प्रदेश विश्वविद्यालय स्थापनाका लागि प्रक्रिया सुरू

शुक्रबार, असार ३१, २०७९

राँझा । बाँकेको खजुरामा लुम्बिनी प्रदेश विश्वविद्यालय स्थापनाका लागि प्रक्रिया सुरु भएको छ ।    विश्वविद्यालयका लागि खजुरा गाउँपालिकाले वडानं ८ रनियापुरमा छुट्याएको ११०बिघा जमिन बिहीबार प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीसहितको टोलीले अवलोकन गरेको थियो । उपाध्यक्ष क्षेत्रीले विश्वविद्यालयका लागि खजुराको जग्गा उपयुक्त भएको प्रतिक्रिया दिनुभएको गाउँपालिकाका अध्यक्ष डम्बर विकले जानकारी दिए । उनका अनुसार उक्त टोलीले विश्वविद्यालयका लागि आवश्यक पर्ने ब्लक निर्माण गर्ने सम्भाव्यस्थल समेत अवलोकन गरेको थियो । 
तत्कालै विश्वविद्यालयको दैनिक कार्य सञ्चालनका लागि जनक शिक्षा केन्द्रको छापाखाना राख्नका लागि निर्माण भएको भवनमा विश्व विद्यालयको प्रशासनिक कार्यालय स्थापना गर्ने प्रस्तावसमेत टोलीले गरेको छ । सो भवनमा तत्कालका लागि गाउँपालिकाले आवश्यक पूर्वाधार बनाइदिने र जनक शिक्षासँग अस्थायी कार्यालय राख्न सहमतिका लागि पत्राचार गर्ने निर्णय भएको  अध्यक्ष विकले बताए । 
विश्वविद्यालयका लागि प्रदेश सरकारले १०० बिघा जग्गा आवश्यक पर्ने बताए पनि उक्त गाउँपालिकाले ११० बिघा जग्गा छुट्याएर हक हस्तान्तरण गर्न सिफारिस गरिसकेको छ ।
प्रदेश सरकारको नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०७९-८० मा प्रदेश विश्वविद्यालयको काम थाल्ने घोषणा गरेको थियो भने यसअघिको सरकारले पनि नीति तथा कार्यक्रममा पार्नाका साथै विश्व विद्यालयका लागि बजेट विनियोजन गरे पनि कार्यविधि नबनेका कारण फ्रिज भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  १२:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार