म्यान्मामा भइरहेका घटनाप्रति सरकार चिन्तित

सोमबार, चैत २३, २०७७

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले म्यान्माको घटनाप्रति सरकार चिन्तित रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदैँ ज्ञवालीले म्यान्माको पछिल्लो विकसित घटनाप्रति सरकारको गहिरो चासो र चिन्ता रहेको स्पष्ट पारेका हुन् ।  म्यान्माको पछिल्लो घटनाक्रमबारे नेपालले पटक पटक विज्ञप्ति निकालेर चासो जनाएको पनि उनले जानकारी दिएका छन् । बैठकमा प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदले म्यान्माको घटनामा सरकार किन नबोलेको भनी प्रश्न सोधेका थिए । 
म्यान्माका राष्ट्रपति, प्रजातन्त्रवादी नेतृलगायत राजनीतिक नेतृत्वमाथी गरिएको नजरबन्दलगायतका घटनामा सरकारले विज्ञप्त्ति निकालेर चासो जनाएको छ परराष्ट्र मन्त्री ज्ञवालीले भने, “म्यान्मामा शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग गरेर धेरै नागरिकको ज्यान गएको घटना हामीले देखिरहेका छौँ । राजबन्दीको रिहाइ गर्ने, निर्वाचित सरकार बर्खास्तीको आलोचना, अत्याधिक बल प्रयोग नियन्त्रण गर्न आग्रह गरिएको थियो ।” प्रतिप्रश्न गर्दै काँग्रेसका सांसदहरु पुष्पा भुषाल गौतम, डिला सङ्ग्रौला, भरतकुमार साह, देवेन्द्रराज कँडेललगायतले म्यान्मार घटनामा सरकारको ध्यानाकर्षण गराउदै बालबालिकामाथी भइरहेको हत्याका घटनामा सरकारले खण्डन गर्नुपर्ने माग गरेका थिए । सांसद गगनकुमार थापाले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को नेतृत्व घोषणा गर्न मात्रै बाँकी रहेको र बिम्स्टेकको बैठकमा किन म्यान्मारको सवाल नउठाएको भनी प्रश्न गरेका थिए ।
 

प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  २२:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार