सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार बिहान भेट गरेका छन् । महामन्त्रीद्धय थापा र शर्माले प्रधानमन्त्री देउवालाई अमेरिकाको स्टेट पार्टनशिप प्रोगाम (एसपीपी) सधाको लागि बन्द गर्न आग्रह गरेका छन् । सोमबार पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई उनकै सरकारी निवास बालुवाटारमा भेटेर उनीहरूले एसपीपीको ढोका सँधैका लागि बन्द गर्न आग्रह गरेका हुन् । भेटमा महामन्त्रीद्वय थापा र शर्माले एसपीपीमा आवश्यक धारणा बनाउन प्रतिपक्ष दलसहितको सर्वदलीय बैठक अविलम्व डाक्न माग गरेका छन् । “विहान ११ बजेबाट करिव एक घण्टा पार्टी सञ्चालन र समसामयीक विषयमा गहन छलफल भयो,” काँग्रेस स्रोतले जानकारी दिँदै भन्यो, “एसपीपीलाई प्रकृया पुर्याएर सधैँका लागि च्याप्टर क्लोज गर्न माग महामन्त्रीद्वयबाट भएको छ । साथै उहाँहरुले प्रतिपक्ष दलहरुसहितको सर्वदलीय बैठक बसेर साँझा धारणा बनाउन पनि माग गर्नुभएको छ ।” छलफलका क्रममा महामन्त्रीद्वयले प्रधानमन्त्री देउवालाई सेयर बजार र लगानीकर्ताहरू मारमा परेको भन्दै आवश्यक परामर्श गरेर निचोड निकाल्ने गरी पहलकदमी गर्न आग्रह गरेका छन् । यस्तै निर्वाचन आयोगसँग छलफल गरेर विदेशमा रहेका नेपाली मतदातालाई निर्वाचन प्रक्रियामा भाग लिन पाउने विषयमा छलफल गर्न पनि उनीहरुले माग गरेका छन् । जवाफमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाले आवश्यक परामर्श गरेर अघि बढ्ने बताएका थिए । साथै, महामन्त्रीद्वय थापा र शर्माले पेट्रोलियम पदार्थको मूल्य आकाशिएको भन्दै यसको विकल्प खोज्न आग्रह गरेको र जनतालाई महंगीको मारबाट राहत दिन ध्यानाकर्षण गराएका थिए । यस्तै रेलमार्ग निर्माण गर्नलाई जग्गा अधिग्रहणमा परेका जनताले मुआव्जा नपाएको गुनासो दिनप्रतिदिन बढेको भन्दै पीडितलाई मुआव्जा वितरण गर्न पनि उनीहरुले माग गरेका थिए । छफलमा महामन्त्रीद्वयले पार्टीको केही आन्तरिक विषय पनि उठाएका थिए । पार्टीको १४ औँ महाधिवेशन मात्र नेतृत्व चयनका लागि भएको भन्दै महामन्त्रीद्वयले महाधिवेशन अघि भनिएको नीति अधिवेशन गर्नुपर्नेमा जोड दिएका थिए । स्थानीय तह निर्वाचन पश्चात् पनि केन्द्रीय समितिको बैठक नबसेको भन्दै बैठक अविलम्व डाक्न उनीहरुले माग गरेका थिए । छलफलमा महामन्त्रीद्वयले असार १० गते नयाँ कार्यसमिति आएको ६ महिना पुग्ने र छ महिनाभित्र गठन गर्नुपर्ने पार्टीको सम्पूर्ण विभाग गठन गरिसक्नुपर्ने भन्दै विशेष ध्यानाकर्षण गराएको स्रोतले जानकारी दियो । “नेविसंघ, तरुण दलको कार्यसमितिलाई पूर्णता दिनुपर्ने र अघिल्लो कार्यसम्पादन समितिको बैठक बमोजिम गठन हुन नसकेका भातृ तथा शुभेच्छुक संस्थाको तदर्थ समिति तत्काल गठन गर्नुपर्ने विषयमा महामन्त्रीहरूले जोड दिएका छन्,” स्रोतले भन्यो । जवाफमा सभापति देउवाले आफूलाई सम्पूर्ण विषयमा जानकारी भएको भन्दै आवश्यक परामर्श गरेर अघि बढ्ने आश्वासन दिएका थिए । मंगलबार पुनः छलफल गर्ने र सोही बैठकले केन्द्रीय समिति बैठकको मिति तय गर्ने बताइएको छ ।
‘इन्धनको मूल्यवृद्धिले जनताको ढाड सेक्यो’ प्रतिनिधिसभाको आजको बैठकमा नेपाल आयल निगमले आइतबार रातिदेखि इन्धनमा चरम मूल्यवृद्धि गरिएको भन्दै आपत्ति प्रकट गरिएको छ । पछिल्लो एक महिनामा मात्रै चारपटक मूल्यवृद्धि भएको छ । आइतबारको मूल्यवृद्धिपछि पेट्रोल प्रतिलिटर रु १९९ बराबर पुगेको छ । बैठक सुरु भएलगत्तै नेकपा एमालेका सांसद पद्मा अर्यालले नागरिकको ढाड सेक्नेगरी मूल्यवृद्धि गरिएको आरोप लगाए । उनले पेट्रोलपम्पमा स्टक राखेर मूल्यवृद्धि गरिँदा ठूलो आर्थिक लाभ हासिल भएको आरोप लगाए । हेर्दा सामान्यरुपमा इन्धनको मूल्यवृद्धि भएको देखिए पनि यसले बजारमा चरम महँगी बढाउने भन्दै जनता निरास बनाउने काम गरिएको उनको भनाइ थियो । छोटोछोटो समयमा मूल्यवृद्धि गरेर नागरिकको दैनिक जनजीवन प्रभावित भएको उनले बताए । उनले मूल्यवृद्धिका सम्बन्धमा सरकारको तर्फबाट उचित जवाफ नआउँदासम्म सदनको कारवाही अगाडि बढ्न नसक्ने जिकिर गरे । सांसद अर्यालको उक्त मागपछि सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो ध्यानाकर्षण भएको भन्दै सरकारलाई उचित जवाफ दिन निर्देशन दिए। यस्तै उहाँले इम्बोस्ड नम्बर प्लेट जडानमा समेत आर्थिक अनियमितता गरिएको आरोप लगाए। यस्तै सोही दलका सांसद लालबाबु पण्डितले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाअभियोग प्रस्तावमाथि हालसम्म पनि प्रक्रिया अगाडि नबढेकामा आपत्ति प्रकट गरे । सोही दलका सांसद जगतप्रसाद सुनारले बाढी, पहिराका कारण कास्कीका विभिन्न स्थानमा वितण्डा मच्चाएको विवरण प्रस्तुत गरे । सोही पार्टीकै सांसद गणेश पहाडीले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका विद्यार्थीमाथि यही असार ४ गते मिनभवन क्याम्पसमा आक्रमण गरिएको बताए । सांसद सरिताकुमारी गिरीले न्यायको माग राख्दै आमरण अनशनमा बसेकी निहारिका राजपूतका सम्बन्धमा सरकारसँग भएको सहमति कार्यान्वयन गर्न माग गरे । शान्तिमाया तामाङ पाख्रिनले स्थानीय निर्वाचनका क्रममा दोलखामा भएको घटनाका बारेमा जानकारी गराए।