सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल पत्रकार महासंघको बुधबार सम्पन्न मतगणना अन्तिम चरणमा पुगेको छ । मतगणनाको अन्तिम नतिजा नआउँदै विपुल पोखरेल प्यानलले विजयोत्सव मनाएको छ । शनिबार पत्रकार महासंघ परिसरमा भेला भएको पोखरेल प्यानलले मतान्तर निकै फराकिलो भएकाले जित निश्चित भएको भन्दै खुसीयाली मनाउँदै अविरजात्रा गरेको छ । नेपाल पत्रकार महासंघमा एसोसिएटतर्फ केन्द्रीय सदस्यमा निर्वाचित विकास कार्कीले मतान्तर निकै फराकिलो भएकोले विजयोत्सव गरिएको जानकारी दिए । उनले आफ्नो फेसबुक पेजमा अविर जात्राको फोटो राख्दै महासंघको पदाधिकारी निर्वाचित सबैलाई बधाई भनेका छन् ।
निर्वाचन समितिले भने विजेताको औपचारिक घोषणा गरिसकेको छैन । मुलुक संघीय संरचनामा गएपछि महासंघको नेतृत्व पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन गरिएको हो । बुधबार महासंघको नयाँ नेतृत्व चयनका लागि देशभर मतदान भएको थियो । महासंघको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार बढी सदस्य मतदान प्रक्रियामा सहभागी थिए । केन्द्रीय समितिको ४९ पदका लागि १५२ को उम्मेदवारी परेको थियो भने केन्द्रीय समितिको अध्यक्षमा विपुल पोखरेल र निर्मला शर्माले प्यानलसहित उम्मेदवारी परेको थियो । यस्तै गजेन्द्र सिंह बुढाथोकी पनि अध्यक्षको प्रत्यासी रहेका थिए । महासंघका जिल्ला शाखा ७७, प्रतिष्ठान शाखा ४२, एसोसिएट सदस्य ११, वैदेशिक शाखा नौ, प्रदेश परिषद् १०, प्रदेश समिति १०, केन्द्रीय परिषद् र केन्द्रीय समिति रहेका छन् । महासंघको केन्द्रीय समिति ४९ सदस्यीय रहेको छ भने प्रदेश समिति २१ सदस्यीय रहने विधानको प्रावधान छ । जिल्ला तथा प्रतिष्ठान शाखा भने सदस्य संख्याअनुसार रहने व्यवस्था छ ।