नाइजेरियाली जेलमा आक्रमण

१८ सय भन्दा बढी कैदी भाग्न सफल
मंगलबार, चैत २४, २०७७

अबुजा । दक्षिणी नाइजेरियामा रहेको एक जेलमा सशस्त्र आतङ्ककारी समूहले गरेको आक्रमणपछि १८ सय भन्दा बढी कैदी फरार भएका छन् । आक्रमणकारीहरू नाजेरियाको इमो राज्यको दक्षिणपूर्वी सहर ओवेरीस्थित जेलमा बिस्फोटक पदार्थको प्रयोग गरेरभित्र पसेका थिए । सुरक्षागार्ड र आक्रमणकारीबीच भएको दोहोरो भिडन्तको क्रममा कैदीहरु भाग्न सफल भएको जेल प्रशासनले जानकारी दिएको छ ।  सोमबार बिहान ट्रक र बस चढेर भारी हतियारसहित आएका आक्रमणकारीहरू ‘ओवेरी कस्टोडीयल सेन्टर’ प्रवेश गरेका थिए ।  आक्रमणकारीहरुले रकेटबाट फ्याक्न सकिने ग्रेनेड, स्वचालित बन्दुक, बिस्फोटक पदार्थ र राइफल बोकेका प्रहरी प्रवक्ताले बताउनु भएको छ ।  हालसम्म कुनै समूहले उक्त आक्रमणको जिम्मेवारी लिएका छैनन् । नाजेरियाका राष्ट्रपति मुहमादु बुहारीले उक्त आक्रमणलाई अराजकतावादीहरू द्वारा गरिएको आतंकवादको कार्य भनेका छन् ।  उनले आक्रमणकारी र फरार रहेका कैदीलाई  पक्राउ गर्न सुरक्षाबललाई आग्रह गरेका छन् ।  जेलबाट एक हजार ८४४ कैदी फरार भएको अधिकारीहरूले बताएका छन् । ती मध्ये ६ जना कैदीहरू फर्किएका छन् । ३५ जनाले भने जेलबाट भाग्न अस्विकार गरेका थिए ।–एएफपी

प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  १९:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार