चिनियाँ नागरिकलाई हतियार देखाएर लुटपाट गर्ने समूह पक्राउ

आइतबार, चैत २२, २०७७

काठमाडौं । चिनियाँ नागरिकलाई लुटपाट गरेको आरोपमा संलग्न व्यक्तिलाई लाखौँ रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका बस्ने सिन्धुपाल्चोकका फुलकाजी तामाङ, सोही ठाउँका अमिर तामाङ, बुद्ध तामाङ र रोशन लामा छन् । उनीहरुमाथि २० लाख नगद तथा सुनका गरगहना लुटपाट गरेको आरोप छ । उनीहरुले यही चैत १६ गते काठमाडौँको ठमेलमा चिनियाँ नागरिक ३४ वर्षीय योङ छियोङको कोठामा प्रवेश गरी मुकुण्डो लगाएर लुटपाट गरेका प्रहरीले जनाएको छ ।  छियोङकी श्रीमती अञ्जली तामाङ र साला प्रवेश तामाङ तथा पासाङ तामाङलाई धारिलो हतियार देखाइ नियन्त्रणमा लिई हातखुट्टा टेपले बाँधी लुटपाट गरेको प्रहरीले जनाएको छ । सोही सूचनाका आधारमा महानगरीय प्रहरी परिसर र वृत्त लैनचौरको विशेष प्रहरी टोलीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।  प्रहरीका अनुसार उनीहरुले बीस लाख रुपैयाँ, सुनको तिलहरी, सुनको औठ्ठी, बाला, मुन्द्रा लुटेका थिए । प्रहरीले उनीहरुका साथबाट नगद सात लाख ९२ हजार छ हजार, छ हजार १७० युआन, तिलहरी, बाला, रिङ औँठी, बाला बरामद भएको छ । 

४३ लाखसहित पक्राउ 
यसैबीच गएराति चन्द्रागिरि नगरपालिका–२ नागढङ्गाबाट ४३ लाख रुपैयाँ नगदसहित एक व्यक्ति पक्राउ परेका छन् । 
दाङ तुलसीपुरबाट काठमाडौं आउँदै गरेको प्रदेश नं ३–०१–००–६ ख ०९१२ नं को यात्रु बाहक बसलाई रोकी जाँच गर्ने क्रममा उक्त बसको यात्रु हिँड्ने प्यासेज (गल्ली) बाटोमा कार्टुनमा टेपले बाँधेको अवस्थामा ४३ लाख रुपैयाँ नगद र नौ थान छड्के तिलहरीसहितको पोते बरामद गरिएको छ । 
सोधपुछ गर्दा उक्त रकम तथा सामान तुलसीपुर उप–महानगरपालिका– ५ का ३७ वर्षीय सन्दिप कौशलको रहेको भन्ने खुलेकाले उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले रकमको स्रोत खुलाउन नसकेकाले अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोटले थप अनुसन्धान गरिरहेको बस्नेतले जानकारी दिए ।–रासस
 

प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  १३:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार