सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले पानी वितरणका क्रममा समस्या देखिएका स्थानमा तत्काल मर्मत गर्न थालेको छ । समस्या समाधनका लागि समूह नै परिचालन गरेको छ । अहिले पुरानो प्रणालीमार्फत पानी वितरण भइरहेकाले विभिन्न स्थानमा चुहावट देखिरहेको लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले बताए । मर्मतका लागि सडक विभाग र महानगरपालिकाले चाँडो स्वीकृति दिँदा समस्या तत्काल समाधान गर्न सकिनेछ । लिमिटेडले बिहानदेखि साँझसम्म पानी वितरण गर्ने र रातमा मर्मत गरिरहेको छ । अहिले दैनिक साढे आठ करोड लिटर पानी आइरहेकामा चक्रपथभित्र अधिकांश स्थानमा वितरण गरिरहेको छ । अहिले कतिपय घरमा राम्रोसँग पानी आएको त कुनैमा राम्रो नआएको गुनासो आइरहेको प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए । पानी नआएको ठाउँमा सुधारको उपाय लिमिटेडले खोजिरहेको छ । मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी आउनेछ । अहिले सुन्दरीजलस्थित दुई प्रशोधन केन्द्रमध्ये एउटा केन्द्रमार्फत साढे आठ करोड लिटर पानी ल्याइएको छ । अर्काे प्रशोधन केन्द्र परीक्षण गरेर सञ्चालन गर्दा उपत्यकामा दैनिक १७ करोड लिटर पानी आउनेछ । मेलम्ची खोलाको पानी कीर्तिपुर, ठिमी र भक्तपुरमा पनि जाने छ । कतिपय स्थानमा बाँकी संरचना निर्माण सकाएर र दैनिक १७ करोड लिटर पानी आएपछि ती स्थानमा पनि पानी जाने छ । लिमिटेडले अहिलेसम्म महाँकाल चौर, अनामनगर, मीनभवन, खुमलटार, पानीपोखरी, महाराजगञ्ज र बालाजु गरी सात पोखरीबाट पानी वितरण गरिरहेको छ । तीमध्ये खुमलटारस्थित पोखरी मेलम्चीको पानी वितरणका लागि अहिले निर्माण भएको हो । बाँकी छ पोखरी पहिलेबाट नै वितरण हुँदै आएका पोखरी हुन् । अहिलेसम्म लिमिटेडले पुरानो पोखरीबाट पुरानै पाइप प्रणालीमा पानी वितरण गरिरहँदा आयोजना कार्यान्वयन निर्देशनालयले नयाँ पोखरी र पाइपलाइनको परीक्षणको काम गरिरहेको छ ।