कमलविनायक मन्दिर परिसरको फोहोर संकलन केन्द्रबाट स्थानीय समस्यामा

बुधबार, असार ८, २०७९

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं १० कमलबिनायक मन्दिर परिसर नजिकैको फोहर संकलन केन्द्रबाट दुर्गन्ध फैलिएपछि स्थानीय समस्यामा परेका छन् । दुर्घन्धले पिरोलेपछि स्थानीयले भक्तपुर नगरपालिकासमक्ष गुनासो पोखेका छन् । स्थानीयको गुनासोपछि भक्तपुर नगरपालिका वडा न. १० को कार्यालयमा छलफल भएको छ ।

पीडित सरोकारवालाहरु, भक्तपुर नगरपालिका वातावारण समिति, १० नं वडा कार्यालय र स्थानीयहरुको संयुक्त बैठक वडाकार्यालयमा बसेको हो । भक्तपुर नगरपालिका वातावरण समितिका संयोजक एवम् भक्तपुर नगरपालिका वडा नं ९ नं का वडाध्यक्ष रवीन्द्र ज्याख्वको उपस्थितिमा बैठक सम्पन्न भएको हो । 

कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले सरसफाई व्यवस्थापनमा स्थानीयको सहयोग आवश्यक भएको बताए । फोहर संकलन केन्द्रमा गाडीको व्यस्थापन गरी निश्चित समयसम्म गाडी राखी फोहर संकलन गर्नुपर्ने उनले सुझाए । भोज गर्दा घरको फोहर पनि बाहिर ननिकाली कुहिने र नकुहिने छुट्याई बोरामा संकलन गरी गाडीमा राख्नुपर्ने आवश्यकता उनले औंल्याए । 

कार्यक्रममा भक्तपुर नगरपालिका वातावरण समितिका सदस्य एवम् भक्तपुर नगरपालिका वडा नं ४ का वडाध्यक्ष उपेन्द्र सुवालले फोहर संकलन स्थान हटाउन सार्‍है गार्‍हो भएको अनुभब सुनाए । भनपा वडा नं ४ गपली, राममन्दिरमा फोहर संकलन केन्द्र हटाएको उदाहरणहरु प्रस्तुत गर्दै उनले सरसफाई सबैको सहयोगमा मात्र समाधान गर्न सकिने बताए । उनले सडक बालबालिका र दुव्र्यसनीमा लागेकाहरुलाई प्रहरीसंगको साझेदारीमा सुधार केन्द्रमा व्यवस्थापन गर्नुपर्ने बताए । 

त्यस्तै भक्तपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष योगेन्द्रमान विजुक्छेले सम्पदा संरक्षण गरी पर्यटकीय गन्तव्यस्थल विकास भएपछि रेष्टुरेन्टहरुमा सांगितिक कार्यक्रमले दरवार क्षेत्र, टौमढी क्षेत्र, दत्तात्रय स्क्वायर क्षेत्र, कमलबिनायक क्षेत्रमा ध्वनि प्रदूषण र फोहर व्यवस्थापनमा समस्या देखिएको बताए । 

भक्तपुर नगरपालिका वडा नं ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजूले फोहरबाट जापानिज प्रविधिबाट रिकिसी कम्पोष्ट मल उत्पादन गरेको बताउँदै सबै वडामा त्यसरी फोहर छुट्याई मल बनाए समस्या नहुने बताए ।  

कार्यक्रममा वडा सदस्य जितेन्द्र मुनाकर्मी र कृष्णनारायण दमरु, कृष्णप्यारी भुजु, नगर निरीक्षक दीलिपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, लक्ष्मीप्रसाद चवाल, स्थानीय कृष्णबहादुर प्रजापति, कमलबिनायक सुधार समितिका अध्यक्ष तीर्थमान दुमरुले कमलबिनायक परिसरमा भएको फोहरमैला व्यवस्थापन,, ध्वनि प्रदुषण र दुव्र्यसनीबारेमा आ–आफ्नो धारणा व्यक्त गरे । 

प्रकाशित मिति: बुधबार, असार ८, २०७९  २१:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार