सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडाैं । उडान ठप्प पार्ने चेतावनी दिएका निजी वायुसेवा सञ्चालकहरूले आफ्नो उक्त निर्णयमा "पुनर्विचार गर्दै उडान सुरु गर्न लागेको" बताएका छन् । नियामक निकायले निजी वायुसेवाका विमान र हेलिकप्टरहरू क्षेत्रीय विमानस्थलमा रात्रिकालीन बास बस्नुपर्ने र त्यहाँबाट पहिलो उडान थाल्नुपर्ने निर्णय लागू गरेको विरोधमा उनीहरूले बुधवारबाट उडान रोक्ने चेतावनी दिएका थिए । वायुसेवा सञ्चालक सङ्घ नेपालले मङ्गलवार पत्रकार सम्मेलन गरेर सम्पूर्ण आपत्कालीन तथा नियमित उडानहरू बुधवारबाट अवरुद्ध गर्ने चेतावनी दिएको थियो । तर मङ्गलवार रातिसम्म भएको वार्तापछि "विरोध जारी राख्ने तर उडान नरोक्ने" निर्णय भएको सङ्घका प्रवक्ता योगराज कँडेलले जानकारी दिए ।
बुधवार दिउँसो वार्ता
बुधवार बिहान उनले भने, "हाम्रो असहमति जारी छ, तर यात्रुहरू मर्कामा पर्ने कुरालाई मध्यनजर गर्दै हामीले उडान नरोक्ने निर्णय गरेका हौँ ।"
"हिजो (मङ्गलवार) रातिसम्म वार्ता भएको थियो अब आज (बुधवार) दिउँसो १२ बजेलाई वार्ता तय गरिएको छ। हामी वार्ता पनि गर्दै गर्छौँ र उडान पनि सुरु गर्छौँ।"
उनका अनुसार बुधवार बिहानैदेखि हेलिकप्टरहरूले उडान सुरु गरिसकेका छन् भने हवाई जहाजहरूले पनि केही ढिलोगरी उडान सुरु गर्नेछन् ।
निजी वायुसेवा कम्पनी यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले आफूहरूले "बिहानैदेखि उडान सुरु" गरिसकेको जानकारी दिएका छन् । उनले भने, "लुक्लाबाट हाम्रो फ्लाइट भइसक्यो अन्य विमानस्थलमा पनि अब हुँदैछ ।"
उक्त कम्पनीले मङ्गलवार राति नै सामाजिक सञ्जालमार्फत आफ्ना उडान नियमित हुने जानकारी दिएको थियो ।
अर्को निजी वायुसेवा कम्पनी बुद्ध एयरले ट्विटरमा 'फ्लाइट अलर्ट' जारी गर्दै बुधवार बिहान ११ बजेदेखि आफ्ना नियमित उडानहरू हुने जनाएको छ।
सरकारी भनाइ
निजी कम्पनीहरूले "वार्ता जारी राख्दै उडान गर्ने तथा आफ्ना असहमति कायम रहेको" बताएको विषयमा नेपाल नागरिक उड्डययन प्राधिकरणले प्रतिक्रिया दिइसकेको छैन । मङ्गलवार भने अधिकारीहरूले उडानहरू अवरुद्ध नगरिने अपेक्षा गरेको बताएका थिए
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले सङ्घका प्रतिनिधिसमेत सहभागी समितिले गरेको अध्ययनका आधारमा पछिल्लो निर्णय गरिएको दाबी गरेका थिए । निरौलाले मङ्गलवार भनेका थिए, "विसं २०७८ चैत ३० गते कहाँ-कहाँ त्यस्ता विमानस्थलहरू छन् र उनीहरूको क्षमता कति छ भनेर वायुसेवाका प्रतिनिधिसमेत राखेर एउटा समिति गठन गरिएको थियो। त्यसको सिफारिस अनुसार हामीले (निर्णय) गरेको हो ।"
उनले विगतमा जहाज सञ्चालनका लागि अनुमति दिँदा नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमताबारे वायुसेवा सञ्चालकहरूलाई अवगत गराइएको बताएका थिए ।
कानुनी कारबाहीको चेतावनी
प्राधिकरणले मङ्गलवार नै एउटा सूचना जारी गर्दै उडान रोक्ने चेतावनी "व्यवसायीक मर्यादा विपरीत र गैरजिम्मेवारीपूर्ण" भएको बताएको थियो ।
प्राधिकरणले उक्त सूचनामा आवश्यक सेवा सञ्चालन ऐन, २०१४ अन्तर्गत हडताल गर्न नपाउने क्षेत्रमा उड्डययन सेवा समेत पर्ने स्मरण गराएको छ ।
गत जेठ २६ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी हवाई सेवामा समेत हड्ताल गर्न नपाइने व्यवस्था भएको उसले जनाएको छ । उसले घोषित उडान बन्द गैरकानुनी रहेको स्मरण पनि गराएको थियो ।
उक्त ऐनमा वायुसेवासहित सार्वजनिक हितका विभिन्न २५ क्षेत्रमा हडताल गर्न सरकारले निषेध गरेको छ । त्यसमा हवाईअड्डा वा हवाईजहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा पनि पर्छ ।
निषेध गरिएको कुनै हडताल कसैले गरेमा वा त्यसमा भाग लिएमा वा लिइराखेमा निजलाई छ महिनासम्म कैद वा २,००० रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।
आवश्यक भनिएका कुनै सेवामा हडताल गर्न वा त्यसमा भाग लिइराख्न दुरुत्साहन गरेमा निजलाई एक वर्षसम्म कैद वा १,००० रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ ।