प्लाष्टिक झोला निषेध

शुक्रबार, असार ३१, २०७९

कञ्चनपुर । बेलौरी नगरपालिकाले पोलिथिन ब्याग (प्लाष्टिक झोला) प्रयोग गर्न निषेध गरेको छ । आउँदा साउन १ गतेदेखि लागू हुने गरी नगर क्षेत्रमा प्लाष्टिक झोला प्रयोगमा प्रतिवन्ध लगाउन लागिएको हो ।
असार १० गते सम्पन्न नगरपालिकाको नवौँ नगरसभाले गरेको निर्णयअनुसार साउन १ देखि ‘पोलिथिन ब्याग’ प्रयोग निषेध गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशीला लेखकले बताए । “पोलिथिन ब्याग पूर्णरुपमा निरुत्साहित गरी नगरपालिकालाई स्वच्छ, सफा एवं वातावरण मैत्री स्थानीय तह बनाउनका लागि नगरवासीमा अनुरोध गरेका छौँ”, उनले भने, “यस कार्यका लागि सबैको साथ र सहयोगको अपेक्षा गरेका छौँ ।”
नगर उपप्रमुख जोगराज चौधरीले बजार क्षेत्रमा प्लाष्टिकजन्य फोहरका कारण व्यवस्थापनमा चुनौती देखिएको बताए ।
“दुई पटक फोहर विर्सजनस्थलको खोजी गर्दा फेला पार्न सकेका छैनौँ”, उनले भने, “प्लाष्टिकजन्य फोहरले पार्ने वातावरणीय प्रभावनै फोहर व्यवस्थापनस्थल नपाइनु मुख्य कारण देखिएको छ ।” “प्लाष्टिक ब्याग निषेध गरिएपछि फोहर व्यवस्थापनमा सहजता हुन्छ”, उनले भने, प्लाष्टिकको अव्यवस्थित विर्सजनबाट वातावरणीय प्रभाव पर्नुका साथै जग्गाको उर्बरा शक्ति घटने हुन्छ ।”
उनका अनुसार नगरपालिकामा प्लाष्टिक झोलाबाहेकका वातावरणमैत्री वैकल्पिक झोलाको उत्पादन तथा प्रयोग गर्नका लागि सरोकारवाला तथा सर्वसाधारणको जनचेतना अभिवृद्धि गर्ने किसिमका कार्यक्रमसमेत सञ्चालन गरिने छन् ।
“नगरपालिकालाई प्लाष्टिकमुक्त नगरपालिका बनाउन चाहेका छौँ”, उनले भने, “प्लाष्टिक झोला जलाउँदा मानव स्वास्थ्यका लागि हानिकारक ग्यास उत्सर्जन हुन्छ ।
प्लाष्टिक जलाउँदा उत्सर्जन हुने ग्यासले ओजोन तहको विनास गर्नुका साथै जलवायु परिवर्तनमा पनि प्रतिकूल असर पर्छ । जसका कारण मानव तथा जीवजन्तुको स्वास्थ्य सेवामा नकारात्मक असर पर्दछ ।” चालिस माइक्रोनभन्दा पातलो  प्लाष्टिकको उत्पादन, आयात बिक्री वितरा र प्रयोगमा नीतिगत प्रतिबन्ध यसअघिनै लगाइसकिएको छ ।
सर्वोच्च अदालतको २०७८ साउन १८ मा नेपाल सरकारले घोषणा गरेको प्लाष्टिक प्रतिबन्धलाई प्रभावकारीरुपमा पालना गराउन कार्यान्वयनयोग्य कार्ययोजना तयार गरी प्लाष्टिक झोलाको उत्पादन आयात बिक्री वितरण र प्रयोगमा देशभर प्रतिबन्ध लगाउन आदेश जारी गरेको थियो ।
नेपालको संविधानको धारा ३० ले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ्य वातावरणमा बाँच्न पाउने हकलाई मौलिक हकको रुपमा स्वीकार गरेको छ । राष्ट्रिय वातावरण नीति २०७६ बमोजिम प्रदूषणजन्य प्लाष्टिकको उपयोगलाई वैकल्पिक वातावरणमैत्री माध्यमबाट प्रतिस्थापन गर्ने रणनीति तथा कार्यनीति अवलम्बन गरेको छ ।
 प्लाष्टिक झोला प्रतिबन्धसम्बन्धी कार्ययोजना २०७८ अनुसार प्लाष्टिक झोला टुक्रिएर माइक्रो प्लाष्टिकमा रुपान्तरित हुँदा वातावरण प्रदूषित हुने गरेको छ । प्लाष्टिक झोलामा जलचर अल्झेर मृत्युको कारक बन्ने गर्दछ । प्लाष्टिक झोला टुक्रिएर हरित गृह ग्यास उत्सर्जन हुन्छ । झोला बाल्दा वायुमण्डलमा डाइअक्सिन, फयुरानजस्ता विषालु ग्यास उत्सर्जित हुन्छन् । प्लाष्टिक झोलामा जैविक फोहर हालेर फाल्दा यस्ता फोहर कुहिएर वातवरणमा मिल्न जान नपााउने भएकाले फोहर व्यवस्थापनमा समस्या हुने गर्दछ ।
प्लाष्टिकको झोला जताततै फाल्दा हावासँगै उडेर जाँदा ठाउँठाउँमा फोहर देखिनुका साथै पानीको मुहानमा जम्मा हुन गई पानीको व्यवस्थापनमा समस्या आउने गरेको छ । कार्ययोजनाअनुसार नगरपालिकाका उपप्रमुखको संयोजकत्वमा पाँच सदस्यीय प्लाष्टिक झोला नियमन तथा नियन्त्रण गर्ने प्रयोजनका लागि अनुगमन समिति गठन गर्नसक्ने प्रावधानसमेत राखिएको छ । प्लाष्टिक झोला निषेध गर्ने बेलौरी सुदूरपश्चिम प्रदेशकै पहिलो नगरपालिका भएको छ ।–रासस

 

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  १२:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार