असार मसान्तसम्म ६० लाख नेपालीलाई खोप दिने सरकारको योजना 

स्वास्थ्य मापदण्ड पालना गर्न स्वास्थ्यमन्त्रीको आह्वान
सोमबार, चैत २३, २०७७

काठमाडौं । सरकारले आगामी असार मसान्तसम्ममा ६० लाख भन्दाबढी नेपालीलाई कोरोना भाइरसविरुद्धको खोप प्रदान गरिसक्ने योजना बनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले सोमबारको प्रतिनिधिसभाको बैठकमा खोप खरिद र प्राप्तिका लागि सरकारले विभिन्न प्रयास गरिरहेको जानकारी दिएका छन् ।  उनले भारतबाट १० लाख र चीनबाट आठ लाख डोज खोप प्राप्त गरिसकेको जानकारी दिँदै भने , प्राप्त खोपलाई प्राथमिकताका आधारमा सर्वसाधारणलाई उपलब्ध गरिनेछ । सरकारले सुपथ मूल्यमा २० लाख डोज खरिद गरिसकेको जानकारी दिँदै भने, “विश्वमै आप्रवासीलाई खोप प्रदान गर्ने नेपाल पहिलो मुलुक हो । पहिलो चरणमा खोप लिएकालाई दोस्रो चरणमा लिनु पर्ने खोप भण्डारणमा सुरक्षित छ ।” उनले कोभिड–१९ सङ्क्रमण रोकथामका लागि औषधि व्यवस्थापन र रोकथाम लगायतका सबै खर्चमा पाँच अर्ब १७ करोड ७२ लाख ८३ रुपैयाँ खर्च भएको तथा आगामी दिनमा औषधिलगायतका लागि ४८ अर्ब बजेट सुरक्षित राखिएको जानकारी दिए ।  उनले कोभिड–१९ सङ्क्रमणको महामारी अन्त्य नहुन्जेल मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुनपानीले हात धुनेलगायतका स्वास्थ्य मापदण्ड पूरा गर्ने कार्य कायम राख्न आह्वान गरेका छन् ।  उनले कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि सर्तकता र सावधानी आवश्यक भए पनि आतङ्कित भने नहुन सबैसगँ आग्रह गरेका छन् । पछिल्लो २४ घण्टामा चार हजार ५३६ को परीक्षण गरेकामा २६७ को नतिजा पोजेटिभ हुने परिस्थितिले प्रभावित हुने क्रम बढदै गएको स्पष्ट हुन्छ भन्दै मन्त्री त्रिपाठीले सङ्क्रमण रोकथामका लागि नीतिगत र कानूनी व्यवस्था यथार्थरुपमा अवलम्बन गरिएको बताए । कोरोनाबाट आइतबारसम्म तीन हजार ३२ ले ज्यान गुमाएको र मृत्यदर १.१ प्रतिशत छ । गत कात्तिकको दोस्रो सातामा सङ्क्रमणको दर सबैभन्दा उच्च रहेकामा त्यसपछि घटेको तथा पछिल्ला केही दिनमा बढेको हुँदा  जनस्वास्थ्यको मापदण्डलाई उच्चतम रुपमा पालना गर्न आवश्यक रहेको उनले बताए ।  महामारी सङ्क्रमण रोकथाम गर्ने सन्दर्भमा चार लाखभन्दा बढी व्यक्तिलाई विगतमा क्वारेन्टिनमा राखिएको छ । सङ्क्रमण रोकथाममा प्रदेश र स्थानीय तहबाट राम्रो भूमिका निर्वाह गरेको मन्त्री त्रिपाठीले औंल्याए । हाल मुलुकमा ४८ स्थानमा सरकारी र ३६ गैरसरकारी स्थास्थ्य केन्द्रमा परीक्षण प्रयोगशाला स्थापित गरिएको छ ।

प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  २२:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार