सोसल मिडिया
Contact Us
युनिकोड
लण्डन । महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको बकिङ्घम रादरबारले घोषणा गरेको छ । राजकुमार फिलिपले राजकुमारी एलिजाबेथसँग सन् १९४७ मा बिहे गरेका थिए । त्यो एलिजाबेथले राजगद्दी सम्हाल्नु पाँच वर्ष अगाडि थियो । बकिङ्घम राजदरबारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गहिरो दुःखका साथ महारानीले उनका प्रिय श्रीमान् ड्यूक अफ एडिनबरा राजकुमार फिलिपको मृत्यु भएको घोषणा गरेकी छन् ।’ ‘महामहिमको शान्तिपूर्वक आज बिहान विन्डसर क्यासलमा निधन भएको छ’ बकिङ्घम राजदरबारले भनेको छ । गत महिना द ड्यूक अफ एडिनबरा एक महिना अस्पताल बसेर डिस्चार्ज भएका थिए । राजकुमार फिलिप र रानीका चार सन्तान, आठ नातिनातिनी छन् । १० जना पनाति पनातिनी छन् । उनीहरूका छोरा प्रीन्स अफ वेल्स राजकुमार चाल्र्स सन् १९४८ मा जन्मेका थिए । त्यसपछि उनकी बहिनी राजकुमारी एनी सन् १९५० जन्मेकी थिइन्, द ड्यूक अफ योर्क राजकुमार एन्ड्रयू सन् १९६० मा जन्मेका थिए र द अर्ल अफ वेसेक्स प्रीन्स एडवार्ड सन् १९६४ मा जन्मेका थिए । प्रिन्स फिलिप ग्रीक आइल्यान्ड अफ कोर्फुमा १० जुन सन् १९२१ मा जन्मिएका थिए । उनी हेलेन्सका राजा जोर्ज प्रथमका कान्छा छोरा थिए । उनकी आमा राजकुमारी एलिस लर्ड लुइ माउन्टब्याटन र रानी भिक्टोरियाका पनातिनी थिइन् ।