विपद्बाट प्रभावितलाई राहत वितरण गरिँदै

मंगलबार, असार ७, २०७९

सुदूरपश्चिम । गत असोज कात्तिक महिनामा भएको वर्षापछि उत्पन्न प्राकृतिक विपद्बाट कैलाली जिल्लाको धानबालीमा पुगेको क्षतिबाट प्रभावित किसानलाई राहत वितरण गर्न थालिएको छ ।
बालीमा क्षति पुगेर प्रभावित भएका किसानलाई जिल्ला विपद् व्यवस्थापन समितिले गरेको निर्णय र तोकिएको मापदण्डअनुसार राहत रकम उपलब्ध गराउन लागिएको हो । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार एक कठ्ठादेखि १०  कठ्ठासम्म जग्गा भएका प्रभावित साना किसानलाई प्रतिकठ्ठा रु ३२५ का दरले राहत रकम उपलब्ध गराउन लागिएको छ । दस कठ्ठादेखि ६० कठ्ठा (तीन बिघा) भएका प्रभावित मझौला किसानलाई प्रतिकठ्ठा रु १२५र तीन बिघाभन्दा माथि जग्गा भएका प्रभावित ठूला किसानलाई प्रति कठ्ठा रु ७५ का दरले राहत रकम वितरण गर्न लागिएको छ ।
प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष किरण थापाले बालीमा क्षति पुगेर प्रभावित भएका किसानको नाममा बैंक रहेको खातामा राहत रकम जम्मा गर्ने व्यवस्था गरिएको जानकारी दिए । उनले भने, ‘‘नेपाल सरकारले स्वीकृत गरेको मापदण्ड र जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार प्रभावित किसानलाई राहत वितरण गर्न सम्बन्धित पालिका तहमा रकम पठाइसकिएको छ ।’’
गोदावरी नगरपालिका कार्यालय कृषि फाँटका प्रमुख नन्दी मल्लले राहत उपलब्ध गराउन रकम पालिकामा आइसकेकोले आगामी केही दिनभित्रमा प्रभावित किसानको खातामा रकम पठाउन लागिएको जानकारी दिए ।
बाली नालीमा भएको क्षति बढीमा रु ५५ हजारसम्म मात्र राहत रकम वितरण गर्न पाइने मापदण्ड सरकारले बनाएको जनाइएको छ । राहत रकम उपलब्ध गराउन नेपाल सरकारले कैलालीका लागि पहिलो चरणमा रु सात करोड र दोस्रो चरणमा रु १४ करोड ९७ लाख रकम पठाएको जनाइएको छ ।
जिल्लाका ठूलो सङ्ख्याका प्रभावितलाई राहत उपलब्ध गराउन पहिलो चरणमा पठाइएको रकम कम हुने देखिएपछि जिल्ला प्रशासन कार्यालयको पहलमा गृह मन्त्रालयले दोस्रो चरणमा थप रकम निकासा गरी पठाएको हो । असोज कात्तिकको अविरल वर्षासँगै भएको पहिरो बाढी र डुबानका कारण कैलालीसहित सुदूरपश्चिम प्रदेशका जिल्ला धनजनको ठूलो क्षति पुगेको थियो ।घटनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रभावित क्षेत्रको स्थलगतरूपमा अध्ययन निरीक्षण गर्नुभएको थियो ।प्रभावितको तथ्याङ्क सङ्कलन, अध्ययन छानबिन र तोकिएको मापदण्डअनुसार प्रक्रिया पूरा गर्न लागेको समयलगायत कारण राहत रकम वितरणमा केही ढिलाइ भएको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताए ।
कैलाली जिल्लामा मात्रै ८३ हजार ३५९ किसानको ४८ हजार १२४ हेक्टर जग्गामा गरिएको धान बालीमा क्षति पुगेको थियो ।

 

प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  ०५:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार