सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सरकारले घोषणा गरेको राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका– ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो । सङ्ग्रहालयमा अन्तर्राष्ट्रिय व्यक्तित्वका २८ कलाकृतिसहित करीब १०० सामग्री सङ्ग्रह गरिएको छ । यसको निर्माण कलाकार सरगम सम्राट पाख्रिनले गरेका हुन् । रुखको ठुटा र जराबाट बनेको सङ्ग्रहालय विश्वमै पहिलो भएको उनले दाबी गरे । सङ्ग्रहालय उद्घाटन समारोहमा वन विभागका महानिर्देशक मानबहादुर खड्काले यस किसिमको सङ्ग्रहालय अहिलेसम्म नेपालमा अन्यत्र नबनेको जानकारी दिए । सङ्ग्रहालयमा गौतमबुद्ध, महात्मा गान्धी, अलबर्ट आइन्स्टाइन, राइट ब्रदर्स, सर आइज्यक न्यूटन, माइकल फराडे, जेसस क्राइष्टलगायत व्यक्तिका तस्बिर काठका ठुटा र रुखका जरा एवं राँगो तथा खसीका हड्डी प्रयोग गरेर बनाइ सङ्ग्रहमा राखिएको छ । कार्यक्रममा महानिर्देशक खड्काले शहीद, निजामती, घुन्साजस्ता महत्वपूर्ण स्मारक निर्माण भइरहेको स्थलमा यस्ता सङ्ग्रहालयले नमूनास्थल बनाउन सहयोग गर्ने बताए । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा संस्कृतिक सङ्गठन(युनेस्को)का नेपाल राष्ट्रिय आयोगका निमित्त सहायक महासचिव डा बाबुराम अधिकारीले शहीद सङ्ग्रहालयसँगै युनेस्को सङ्ग्रहालय पनि निर्माण गर्न लागिएको बताए । युनेस्को सङ्ग्रहालयमा शिक्षा, विज्ञान र संस्कृतिलगायत विषयवस्तु समेटिने जानकारी पनि उनले दिए । गोकर्णमा युनेस्को ग्रामसँगै दक्षिण एशियाली अध्ययन केन्द्रसमेत निर्माण गर्न लागिएको छ । यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्न सिफारीस गरिएको उनले सुनाए । आगामी आर्थिक वर्षको बजेटमा अर्थ मन्त्रालयसँग रु ६२ करोड बजेट माग गरिएको जनाइएको छ । कार्यक्रममा शहीद स्मारक उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले सङ्ग्रहालय प्रवेशका लागि नेपाली आगन्तुकसँग रु २५, विदेशीसँग रु ५०, विद्यार्थी र सामुदायिक वनका सदस्यलाई रु १०, ज्येष्ठ नागरिक एवं फरक क्षमता भएका व्यक्तिका लागि निःशुल्क प्रवेश गराइने जानकारी दिए । शहीद स्मारकको कामको ७२ प्रतिशत भौतिक र ५८ प्रतिशत वित्तीय प्रगति भएको जानकारी उनले दिए । गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ, शिक्षक प्रकाश अधिकारी, सामुदायिक वनकी सचिव देवी बजगाईं, कलाकार पाख्रिनलगायतले फरक किसिमका सङ्ग्रहालयले देशको पहिचान गराउनुका साथै आन्तरिक एवं पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने विश्वस व्यक्त गरे ।