निजगढमा दुई धावनमार्गसहितको विमानस्थल बनाउन प्रधानमन्त्रीको निर्देशन

शनिबार, असार १८, २०७९

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बाराको निजगढमा दुई धावनमार्ग ‘रनवे’सहितको विमानस्थल निर्माण गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् । 
प्रधानमन्त्री देउवासहित सत्तारुढ दलका शीर्ष नेताहरूको टोलीले निजगढ विमानस्थलको आज स्थलगत निरीक्षणपछि यस्तो निर्देशन दिएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । प्रधानमन्त्री देउवाका साथै गठबन्धन दलका शीर्ष नेताहरुले विमानस्थल बनाउनुपर्नेमा जोड दिएको अधिकारीले बताए ।  
निजगढ विमानस्थल निर्माणस्थलको अवलोकनका लागि प्रधानमन्त्री देउवा, नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलसहितका नेताहरु आज निजगढ पुगेका प्राधिकरणले जनाएको छ ।
निजगढ विमानस्थलबारे सर्वोच्चको फैसला आएको केही दिनमै प्रधानमन्त्रीसहितका गठबन्धन दलका शीर्ष नेताहरु अवलोकनका लागि निजगढ पुगेका हुन् । प्रधानमन्त्री नेतृत्वको टोली निजगढ विमानस्थल निर्माण क्षेत्रको स्थलगत अवलोकनपछि काठमाडौँ फर्किएको छ । उनीहरुले विमानस्थल निर्माणस्थल र हालसम्मको प्रगतिबारे जानकारी लिनुभएको प्राधिकरणका महानिर्देशक अधिकारीले बताए । 
सर्वोच्च अदालतले विमानस्थलको काम अघि नबढाउन आदेश दिएको छ । अहिलेसम्मका सबै प्रक्रिया खारेज गरेको सर्वोच्चले विज्ञको टोली बनाएर अरु विकल्पमाथि अध्ययन गर्न फैसलामा भनेको छ ।  प्रधानमन्त्री देउवाको नेतृत्वको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, वन तथा वातावरणमन्त्री रामसहाय यादव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, खानेपानीमन्त्री उमाकान्त चौधरी, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलगायत सहभागी थिए । टोलीले जीतपुर–सिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका र कोल्हबी नगरपालिकाका जनप्रतिनिधिसँग छलफल गरेको प्राधिकरणले जनाएको छ । 

‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल गठबन्धन सरकारको पहिलो प्राथमिकतामा’

प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई गठबन्धन सरकारले पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन् । 
प्रस्तावित विमानस्थलको निरीक्षण गर्न गठबन्धन दलका शीर्ष नेतासहित आज नेपाली सेनाको हेकिप्टरबाट बारा आएका प्रधानमन्त्री देउवाले निजगढ विमानस्थल बनाउने काममा अब ढिलासुस्ती नहुने उल्लेख गरे । 
सुरुमा दुई लेनको रन्वेसहित विमानस्थल निर्माण छिट्टै सुरु गरिने उनले प्रतिबद्धता व्यक्त गरे । तराई–मधेस द्रुतमार्ग र विमानस्थल एकअर्कासँग जोडिएका आयोजना रहेका उल्लेख गर्दै प्रधानमन्त्री देउवाले दुवै आयोजना निर्माणको काम नरोकिने उद्घोष गरे । 
पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले निजगढमा विमानस्थल बन्न नसके राज्यलाई अर्बौं रुपैयाँको नोक्सानी हुने बताए । 
सो अवसरमा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्चको पूर्णपाठसहितको फैसला स्वागतयोग्य रहेको बताए । 
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तराई–मधेसको अर्थतन्त्रमा टेवा पुग्ने, यस क्षेत्रका नागरिकलाई रोजगारी सिर्जना हुने हुँदा निजगढमा नै अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुको विकल्प नरहेको बताए । 
राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रधानमन्त्री देउवाले निजगढमा नै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सङ्कल्प लिएको उल्लेख गर्दै आफुले पनि त्यसमा सहमति जनाइसकेको बताइन् । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा, वन तथा वातावरणमन्त्री रामसहाय यादव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, खानेपानीमन्त्री उमाकान्त चौधरी, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलगायत सहभागी थिए । 
 

प्रकाशित मिति: शनिबार, असार १८, २०७९  १७:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार