त्रिविका कक्षा अब भौतिक उपस्थितिमै

सोमबार, मंसिर १५, २०७७

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विद्यार्थीको भौतिक उपस्थितिमै अब उच्च शिक्षाका कक्षाहरू सञ्चालन गर्नेभएको छ । कोरोनाका कारण विश्वविद्यालयले सञ्चालन गरेको अनलाइन कक्षामा सबै विद्यार्थीको पहुँच स्थापित हुन नसकेर लाखौँ विद्यार्थी उच्च शिक्षाको नियमित अध्ययनबाट वञ्चित भएपछि विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने निचोडमा विश्वविद्यालय पुगेको हो ।

वार्षिक प्रणालीका विद्यार्थी समेट्दै
विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले मातहतका धेरै क्याम्पसबाट भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न सक्ने माग गरिएपछि आफूहरूले त्यसका लागि स्वीकृति दिएको जानकारी दिए । धेरैजसो काठमाडौँ उपत्यका बाहिरका क्याम्पसले अनुमति पाए कक्षा सञ्चालन गर्न सक्ने जनाएका थिए । जुम्ला, भोजपुरलगायतका धेरै स्थानबाट विश्वविद्यालयका पदाधिकारीलाई यस खालको माग आएको छ । खासगरी विश्वविद्यालय मातहतका स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने वार्षिक परीक्षा प्रणाली अन्तर्गतका विद्यार्थी अनलाइनमा जोडिन नसकेका कारण भौतिक रूपमा कक्षा सञ्चालन गर्ने कुरालाई प्राथमिकता दिनुपर्ने अवस्था रहेको जनाइएको छ । विश्वविद्यालयले वार्षिक परीक्षा प्रणालीको अध्ययन गर्ने स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीका लागि अनलाइन कक्षा सञ्चालन गर्नसकेको छैन ।

अनलाइन कक्षा पनि निरन्तर
विश्वविद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने निर्णय गरे पनि हाल सञ्चालित अनलाइन कक्षालाई समेत निरन्तरता दिने भएको छ । अब विश्वविद्यालयले दुवै मोडल (अनलाइन र भौतिक उपस्थिति) बाट कक्षा सञ्चालन गरिने शिक्षाध्यक्ष भुसालले बताए । सेमेस्टर प्रणालीमा अध्ययन गर्ने स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीको पठनपाठन अनलाइन माध्यमबाट भइरहेकाले त्यसलाई समेत निरन्तरता दिइने छ ।

अनुमति लिनुपर्ने
विश्वविद्यालय मातहतका क्याम्पसले कक्षा सञ्चालनका लागि स्थानीय तहसित अनुमति लिनुपर्ने भएको छ । कोरोना भाइरसको संक्रमणको अवस्थालाई विचार गरी स्थानीय तहबाट स्वीकृति लिएर कक्षा सञ्चालन गर्नुपर्ने निर्देशन विश्वविद्यालयले दिएको छ ।
कोरोनाको अवस्था जिल्ला र पालिकापिच्छे फरकफरक अवस्था हुने भएकाले स्थानीय तहसित अनुमति लिएर मात्रै कक्षा सञ्चालन गर्न भनिएको शिक्षाध्यक्ष भुसालले जानकारी दिए । 
राजधानीको पब्लिक युथ क्याम्पसका क्याम्पसले भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न विश्वविद्यालयबाट स्वीकृति लिइसकेको छ । उपत्यकाका अन्य क्याम्पसहरुले पनि विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सुरु गर्ने तयारी गरेका छन् । नेपाल पब्लिक क्याम्पससँघका अध्यक्ष एवं दक्षिण ललितपुरको जनभावना क्याम्पसका क्याम्पस प्रमुख शिवराज सञ्जेलले पनि आफ्नो क्याम्पसले पनि मंसिर १८ गतेदेखि विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सुरु गर्ने तयारी गरेको जानकारी दिए । 
 

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०७७  १५:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार