भट्टराई पक्षका दुईलाई मन्त्री बनाएसँगै जसपामा उपेन्द्र पुन: बलियो

सोमबार, असार २०, २०७९

काठमाडौं । पार्टीको आन्तरिक कलहमा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलाई साथ दिँदै आएका दुई नेतालाई मन्त्रीमा सिफारिस गरेसँगै उपेन्द्र यादव जनता समाजवादी पार्टीमा पुनः बलिया हुन पुगेका छन् ।

विगतमा भट्टराईलाई साथै दिँदै आएकामध्ये भौतिक पूर्वाधार मन्त्राीमा मोहम्मद इस्तियाक राई र वन मन्त्रीमा प्रदीप यादवलाई सिफारिस गरेसँगै यादव आन्तरिक राजनीतिमा बलियो हुन पुगेका हुन् ।
‘इस्तियाक राई, प्रदीप यादव मन्त्रीमण्डलमा पर्नुभयो, महेन्द्र महेन्द्रराय यादव जी पनि उपेन्द्रतिर नै आउनु भएको छ, अब बाबुरामजीसँग त को होला र ?,’ जसपा प्रमुख सचेतक प्रमोद साहले न्युज कारखानासँग भने, ‘यो घटनाक्रमले त उपेन्द्रजी पार्टीमा स्वतः बलियो हुनु भएको छ ।’ उनका अनुसार मन्त्रीमण्डलमा सिफारिस भएलगत्तै जसपा नेपालको आन्तरिक कलह पनि सकिएको छ ।

पछिल्लो केन्द्रिय कार्यकारिणी समितिको बैठकको निर्णय अनुसार ‘तीन सदस्सीय हेडक्वाटर’ अर्थात् यादव, भट्टराई र अशोक राईको सहमतिमा मात्रै कुनै पनि महत्वपूर्ण निर्णय लिने भन्ने सहमतिलाई यादवले उल्लंघन गरेको, पार्टीलाई मनोमानी रुपमा चलाउन खोजेको, स्थानीय तहको निर्वाचनमा एकलौटी रुपमा टिकट वितरण गरेको, ‘हेड क्वाटर’को अवधारणाविपरित मन्त्रीमण्डल सिफारिसमा एकलौटी अधिकार लिएको विषयमा यादव र भट्टराई पक्षबीच आन्तरिक संघर्ष चल्दै आएको थियो ।

आफ्नोविरुद्ध हस्ताक्षर अभियानसमेत चलाएका नेताहरु राई र यादवलाई नै मन्त्रीमा सिफारिस गरेर यादवले बाबुराम ‘फयाक्टर’लाई कमजोर बनाएका छन् । अब भट्टराईको पक्षमा राजकिशोर यादवलगायत केही असन्तुष्ट नेता मात्रै बाँकी रहेका जसपा नेपालका एक नेताले बताए ।

उनका अनुसार असार २७–२८ गते वीरगञ्जमा बोलाइएको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा सम्भवतः भट्टराई उपस्थित हुने छैनन् किनभने ‘सहमतिको आधारमा अलग हुने’ जानकारी अध्यक्ष यादवलाई गराई सकेकाले पनि सो बैठकमा उनी अनुपस्थित हुन सक्नेछन् । भट्टराई अनुपस्थित भएमा यादवले वीरगञ्ज बैठकबाट आफू अनुकूलका निर्णय गरेर अघि बढ्न पाउने छन् ।

जसपा नेपालले सिफारिस गर्‍यो चार मन्त्री

आन्तरिक कलहमा मुछिएको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले अन्ततः ४ मन्त्रीलाई फिर्ता बोलाई नयाँलाई जिम्मेवारी दिने भएको छ ।

सामान्य प्रशासन मन्त्रालयमा राजेन्द्र श्रेष्ठ, भौतिक पुर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषी तथा पशुपंक्षी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र बन मन्त्रालयमा प्रदिपकुमार यादव सिफारिस भएका हुन ।

आइतवार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटघाट गरेर अध्यक्ष यादवले नयाँ मन्त्रीहरुको नाम उपलब्ध गराएको जसपाका एक नेताले बताए । उनका अनुसार सम्भवतः आजै सपथ हुनेछ ।

'मन्त्रीको आजै सपथ हुन सक्छ’

जनता समाजवादी नेपाल पार्टीवाट सिफारिस भएका तीन जना मन्त्रीको सम्भवत: आजै सपथ हुने भएको छ ।

आइतवार साँझ अध्यक्ष उपेन्द्र यादवले राजेन्द्र श्रेष्ठलाई थमौती गर्दै तीनजना नयाँ अनुहारलाई मन्त्रीमण्डलमा सिफारिस गरेलगत्तै सोमवार नै सपथ गराउन लागिएको हो ।

‘मन्त्रीका लागि तीन जनाको सिफारिस प्रधानमन्त्री कार्यालयमा आएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले भने, ‘सम्भवत: आजै सपथ हुनेछ ।’ उनका अनुसार अध्यक्ष यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटघाट गरी तीन मन्त्री  फिर्ता बोलाउने र उक्त स्थानमा तीनजनालाई मन्त्री बनाउने पत्र पार्टीका तर्फवाट बुझाएका छन ।

राजेन्द्र श्रेष्ठलाई सामान्य प्रशासन मन्त्रालयमा थमौती गर्दै भौतिक पुर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषी तथा पशुपंक्षी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र वन मन्त्रालयमा प्रदिप यादवलाई सिफारिस गरिएको छ । सो सिफारिसँगै भौतिक मन्त्री रेणुकुमारी यादव, कृषी मन्त्री महेन्द्रराय यादव र वन मन्त्री रामसहयाय यादव फिर्ता हुनेछन् ।

प्रकाशित मिति: सोमबार, असार २०, २०७९  १२:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार