२४ घण्टासम्म ‘ड्युटीका चिकित्सक राउण्ड’मा नजाँदा भरतपुर अस्पतालका बिरामीलाई सास्ती 

आइतबार, असार २६, २०७९

चितवन । चिकित्सकले अस्पतालमा भर्ना भएका बिरामीको स्वास्थ्य अवस्थाका आधारमा २४ सै घण्टा सेवा दिनुपर्छ र खटिनुपर्छ । विडाम्बना यहाँस्थित भरतपुर अस्पतालको पुरुष र महिला मेडिकल वार्डमा भर्ना भएका बिरामीले शनिबार विहानदेखि चिकित्सकको सेवा लिन पाएका छैनन् । अहिले अस्पतालको पुरुष मेडिकल वार्डमा १६ र महिला मेडिकल वार्डमा  २४ बिरामी  छन् । 

पुरुष मेडिकल वार्डका १४ नम्बर शय्यामा रहेका ५५ वर्षीय श्याम सार्कीले भने ,“ डाक्टर साहेब नआनुभएको २४ घण्टा भयो ।” उसो त अस्पतालको क्याबिनमा भर्ना भएका बिरामीले शनिबार बिहानदेखि चिकित्सकसंग भेट्न पाएका छैनन् । 
 
क्याबिनका नर्ससँग ‘चिकित्सकको रोस्र्टर’समेत छैन ।  बिहान वार्डमा पुग्दा सबै बिरामी चिकित्सकको पर्खाइमा थिए । वृृद्धवृद्धा वार्डका १० बिरामी पनि चिकित्सक ‘कहिले आउलान्’ भनेर प्रतिक्षा गरिरहेका देखिन्थे । आक्कल झुक्कल आउने ‘मेडिकल अफिसर’ र ‘आवासीय चिकित्सक’को सुझाव अनुसार बिरामीलाई औषधि दिने गरेको नर्सहरूले बताए । 
महिला मेडिकल वार्डका नर्सहरुले दिएको जानकारीअनुसार शनिबार साँझको पालो डा ऋतुराज तिवारीको हो । बिरामीका आफन्तका अनुसार शनिबार बिहानको राउण्ड सिध्याएपछि एकजना चिकित्कसकले पनि वार्डमा ‘राउण्ड’ लगाएनन् ।  उनीहरु भन्दैथिए, “कम्तीमा चिकित्सकले हेरिदिएको भए, मन सन्तोष हुन्थ्यो ।” यसो त चिकित्सकले बिरामी हेरेपछि आधा निको यसै हुने उनीहरूको बुझाइ छ । 
शनिबार दिउँसो भर्ना भएका बिरामीले चिकित्सकीय परामर्श आज बिहानसम्म पाउन सकेका छैनन् । अस्पतालका २० क्याबिन सहित मेडिकल वार्डका सबै शय्यामा बिरामी छन् । 
चितवनसहित २१ जिल्लाबाट विपन्न बिरामी यहाँ उपचार गर्न आउने गर्दछन् । आफ्नो ड्युटीमा नगएका डा तिवारीले टेलिफोनमा भने, “गल्ती भयो, अब म गर्दिनँ ।” यसअघि पनि डा तिवारी राउण्डमा नजाने गरेको नर्सहरूको गुनासो छ । 
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले राउण्डमा नजाने चिकित्सकलाई कारबाही गर्ने बताए । उनले भने, “तालिकाअनुसार आफ्नो जिम्मेवारी पूरा नगर्ने चिकित्सकलाई तत्काल कारबाही हुन्छ ।” 
भरतपुर अस्पताल सङ्घीय अस्पताल भित्र पर्छ  । पछिल्ला दिनमा अस्पताल सुधारोन्मुख भए पनि केही चिकित्सकको अटेरीका कारण बिरामीले दुःख पाउने गरेका छन् । 
प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले गुनासो आफूले सुनेलगत्तै मेडिकल सुपरिटेण्डेन्टसँग यस विषयमा कुरा भएको बताए । उनले अस्पताल विकास समितिको कर्मचारी भए समितिले र निजामतीको भए प्रशासनमार्फत कारबाहीका लागि सिफारिस गरिने जानकारी दिए । 

प्रकाशित मिति: आइतबार, असार २६, २०७९  ०९:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार