखभन्दा बढी श्रद्धालुले गङ्गास्नान गरेका थिए । लाखौं मानिसले बुधबार पनि पवित्र गङ्गा नदीमा स्नान गरेको अधिकारीहरूले बताएका छन् । भारतमा दैनिक कोरोनाभाइरस सङ्क्रमणको दर बढिरहेको भए पनि उक्त तीर्थस्थलमा ठूलो संख्यामा मानिसहरू भेला भएका हुन् । भारतमा गत वर्ष कोभिड महामारी सुरु भएपछि अहिलेसम्मकै सर्वाधिक दैनिक सङ्क्रमण पुष्टि भएको छ । बिहीवार बिहान भारत सरकारले २४ घण्टाको अवधिमा २ लाख ७३९ कोभिड देखिएको तथ्यांक सार्वजनिक गरेको छ । सो अवधिमा १ हजार ३८ सङ्क्रमितको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । महामारी फेरि उत्कर्षमा पुग्न लागेका बेला उक्त मेला आयोजना गर्न दिइएको भन्दै सरकारको आलोचना भएको छ ।

लाखौँले गरे गङ्गास्नान
स्थानीय अधिकारीहरूका अनुसार बुधबार दिउँसोसम्म नौ लाख श्रद्धालुले गङ्गास्नान गरिसकेका थिए । बुधबार यसपालिको सबैभन्दा राम्रो मुहूर्त भएको मानिएको थियो । हिन्दूहरू गङ्गा नदीलाई पवित्र मान्छन् । त्यसमा डुबुल्की मारेर स्नान गर्दा पाप नष्ट हुने र पुण्य प्राप्त हुने मान्यता राख्छन् ।

नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह पनि सहभागी
नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले मङ्गलबार गङ्गास्नान गरेका थिए । स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा प्रेषित केही सामग्रीमा उनले स्नान गर्न लागेको दृश्य देखिन्छ । सामाजिक सञ्जालमा ज्ञानेन्द्रले भारतीय सञ्चारमाध्यमलाई हरिद्वारबाटै प्रतिक्रिया दिएको भिडिओ पनि छ । नेपाली भाषामा बोल्दै उनले आफूले पहिला पनि हरिद्वारको भ्रमण गरेको तर यसपालि कुम्भमेलामा सहभागी हुन आएको बताएका छन् । पूर्वराजासँगै यात्रा गरिरहेका उनका सहयोगी फणिराज पाठकले ज्ञानेन्द्र बुधबार सडकमार्ग हुँदै दिल्ली फर्किएको जानकारी दिएका छन् । पाठकका अनुसार बिहीबार पूर्वराजाको दिल्लीमा कोरोनाभाइरस परीक्षण हुनेछ । उनी आइतवार नेपाल फर्किने योजनासहित हरिद्वार जान काठमाडौंबाट नयाँ दिल्ली उडेका थिए । हरिद्वारमा पूर्वराजा ज्ञानेन्द्रको केही साधुसन्तसँग भेटघाट पनि गरेका थिए । गङ्गाको तटमा ठूलो भिड जम्मा भएकाले सुरक्षा मापदण्ड पालन गराउन समस्या भएको प्रहरी अधिकारीहरूले बताएका छन् । उक्त मेलामा कोभिड–१९ को परीक्षणको नेतृत्व गरेका अधिकारीहरूले बताएअनुसार त्यो क्षेत्रबाट मंगलवार २०,००० हजार नमुना परीक्षण गरिएकोमा ११० जनामा सङ्क्रमण देखिएको थियो। सोमवार १८४ जना भक्तजनमा सङ्क्रमण देखिएको थियो । बिहीबार बिहानसम्म झन्डै १,३०० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भइसकेको छ । कुम्भमेलाका स्वास्थ्य अधिकारी डा. अर्जुन सेङ्गरले नौ वरिष्ठ धार्मिक नेतामा पनि सङ्क्रमण पुष्टि भएको बताए । चौधवटा हिन्दू समूहहरूको संघका अध्यक्ष नरेन्द्र गिरी पनि सङ्क्रमित भएका छन् । उनी अखिल भारतीय आयुर्वेदिक संस्थान हरिद्वारमा भर्ना भएका छन् । उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादव पनि सङ्क्रमित भएका छन् । उनले आइतबार मात्र हरिद्वार भ्रमण गरेका थिए र गिरीसहित वरिष्ठ सन्तहरूलाई भेटेका थिए । उक्त मेलामा भ्रमण नगरेका भए पनि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सङ्क्रमित भएका छन् । उत्तराखण्डका मुख्यमन्त्री तिरथसिंह रावतले आफूहरूले स्वास्थ्य मन्त्रालयको मापदण्ड पालन गरिरहेको र सङ्क्रमित निको हुने दर राम्रो रहेको बताए । सरकारले पहिले परीक्षणबाट कोरोनाभाइरस सङ्क्रमण नभएको पुष्टि भएका व्यक्तिलाई मात्र उक्त मेलामा सहभागी हुन दिने बताएको थियो । त्यस्तै त्यहाँ भौतिक दूरी कायम गरिने दाबी गरिएको थियो । तर त्यहाँ ती मापदण्डहरू पालना नभएका खबरहरू आएका छन् ।–बीबीसी
 

प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८  १५:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार