सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सौन्दर्य प्रतियोगितामा सहभागी युवतीलाई जबरजस्तीकरणी गरेको अभियोग लागेका मनोज पाण्डे जेल चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले सोमबार पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । पाण्डेलाई मानवबेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए । अदालतको आदेशपछि पाण्डेलाई डिल्लीबजार कारागार पठाइएको छ । पाण्डेमाथि सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगिताकी प्रतिस्पर्धीलाई होटलमा बोलाएर बलात्कार गरेको आरोप लागेको थियो । एक महिनाअघि एक युवतीले आठ वर्षअघि आयोजना गरिएको सौन्दर्य प्रतियोगिता र आफूमाथि भएको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् । पीडित युवतीले टिकटकमा २० वटा भिडियो क्लिप श्रंखलावद्ध रुपमा सार्वजनिक गर्दै बानेश्वरको एभरेष्ट होटलमा बोलाएर पाण्डेले आफूमाथि बलात्कार गरेको जिकिर गरेकी थिइन् । पीडितले घटना सार्वजनिक गरेपछि फरार पाण्डेलाई प्रहरीले जेठ ७ गते पक्राउ गरी अनुसन्धान थालेको थियो । हदम्यादका कारण जबरजस्ती करणीको कसूरमा अनुसन्धान गर्न जटिलता सिर्जना भएपछि देशव्यापीरुपमा पीडितको पक्षमा प्रदर्शन भएको थियो । सडकदेखि सदनसम्म जबरजस्ती करणीको कसूरमा हदम्याद हटाउन आवाज उठेको थियो । पीडितको पक्षमा आन्दोलन चर्किन थालेपछि प्रहरी मानवबेचिबखन तथा ओसारपसार सम्बन्धी कसूरमा अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । शरीर बन्धक बनाइ नाबालिगलाई शारीरिक शोषण गरेको लगायतको अभियोगमा उनलाई १० देखि १५ वर्ष कैद सजायको माग दाबी गरिएको छ ।