सोसल मिडिया
Contact Us
युनिकोड
बर्लिन । प्राथमिकता समूहमा नभएको भए पनि जनवरीमा कोरोनाभाइरस खोप लगाएको पुष्टि भएपछि जर्मनीका एक मेयरलाई उनको आफ्नै नगर काउन्सिलले निलम्बन गरेको छ । जर्मनीको मध्य शहर हेलेको मेयर बनार्ड वाइगान्डलाई अस्थायी रूपमा निलम्बन गर्न नगरका ३४ परिषद् सदस्यहरूले मतदान गरेपछि उनी जिम्मेवारीबाट अनिस्चित कालका लागि निलम्बित भएका हुन् । ६४ वर्षीय वार्यगान्डले यसअघि नै जनवरीमा आफूले खोप लिएको स्वीकार गरेका थिए । उक्त समयमा समुदायका जेष्ठ सदस्यलाई खोप दिने क्रममा उनले पनि खोप लगाएका थिए । अन्य सहरका कर्मचारी र धेरै परिषद् सदस्यहरूले पनि उनीहरूको पालो आउनुभन्दा पहिले खोप लिएका थिए । उनीहरूलाई पनि कारबाही गरिने स्थानीय प्रशासनले जनाएको छ । निलम्बनमा परेका नगर प्रमुखले आफूले अवैध वा अनैतिक काम नगरेका तर खोपकोे अत्यधिक मात्रा खेर जानबाट जोगाउन आफू लगायत केही व्यक्तिले खोप लगाएको बताए । ‘अहिले आएर मेरो निर्णयको आलोचना गर्न सजिलो छ । तर यो कुनै पनि हिसाबले अवैधानिक थिएन’, उनले मार्चमा एक विज्ञप्ति जारी गरी जानकारी दिएका थिए । उनले भने, ‘मेरा विरोधीहरूले मेरो राजनीतिक भविष्यमाथि दाग लगाउन उक्त आरोप लगाएका र यो निर्णय गलत छ ।’– एएफपी