बन्दीपुरका नेत्रहीन किसानलाई बाख्रा

शुक्रबार, चैत २०, २०७७

तनहुँ । जिल्लाको बन्दीपुर गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनका लागि बाख्राको पाठी र कृषकलाई मकैको बीउ वितरण गरेको छ । गाउँपालिकाले बन्दीपुर–१ का सात अपाङ्गता भएका व्यक्तिलाई मूल पूँजी बीउअन्तर्गत एक÷एक बाख्रा र पालिकालाई बीउमा आत्मनिर्भर बनाउन मकैको बीउ वितरण गरेको हो । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदी र वडाका वडाध्यक्ष भानुभक्त पोखरेलले संयुक्तरूपमा अपाङ्गता भएकालाई बाख्राको पाठी हस्तान्तरण गरेका हुन् । गाउँपालिकाको आर्थिक सहयोग तथा नेत्रहीन सङ्घको आयोजनामा एक कार्यक्रमका बीच बाख्रा वितरण गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । न्यून आय भएका तथा विपन्न वर्गका विशेषगरी नेत्रहीनसम्बन्धी अपाङ्गता भएका छनोट गरी बाख्रा प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए । लक्षित वर्ग कार्यक्रमअन्तर्गत मूल पूँजी बीउअनुरुप रु ७५ हजार बराबरको बाख्रा वितरण गरिएको हो ।  उनीहरूलाई बाख्रापालनतर्फ आकर्षित गराएर आत्मनिर्भर बनाउने उद्देश्य रहेको छ । गाउँपालिकाले शुरुमा सानो सहयोग गरे पनि पछि यसबाट राम्रो उत्पादन गरी व्यावसायिकरूपमा लाग्न हौसला मिलोस् भन्ने उद्देश्यले सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष थापाले बताए । 

कृषकलाई मूल बीउ वितरण
जिल्लाको बन्दीपुर गाउँपालिकाले बीउमा आत्मनिर्भर बनाउने उद्देश्यले मूल बीउ वितरण गरेको छ । गाउँपालिकाले अरुण–२ उन्नत जातको १२० किलोग्राम मकैको बीउ मूलबीउ लागि वितरण गरेको हो । गाउँपालिकाभित्रका कृषक बीउका लागि अन्यत्र धाउनु नपर्ने गरी उन्नत बीउमा आत्मनिर्भर बनाउनका लागि मूल बीउ वितरण गरिएको बन्दीपुर गाउँपालिका कृषि शाखाका प्रमुख सुलभ अधिकारीले जानकारी दिए ।  बीज वृद्धिका लागि समूह र सहकारीको मागअनुरुप बीउ उपलब्ध गराइएको हो । उनले भने, ‘मूल बीउबाट उत्पादित बीउ अर्को वर्ष कृषकलाई पुनः वितरण गरिनेछ ।’ नेपाल कृषि अनुसन्धान परिषद्बाट उत्पादन गरिएको उन्नत मकैको बीउ गरिएको सो पालिकाले जनाएको छ । कृषकले बीउ खोज्दै हिँड्नुपर्ने समस्यालाई अन्त्य गर्नका लागि पालिकाले यस किसिमको अभियान चालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिए ।  यसैगरी तरकारी खेतीका लागि ४७ घरधुरीका कृषकलाई टनेल निर्माणका लागि ९५ थान प्लाष्टिक वितरण गरिएको उहाँले जानकारी दिए । गाउँपालिकाको ६० प्रतिशत र कृषकको ४० प्रतिशत लगानीमा बीउ र टनेल वितरण गरिएको उनले बताए ।  गाउँपालिकाले धान, सुन्तला र मकै खेतीका लागि पकेट क्षेत्र बनाउनका लागि विभिन्न क्षेत्रलाई प्रस्तावित गरेको छ । धरमपानी क्षेत्रलाई सुन्तला, शेराटारलाई मकै र झप्रीलाई धानखेतीका लागि पकेट क्षेत्र बनाउन प्रस्तावित गरेको हो ।  उक्त स्थानको छिट्टै अवलोकन तथा अनुसन्धान गरी पकेट क्षेत्र घोषणा गर्ने योजना गाउँपालिकाको रहेको बताइएको छ ।–रासस 
 

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  ०५:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार