सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । कोभिड–१९ का कारण गल्छी–त्रिशूली–मैलुङग–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाअन्तर्गत चिनियाँ लगानीमा निर्माण हुने सडक ठप्प छ । स्याफ्रुबँेसी–रसुवागढी सडक खण्डमा निर्माणका लागि आएका चिनियाँ टोली गत आवमा आफ्नो देश गएपछि फर्किएर नआएको योजना कार्यालयले जनाएको छ । चिनियाँ टोली गत वर्ष आएको भए पनि त्यतिबेला निर्माणस्थल खाली नभएको योजना प्रमुख नारायणदत्त भण्डारीले बताए । उनका अनुसार विश्वव्यापी रूपमा फैलिरहेको कोभिडका कारणले फकिएका उनीहरू अहिले सम्पर्कमा छन् । उनले भने, ‘हामीले सो सडक खाली भयो काम गर्न आउन भनिरहेको छौँ, उनीहरू कहिले फर्किएर आउँछन् भन्ने टुङ्गो छैन ।’ गल्छीबाट चीनको सिमानामा पर्ने रसुवागढीसम्मको सडक निर्माण तीन वटा खण्डमा गर्ने योजना बनाइएको थियो । जसमध्ये नेपाल सरकारको लगानीमा निर्माण भइरहेको दुई खण्डमा भने निर्माणको काम भइरहेको छ । तेस्रो खण्ड स्याफ्रुबेँसीबाट रसुवगढीसम्म १७ किमी रहेको योजनाले जनाएको छ । यो खण्ड चीन सरकारको अनुदान सहयोगमा निर्माण हुनेछ । चीन सरकारले निर्माण गर्ने खण्डमा निर्माणस्थल खाली गराउने काम ८० प्रतिशत सकिएको योजनाले जनाएको छ । सो स्थानमा विद्युत्को पोल हटाइरहेको र घर भत्काउने काम भइरहेको छ । जग्गा प्राप्ति गर्न अब धेरै बाँकी नभएको प्रमुख भण्डारीले बताए । उनले भने, ‘उनीहरू फर्किएमा काम शुरु गरिहाल्न सक्छन्, निर्माणस्थलको समस्या छैन ।’ तीन खण्डमध्ये भूगोलका हिसाबले सबैभन्दा कठीन दोस्रो खण्ड रहेको योजनाले जनाएको छ । सरकारले विसं. २०८० सम्म सडक निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । विसं २०७२ को भूकम्पमा चीनसँग जोड्ने नाका तातोपानीमा संरचना भत्किएपछि सो सडक निर्माण शुरु गर्ने योजना बनाएको थियो । यो सडक सङ्घीय राजधानी काठमाडौँलाई चीनसँग जोड्ने सबैभन्दा छोटो सडक हुनेछ । दुई वर्षमा सडक सम्पन्न गर्ने लक्ष्य लिइएको भए पनि जग्गा प्राप्ति गर्न समय लागेको थियो । अहिले जग्गा प्राप्तिको समस्या हल भइसकेकाले ठूलो समस्या छैन । सोही सडकमा सुरुङमार्ग निर्माणका लागिसमेत चिनियाँ टोलीले अध्ययन शुरु गरेको थियो । सरकारले पनि सो सडकमा सुरुङमार्ग निर्माणमा चासो देखाउँदै आएको छ ।