धनुषा जिप्रकाका तत्कालिन नायव सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा

२ करोड ४४ लाख बिगो दाबी
बुधबार, असार ८, २०७९

 काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय (जिप्रका) धनुषामा कार्यरत तत्कालीन नायव सुव्वा गणपति झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बुधबार विशेष अदालत काठमाडौंमा दायर गरिएको मुद्दामा उनीसँग २ करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँ बिगो दाबी गरिएको छ । झाले विभिन्न कार्यालयहरुमा कार्यरत रहँदा गैरकानूनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो । 

अनुसन्धान हुँदा झाले २०३९ मंसिर ९ गते गाविस सचिव (रा.प.अनं.द्वितीय) पदबाट सार्वजनिक सेवामा प्रवेश गरी तत्पश्चात विभिन्न पद तथा कार्यालयमा कार्यरत रही २०७८ साल श्रावण महिनाबाट अवकाश पाएको देखिएको थियो । परीक्षण अवधि २०३९÷४० देखि २०७७÷७८ सम्ममा उनले २ करोड ४२ लाख ६७ हजार १०४ रुपैयाँ आर्जन गरेको पाइएको अख्तियारले जनाएको छ । व्ययतर्फ ४ करोड ८७ लाख ३८ हजार २१० रुपैयाँ खर्च तथा लगानी गरेको पाइएको छ । 

अनुसन्धानका क्रममा झाले २ करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँ अवैध आर्जन गरेको पाइएको हुँदा उनीविरुद्ध मुद्दा दायर गरिएको बुधबार एक विज्ञप्ति जारी गरी अख्तियारले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, असार ८, २०७९  १६:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार