कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धनमा जानुपर्छ : शेखर कोइराला

शनिबार, असार ३२, २०७९

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सङ्घीय र प्रादेशिक निर्वाचनमा कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धनमा जानुपर्ने बताएका छन् ।  नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धनमा कसरी जाने भन्ने विषयमा छलफल जारी रहेको बताए । उनले भने, “गठबन्धनमा कसरी जाने भन्ने विषयमा छलफल भइरहेको छ, गठबन्धन गर्दै गर्दा कांग्रेसलाई कमभन्दा कम क्षति हुने गरी जानुपर्छ ।” 
स्थानीय तहको निर्वाचनमा आफ्ना कार्यकर्ताभन्दा पनि मतदाता कति हुन् भन्ने बुझ्न कठिन भएको उनले बताए । उनले भने, “स्थानीय निर्वाचनमा हामीले रुखमा, हसिया हथौडामा, कलममा, छातामा मतदान गर्न भन्यौँ, तर आफ्ना मतदाता कति हुन् भन्ने बुझ्न सकिएन ।”
फरक प्रसङ्गमा उनले नेपाली कांग्रेस कुनै समूहको पार्टी नभएको बताए । उनले भने, “कांग्रेस विधिविधानअनुसार हिँड्नुपर्छ ।” पार्टी सभापतिले सबैलाई मिलाएर हिँडाउनुहुन्छ भन्ने चाहना आफ्नो रहेको उनले बताए । आफू भागबण्डाका पक्षमा नरहेको जनाउँदै उहाँले पार्टी वैधानिकरुपमा चलोस् भन्ने रहेको जिकिर गरे । 
आफूसँग विचार मिल्ने साथीसँग छलफल गर्दा भाग खोज्यो भन्नु हल्ला रहेको उनको भनाइ थियो । कांग्रेस कम्युनिष्ट प्रवृतिबाट जान नहुने भन्दै उनले सरकार र सभापतिले गरेका नकारात्मक कुराको खण्डन गर्दै पार्टी बलियो बनाएर लैजानुपर्ने बताए । कांग्रेसको नेतृत्वमा सरकार छ भन्दैमा सरकारले गरेका गलत कामको खण्डन गर्नु हुँदैन भन्ने नरहेको उनको भनाइ थियो ।

‘नेपाललाई श्रीलङ्का हुन नदिन भ्रष्टाचार निर्मूल गर्नुपर्छ’ 
केन्द्रीय सदस्य डा कोइरालाले नेपाललाई श्रीलङ्का हुनबाट जोगाउन भ्रष्टाचार निर्मूल गर्नुपर्नेमा जोड दिएका छन् । सबैले भ्रष्टाचार गर्दैनौँ भनेर प्रतिबद्ध भएको अवस्थामा मुलुक श्रीलङ्का हुनबाट जोगिने उनको भनाइ थियो। 
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य डा कोइरालाले भने, “हाम्रा नेतृत्वहरु अहिले पनि के नेपाल श्रीलङ्का जस्तै हुन्छ भन्दै हिँडेका छन् तर सुशासन दिन्छौँ, पारदर्शिता अपनाउँछौँ, भ्रष्टाचार गर्दैनौँ भन्नुपर्छ । यति गर्न हामी श्रीलङ्का बन्दैनौँ ।” देश अप्ठ्यारो परिस्थितिबाट भने अगाडि बढिरहेकोे छ  तर नेतृत्वहरुले बुझेर पनि बुझ पचाएका टिप्पणी उनले गरे । 
“नेपाल श्रीलङ्का बन्न लागेकोप्रति सबै नेपालीलाई चिन्ता छ”, नेता डा काइरालाले भने, “सबै नेपालीले कम्मर कसेर अठोट गरे अहिलेको अवस्थाबाट पार लगाउन सकिन्छ ।” भरतपुर अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले लेखेको  ‘लय छुटेको समय’ पुस्तक विमोचन गर्दै उनले आगामी निर्वाचनमा कांग्रेसको सिद्धान्त र विचारलाई कायम गर्दै कम क्षति हुनेगरी अघि बढ्नुपर्नेमा जोड दिए । 
पुस्तकका लेखक प्राडा पौडेलले पुस्तकभित्र कथा, कविता, संस्मरणसँगै बिरामी र चिकित्सकको भोगाइहरु समावेश गरिएको बताए । पचास प्रतिशतभन्दा बढी रोगको उपचार समाजमै भएको उल्लेख गर्दै उनले बिरामीको उपचार कसरी हुन्छ, उपचार गर्दा के कुरामा ध्यान दिनुपर्छ भन्ने विषयलाई समाहित गर्दै डाक्टरको व्यथा भन्नाका लागि पनि पुस्तक लेखेको बताउनुभयो । उक्त पुस्तक साङ्ग्रिला बुक्सले प्रकाशन गरेको हो । 

प्रकाशित मिति: शनिबार, असार ३२, २०७९  १६:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार