सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नुअघि शुक्रबार बिहान पाँचदलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा बसेको छ । गठबन्धनको बैठकमा प्रचण्डले आजदेखि आफूले गर्न लागेको भारत भ्रमणको विषयमा जानकारी गराएका थिए । माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ आज भारत भ्रमणमा जाँदैछन् । उनी भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा तीन दिने भ्रमणमा जान लागेका हुन् । दिल्लीमा रहँदा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । बालुवाटार बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललगायतका नेता सहभागी थिए । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बालुवाटारमा बैठकमा ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक’बारे पनि छलफल भएको थियो । सरकारले आज शुक्बार दिउँसो १ बजे बस्ने संसद बैठकमा संक्रमणकालीन न्यायसँग जोडिएको कानुन संशोधनको विधेयक पेस गर्ने तयारी गरेको छ । पहिले द्वन्द्वकालीन घटनाको छानबिन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग छन् । दुवै निकाय ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१’ अनुसार सञ्चालित भए पनि त्यो कानुन संशोधन हुनुपर्ने पीडितहरुले माग गर्दै आएका छन् । सर्वोच्च अदालतले समेत कानुन संशोधन गर्नु भनी १४ फागुन २०७१ मा सरकारका नाममा आदेश दिएको थियो ।