सोसल मिडिया
Contact Us
युनिकोड
बेइजिङ । चीनमा प्रत्यारोपणका लागि चाहिने अङ्ग कालोबजारमा किन्न पाइन्छ । दुर्घटनामा परेर मृत्यु भएका मानिसको शरीरबाट अवैधानिक रूपमा अङ्ग संकलन गर्ने ६ जनाले जेल सजाय पाएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त गिरोहमा चिकित्सकहरू पनि थिए । अङ्ग चोर्ने गिरोहले मृतकका परिवारजनलाई वैधानिक रूपमै अङ्गदान गरिएको भ्रममा पाथ्र्याे । सन् २०१७ देखि २०१८ सम्म उक्त गिरोहले आन्हुई प्रान्तस्थित एउटा अस्पतालबाट ११ जनाको शरीरबाट कलेजो र मिर्गाैला चोरेको थियो । चीनमा प्रत्यारोपणका लागि आवश्यक अङ्गको ठूलो माग छ । तर दानबाट उक्त माग पूरा हुन गाह्रो छ ।
कसरी चोरिन्थ्यो अङ्ग ? स्थानीय सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार उक्त गिरोहमा चार उच्चपदस्थ चिकित्सकहरू थिए । तीमध्ये केही चिकित्सक अस्पतालहरूमा अङ्ग खोज्ने प्रक्रियाका लागि काम गर्थे । अस्पतालमा ल्याइएका कार दुर्घटनाका घाइते र मस्तिष्कमा रगत जमेर मृत्यु भएका बिरामी उनीहरूको तारोमा पर्थे । उक्त अस्पतालको सघन उपचार एकाइका प्रमुख याङ सुशुनले बिरामीका आफन्तलाई अङदान गर्न इच्छुक भए नभएको सोध्थे । परिवारजनले सहमति दिँदै हस्ताक्षर गरिदिन्थे । तर त्यसका लागि उनीहरूलाई नक्कली कागजपत्र दिइन्थ्यो । मृतकको शरीरलाई मध्यराति बाहिर निकालेर एम्बुलेन्सजस्तो सवारीसाधनमा राखी अङ्ग निकालिन्थ्यो । त्यसपछि उक्त गिरोहले ती अङ्गहरू प्रत्यारोपणको पर्खाइमा बसेका व्यक्ति वा अस्पताललाई गोप्य रूपमा बेच्थ्यो ।
कसरी पत्ता लाग्यो अपराध ? एक मृतकका छोरालाई शङ्का लागेपछि उक्त गिरोहको कुकृत्य पत्ता लागेको थियो । सन् २०१८ मा आफ्नी आमाको मृत्यु भएको केही महिनापछि शि नामक ती व्यक्तिले अङ्गदानका लागि सहमति दिँदा आफ्नो परिवारलाई दिइएको कागजपत्र फेरि हेरे । फारममा उनले खाली ठाउँ देखे र उनलाई अनियमितता भए जस्तो लाग्यो । त्यसपछि उनले आफ्नी आमाको अङ्गदानको अभिलेख सरकारी निकायसँग नभएको पत्ता लगाए । एउटा स्थानीय सञ्चारमाध्यमलाई उनले बताएअनुसार त्यसपछि डा. याङलाई त्यसबारे सोध्दा आफूलाई ‘मौन बस्न’ ठूलो रकमको लोभ देखाइयो । ‘त्यतिबेला गलत कुरा भएको रहेछ भनेर म निश्चित भएँ’ शिले भने । त्यसबारे उनले तत्कालै सरकारी अधिकारीहरूलाई सूचित गरे । अङ्ग चोरी र तस्करी गर्ने गिरोहका छ जनालाई जुलाई महिनामा ‘नियतवश शव नष्ट पारेको’ अभियोगमा सजाय सुनाइएको थियो । उनीहरूले १० देखि २८ महिनासम्म कारागरामा बस्नुपर्नेछ । शिले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिएपछि उक्त घटनाले अहिले चर्चा पाएको हो ।
चीनमा अङ्ग कसरी संकलन हुन्छ ? चीनमा बढ्दो मागका कारण धेरै वर्ष मृत्युदण्ड दिइएका मानिसबाट अङ्ग संकलन गरियो । तर त्यसको संसारभरि आलोचना भयो । सन् २०१५ मा उक्त चलन रोकियो । अहिले चीनमा स्वेच्छाले दान दिइएको अङ्ग प्रत्यारोपण गरिन्छ । चीनमा अङ्गदान दिने दर बढिरहेको भए पनि उक्त दर अरू देशमा भन्दा कम छ । स्पेनमा १० लाख मानिसमध्ये ४९ जनाले अङ्गदान दिन्छन् भने चीनमा सरदर ४.४ जनाले त्यसो गर्छन् । सन् २०१५ मा बीबीसीले चीनमा अङ्गको कालोबजार मौलाएको र तस्करहरूले अनलाइन माध्यबाट कारोबार गरेको विषयमा समाचार प्रकाशित गरेको थियो ।–बीबीसी